भर्खरै :

चीनद्वारा साता दिनमै दुई महत्वपूर्ण श्वेतपत्र जारी : सिन्च्याङपछि सुरक्षा श्वेतपत्र सार्वजनिक

पेइचिङ, २४ जुलाई । चीनले बुधबार आफ्नो नयाँ राष्ट्रिय सुरक्षा नीतिबारे श्वेतपत्र जारी गरेको छ । चीनको बलियो राष्ट्रिय रक्षा तथा शक्तिशाली सेना बनाउने चिनियाँ प्रयत्नको अभ्यास, प्रयोजन र महत्वबारे श्वेतपत्रमा चर्चा गरिएको छ । चीनले आइतबारमात्र सिन्च्याङको विषयमा श्वेतपत्र जारी गरेको थियो ।
‘नयाँ युगमा चीनको राष्ट्रिय प्रतिरक्षा’ शीर्षकको श्वेतपत्र जम्मा २७ हजार चिनियाँ शब्दको छ । त्यहाँको राज्य परिषद् सूचना कार्यालयले सो श्वेतपत्र सार्वजनिक गरेको हो । चीनको राष्ट्रिय प्रतिरक्षाबारे अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन सो दस्तावेज सार्वजनिक गरेको बताइएको छ ।
श्वेतपत्र जम्मा ६ खण्डमा विभाजित छः अन्तर्राष्ट्रिय सुरक्षा अवस्था, नयाँ युगमा चीनको रक्षात्मक राष्ट्रिय सुरक्षा नीति, नयाँ युगमा चिनियाँ सेनाको लक्ष्य र जिम्मेवारी, चीनको राष्ट्रिय सुरक्षा र सेनामा सुधार, तर्कसङ्गत र उपयुक्त रक्षा खर्च र साझा भविष्यको साझा मानव समुदायको निर्माणमा सक्रिय सहभागिता ।
सन् १९९८ यता चीन सरकारले राष्ट्रिय सुरक्षाबारे जारी गरेको यो दशौँ श्वेतपत्र हो । तीमध्ये सबभन्दा विस्तृत श्वेतपत्र सन् २०१२ मा चिनियाँकम्युनिस्ट पार्टीको अठारौँ राष्ट्रिय सम्मेलनपश्चात् प्रकाशन गरिएको थियो ।
श्वेतपत्रमा धेरै थरी तथ्याङ्क समावेश गरिएको छ । चीनको रक्षा खर्च र अन्तर्राष्ट्रिय सहकार्य गतिविधिसम्बन्धी दसवटा तालिका त्यसमा समावेश गरिएको छ ।
श्वेतपत्रमा आपसी हितमा आधारित सहकार्य चालू रहने उल्लेख छ । त्यसमा अन्तर्राष्ट्रिय सुरक्षामा अस्थिरता र अनिश्चयका अनेकन पक्ष रहेको विश्लेषण गरिएको छ । विश्व अझै पनि शान्त ठाउँ भइनसकेको चीनको बुझाइ त्यसमा लेखिएको छ ।
श्वेतपत्रअनुसार नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षाको आधारभूत लक्ष्य चीनको सार्वभौमिकता, सुरक्षा र विकासको हितको दृढतापूर्वक रक्षा गर्नु हो । चीनको राष्ट्रिय सुरक्षाको विशेषता कहिल्यै पनि प्रभुत्ववादी, विस्तारवादी वा आफ्नो प्रभाव क्षेत्रको विस्तार हुन नसक्ने त्यसमा लेखिएको छ ।
यिनै विशेषताका आधारमा श्वेतपत्रले प्रस्टरूपमा चीनको राष्ट्रिय सुरक्षा नीतिको प्रतिरक्षात्मक चरित्र छर्लङ्ग पार्नुका साथै उसको रणनीतिक मनसाय पनि पारदर्शी बनाएको चिनियाँ जनमुक्ति सेनाअन्तर्गत सैन्य विज्ञान प्रतिष्ठानका अध्येता शि छिङरनले भन्नुभयो ।
“श्वेतपत्रले पहिलोपटक चीनको राष्ट्रिय रक्षा नीति प्रणालीको खाका तयार गरेको छ”, सैन्य विज्ञान प्रतिष्ठानका अर्का अध्येता काओ याङझोङले भन्नुभयो । “यसले विश्वको रणनीतिक दिशा, चीनको राष्ट्रिय सुरक्षा र चिनियाँ सेनाको आधारभूत सिद्धान्त र विश्वव्यापी महत्वमाथि प्रकाश पारेको छ”, उहाँले भन्नुभयो ।
संसारका अन्य ठूला देशको तुलनामा कुल गार्हस्थ उत्पादनको अनुपातमा चीनको रक्षा खर्च, सरकारी खर्च, प्रतिव्यक्ति रक्षा खर्च निकै कम भएको श्वेतपत्रले देखाएको छ ।
श्वेतपत्रको एउटा खण्डमा साझा भविष्य बोकेको मानव समुदाय निर्माणमा चिनियाँ सेनाको पहल र योगदानबारे चर्चा गरिएको छ । साथै एक प्रमुख देशको सेनाको हैसियतमा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नु चिनियाँ सेनाको दायित्व भएको बताइएको छ ।
श्वेतपत्रमा भनिएको छ,“प्रभुत्ववाद र विस्तारवादसँग विफल हुनुको विकल्प छैन भन्नेमा चीनको बलियो विश्वास छ । सुरक्षा र समृद्धि आपसमा बाँड्न सकिन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *