भर्खरै :

साम्राज्यवादी र विस्तारवादी देशको पछि नलाग्नु पनि कसरी !

– दीर्घलाल दुवाल
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको राजनीतिक दस्तावेजमा साम्राज्यवादी देश संयुक्त राज्य अमेरिका र विस्तारवादी देश भारतप्रति हेर्ने दृष्टिकोण फेरिएको समाचार प्रकाशमा आएको छ । सत्ताको निम्ति राजनीति गरिरहेको दललाई सरकारको नेतृत्व गरिरहन संसारका स्वाधीन मुलुकले मन नपराएका देश अमेरिका र भारतलाई मनपराउनु या ती शक्ति राष्ट्रको पछि दगुर्नु अस्वाभाविक होइन । अमेरिका र भारतप्रति हेर्ने नेकपाको दृष्टिकोण फेरिएकोले पनि नेकपा वास्तवमै सच्चा कम्युनिस्ट नभएको पुष्टि हुन्छ । अमेरिकाले कुनै पनि स्वाधीन देशमा आक्रमण गरे पनि, दबाब दिए पनि, सरकार प्रमुखलाई फाँसी दिन साथ दिए पनि, नाकाबन्दी गरे पनि निर्वाचित राष्ट्रपतिलाई छोडेर स्वघोषित राष्ट्रपतिलाई समर्थन गरेर देशको आन्तरिक मामिलामा हस्तक्षेप गरे पनि, नेपाल सरकार मौन देखिएको छ । भारतले नेपाल र नेपालीको अहितमा सन्धि सम्झौता गरे पनि, आफ्नो देश अनुकूल संविधान बनाउन दबाब दिए पनि नेपाली भूमि अतिक्रमण गरे पनि, नेपाल सरकारले केही बोल्न सकेको छैन । यसरी सरकार मौन रहनुको अर्थ भारतीय शासक वर्गको पछि लाग्नु हो । यसले पनि कम्युनिस्ट भनिने ओलीको सरकार साम्राज्यवादी देश अमेरिका र विस्तारवादी देश भारतको अधीनमा रहेको थाहा हुन्छ ।
नेपालको भूमिलाई आफ्नो भूमि पनि भन्न नसक्ने सरकार कस्तो सरकार ! निर्वाचित राष्ट्रपतिलाई छोडेर स्वघोषित राष्ट्रपतिलाई समर्थन गर्ने प्रजातन्त्रविरोधी अमेरिकी सरकारको गलत विचार र कार्यको मुख नखोल्ने कस्तो सरकार ! सरकारले कुनै देशको समर्थन र विरोध गर्नुभन्दा पनि सत्यलाई सत्य भन्न सक्नुपर्छ, अन्यायलाई अन्याय भन्न सक्नुपर्छ । प्रजग कोरियालाई शिक्षाको देश र सरफाइको देश भनिन्छ । क्युवालाई बहादुरहरूको देश भनिन्छ । चीन संसारकै सबभन्दा बढी विकास रआर्थिक स्थिति मजबुत भएको देश बन्न गइरहेको छ । तर, कम्युनिस्टको सरकार भन्ने नेपाल गरिबको गरिब देश, भ्रष्टाचारीहरू बढी भएको देश, परनिर्भर देश, अरु देशको उठबसमा बस्ने देश बनिरहेको छ । आफूले देशमा कुनै उदाहरणीय काम गर्न नसक्ने, देशलाई आत्मनिर्भर बनाउन कुनै पाइला चाल्न नसक्ने देश ठूला शक्ति राष्ट्रहरूको छत्रछायामा नबस्नु पनि कसरी ! अतः अमेरिका र भारतप्रति नेकपा नरम हुनुमा कुनै आश्चर्य छैन । नेकपाको सरकार देशमा आमूल परिवर्तन गरेर बहुमत जनता गर्न खोलेको दल नभएको घटनाक्रमले देखाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *