वासुदेव पौडेल
प्रकृतिको कुचिकार मानिने गिद्धलाई समेटिँदै ‘नेपालका गिद्धहरू’ नाम सचित्र पुस्तक बजारमा आएको छ । चरा संरक्षणका साथै यसको अध्ययन अनुसन्धानमा लागेका तीन जना व्यक्तिको संयुक्त लेखनका पुस्तक बजारमा आएको हो ।
पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे, सचिव हेमन्त ढकाल र सदस्य कृष्णप्रसाद भुसालको संयुक्त प्रयासमा ६८ पृष्ठको पुस्तक प्रकाशन गरिएको हो । संरक्षणको अभावमा गिद्ध लोपोन्मुख बन्दै गएको वास्तविकतामा यिनीहरूको संरक्षण गर्दै पर्यावरणीय संरक्षण समेतलाई टेवा पु¥याउने उद्देश्यले पुस्तक प्रकाशनमा ल्याएको पुस्तकका लेखक मनशान्त घिमिरेले बताउनुभयो ।
नेपालमा गरिएको विभिन्न अध्ययनअनुसार विगत दुई दशकमा गिद्धको सङ्ख्या झण्डै ९० प्रतिशतले घटेको पाइएको उहाँले जानकारी दिनुभयो । “गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका हुन्”, उहाँले भन्नुभयो, “पछिल्लो समयमा गाईवस्तु पाल्ने क्रम पनि अत्यधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम पनि कम हुँदै जाँदा उनीहरूको आहारामा समेत समस्या थपिएको छ ।”
डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गाैलामा असर भई केही दिनमा नैै गिद्ध मर्ने गरेको अध्ययनले देखाएको छ । औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पन्छी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको घिमिरेले जानकारी दिनुभयो ।
विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातिका पाइने गरेको पुस्तकका अर्का लेखक एवम् पोखरा पन्छी समाजका सदस्य कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । नैपालमा पाइने नौवटै प्रजाति पोखरामा पनि पाइन्छ । उहाँका अनुसार नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गर, सुन, सानो खैरो, हिमाली, हाडफोेर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् । हिउँदको समयमा आउने लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन् । त्यस्तै राज गिद्ध पाकिस्तान एवम् किर्किस्तानबाट आउने गरेका छन् । सङ्ख्यात्मक रुपमा नेपालमा पाइने हिमाली गिद्धको सङ्ख्या १० हजार, डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ । त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध पाँच÷पाँच सयको सङ्ख्यामा पाइन्छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारीमा रहेको भुसालले जानकारी दिनुभयो । बढ्दो बस्ती विकासको क्रमसँगै गिद्धका प्रजाति लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका अनुसन्धाकर्ता बताउँछन् । गिद्धको बासस्थान विशेष गरी अग्लो सिमलको रूख हो । गिद्धहरू सिमलका रूखमा बस्ने तथा गुण लगाउने गर्दछन् ।
पछिल्ला समयमा बस्ती तथा फाँटमा रहेका सिमलका रूख काटिँदा पनि उनीहरू समस्यामा पर्ने गरेको विगत डेढ दशकयता समाचार सम्प्रेषणका माध्यमबाट गिद्ध संरक्षणमा क्रियाशील पत्रकार कृष्णमणि बरालले बताउनुभयो ।
बरालका अनुसार पोखराको चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेत लगायतका स्थानमा डेढ दशकअघि सम्म ठूलै सङ्ख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा लोप भइसकेका छन् । “चाउथे लगायतका फाँटमा बस्ती विकाससँगै सिमलका ठूला ठूला रूख यतिखेर काटिइसकेका छन्”, उहाँले भन्नुभयो, “आफ्नो बासस्थान नै नभएपछि गिद्ध हराउने क्रम बढ्नाका साथै बढ्दो बस्ती विकास, धुलोधुवाँ लगायतका कारण पनि यिनीहरू सङ्कटमा परेका हुन् ।” सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई प्रकृतिको कुचिकार भएका कारण यसको संरक्षणमा जागरुकता आवश्यक रहेको उहाँको भनाइ छ ।
गिद्ध संरक्षणको उद्देश्यका साथ शुद्ध आहाराका लागि कास्कीको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेन्ट सञ्चालनमा आए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन नसकेको बरालले बताउनुभयो ।
पुस्तकमा नेपालमा पाइने गिद्धका प्रजातिको सचित्र वर्णनका साथै यिनीहरूको संरक्षण र चुनौती, नेपालमा भइरहेका संरक्षणका प्रयास एवम् त्यसमा समुदायको योगदान लगायतका विषयलाई समेट्ने प्रयास गरिएको छ । संरक्षणका प्रयास एवम् चुनौतीसमेत उल्लेख गर्दै प्रकाशित पुस्तक बहुउपयोगी बन्ने विश्वास लिइएको छ
Leave a Reply