भर्खरै :

भारतीय दूतावासको अभद्र सक्रियता

–सुरज सिंह
नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी तथा विपक्षी दलका महिला सांसदसँग सामूहिक छलफल गरेको खबर सार्वजनिक भएको छ । सोमबार भारतीय दूतावासमा आमन्त्रण गरेर पुरीले सांसदसँग छलफल गरेका थिए । सांसदसँग गरिएको भेटपछि पुरीले ट्वीटरमा एउटा तस्वीर सार्वजनिक गरेका छन् । जसमा सत्तारुढ नेकपाकी सांसद गंगा सत्गौवा, नविना लामा र कोमल वलीसमेत थिए । त्यस्तै नेपाली काङ्ग्रेसकी उपाध्यक्ष सीतादेवी यादव, सचेतक पुष्पा भुसाल, पूर्वमन्त्री चित्रलेखा यादव, सांसद मीना पाण्डे पनि छलफलमा सहभागी थिए । उनीहरूसँग खिचिएको तस्वीरसहित राजदूत पुरीले ट्वीट गरेका छन्, “नेपालका केही महिला सांसदसँग राजनीतिमा महिला सशक्तीकरणको विषयमा छलफल गर्न पाउँदा हर्षित छु ।”
ट्विटबाट कुन देशका महिलाको सशक्तीकरण भनी नछुटिए पनि आशयले नेपाली महिलाहरूको सशक्तीकरणका लागि भएकोमा द्विविधा रहेन । तर विडम्बना ! नेपालका महिलाको राजनीतिमा सशक्तीकरणका लागि पनि भारतीय राजदूतले सोचिदिनुपर्ने भएको छ । भारतले आजसम्म स्वागत नगरेको नेपालको संविधान – २०७२ मा नेपालका हरेक व्यवस्थापकीय अङ्गहरूमा कम्तीमा ३३ प्रतिशत स्थानको सुनिश्चितता गरेको छ, जुन भारतमा समेत छैन । त्यही प्रावधानमा टेकेर पनि सांसद भएका नेपाली महिला सांसदहरू आफ्नो राजनीतिक मर्यादाको ख्याल नगरी भारतीय राजदूतावासले बोलाएको चियापान वा दिवाभोजमा रमाउनु कदापि आवश्यक थिएन । ती महिला सांसदहरू कुनै वैचारिक छलफल गर्नभन्दा पनि भारतीय राजदूत र राजदूतावाससित नजिकिन तथा भारतले छिमेकी देशका विद्यार्थीलाई दिंदै आएको महात्मा गान्धी छात्रवृत्ति परियोजनामा आफ्ना मान्छे पर्ने स्वार्थ लिएर गएको अनुमान छ । ती महिला सांसदहरूले त्यस्तै आश्वासन तिनीहरूका आफन्त र आसेपासेहरूलाई दिइरहेका आश्वासनले छर्लङ्ग हुन्छ ।
भारतीय राजदूत पुरीको यो सक्रियता अभद्र कूटनीतिक सक्रियता हो । यस्तो कामले दुई देशको बीचमा राम्रो सम्बन्धभन्दा जनस्तरमा आशङ्का पैदा गर्छ, राजदूतको अनावश्यक अभद्र कूटनीति स्वीकार्य छैन । नेपाली महिलाहरूको सशक्तीकरण नेपालीहरूको चासोको विषय हो भारतले चिन्ता लिनुपर्ने विषय होइन । भारतले आफ्नै देशका महिलाहरूको सशक्तीकरणमा ध्यान दिंदा छिमेकमा उदाहरण बन्न सक्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *