युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
नीरज
काठमाडाँैको शैक्षिक केन्द्र मानिने प्रदर्शनीमार्गको एउटा पसलको मुखैमा गत शनिबार कान्तिपुर दैनिकको शनिबारीय परिशिष्टाङ्क कोसेलीमा प्रकाशित वात्सान्यायनको कार्टुन फोटोकपी गरी टाँसिएको छ । पुस्तकमाथि भन्सार लगाउने सरकारद्वारा प्रस्ताव नियमलाई कार्टुनिष्टले व्यङ्ग गरेका छन् । भन्सारमा चेकजाँच गराइरहेको व्यक्तिलाई प्रहरीले भन्दै छ,“सुन ल्याउनुभएको भाको भे सजिलो थियो ! किताब ल्याउनुभएछ, अब कर तिर्नुस् !”
पत्रिकामा आएको कार्टुनलाई फेरि फोटोकपी गरी टाँस्नुको आशयबारे सोध्दा पुस्तक पसलेले भने,“संसारमा कहीं नभएको नियम यहाँ लागू गर्न लागे । त्यसैले टाँसेको हुँ ।”
पुस्तकमाथि भन्सारबारे उनी कुरा गर्न थप उत्साहित थिए र भने,“जुनसुकै देशका छापिएको पुस्तक जहाँ पठाए पनि त्यसमा भन्सार लाग्दैन । नेपालमा भने सरकारले किताबमा भन्सार लिन खोजिरहेको छ ।”
कुरै कुरामा एमसी रेग्मीको नेपाली इतिहाससम्बन्धी पुस्तकको शृङ्खलाको मूल्यबारे कुरा चल्यो । पुस्तक पसलेको पहिलो दाबी–नेपालका मै हुँ भन्ने लेखकहरू आफ्ना पुस्तक भारतीय प्रकाशकलाई छपाउँछन् । त्यसमाथि सरकार भने अब पुस्तक भित्याएको पनि भन्सार मागिरहेको छ । दोस्रो, अहिले (पुस्तकमा भन्सार लागू नभएको अवस्था) झन्डै २५–२६ सय पर्ने एमसी रेग्मीको पुस्तक सरकारको प्रस्ताव कार्यान्वयनमा आए उक्त शृङ्खलालाई झन्डै ३२ सय रुपैयाँ पर्नेरहेछ ।
पुस्तकमाथि भन्सारकै प्रसङ्गमा नेपालका प्रकाशकहरूले नेपाली पुस्तक प्रायशः भारतीय प्रेसमा छाप्ने गरेकाले पनि सरकारले यो निर्णय गरेको हुनसक्ने तर्कमा पुस्तक पसले असहमत देखिए । उनले त्यो तर्कको खण्डनमा दुई तर्क प्रस्तुत गरे । पहिलो, नेपालमै गुणस्तरीय प्रेसको बन्दोबस्त सरकारी तवरबाटै भए अथवा निजी क्षेत्रलाई त्यसको लागि प्रोत्साहित गरे पुस्तक छाप्न प्रकाशक भारत किन जान्थे र ? प्रकाशकले आफूलाई जहाँ नाफा भयो, त्यहीं जाने हो । दोस्रो तर्क, एकाध चलेका प्रकाशकलाई निशाना बनाउन सबैलाई घाइते बनाउनु राम्रो होइन ।
पछिल्लो समय बजारमा नयाँ पुस्तक प्रकाशनको सङ्ख्या बढेको छ । हरेक साता बजारमा कुनै न कुनै नयाँ पुस्तक आएका हुन्छन् । कति पुस्तक निकै चर्चामा आउँछन् । दैनिक र साप्ताहिक पत्रपत्रिकामा तिनका समीक्षा छापिन्छन् । अनलाइल मिडियामा तिनको चर्चा हुन्छ । प्रकाशक आफैंले विभिन्न कार्यक्रम गरी पुस्तकको परिचर्चा चलाउँछ । त्यही हुलमा कतिपय पुस्तक भने पहुँच र काइदा नजान्दा त्यत्ति चर्चामा आउँदैनन् । चर्चामा आएका सबै पुस्तक गुनिला नहुन पनि सक्छन् । चर्चामा आएका पुस्तक सबै अगतिला नहुन पनि सक्छ । कति निकै वजनदार पुस्तक स्टोरमा थन्किएर बसेका छन् । कति पुस्तकको आवश्यकताभन्दा बढी परिचर्चा भइरहेका छन् । कति लेखकहरू लेखेरै बाँच्न सक्ने अवस्थामा पुगेका छन् भने कति धन्न बाँचेर लेखिरहेका छन् ।
प्रदर्शनीमार्गका किताब साहुजी भने नेपाली समाजमा पठन संस्कृति फाप्दै गएको कुरामा विमति राख्छन् । “नेपालमा पढ्ने को छ र भन्या ! सबलाई पत्रिकाको शीर्षक हेरेर आफ्नो धारणा बनाउँदै राजनीति गरेर फुसर्द छैन ।”
उनको बुझाइमा नेपालमा छापिएका पुस्तक नेपालमा बसेका नेपालीले भन्दा विदेशमा बसेका नेपालीले बढी किन्छन् र पढ्छन् । त्यसो त आधाउधी जसो नेपाल नै विदेशमा छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर बेलामौकामा पुग्दा नेपाल तथा एसिया अध्ययन केन्द्र (सिनास) पस्न मन गर्छु । सिनासले कुनै नयाँ पुस्तक प्रकाशन गरेको छ कि भन्ने उत्सुकताले त्यता जान मनलाग्छ । विश्वविद्यालयमा फैलिएको विकृति र बौद्धिक धिमापनको चर्चा त धेरै नै भइरहेको छ । सिनास पनि त्यसको कालो छायाँमा परेको संस्था हो । त्यसकारण जानिफकारहरू सिनासको साख हिजोजस्तो छैन भन्छन् । हिजो सिनासको दिव्य आज नभेटाइने इतिहासका केही प्रसङ्गले पनि सङ्केत गर्छ । महिना दिनअघि त्रिविकै एकजना उपप्राध्यापकसँगै सिनास पस्ने मौका जु¥यो । मसँगै जाने उपप्राध्यापकलाई सिनासले पुस्तक प्रकाशन गर्छ भन्ने जानकारी नहुनुमा उनलाई भन्दा सिनासलाई दोषी मान्छु । सिनासले प्रकाशन गरेका निकै महत्वपूर्ण पुस्तक र जर्नलहरू सिनासकै कोठामा मात्र सीमित रहँदा ऊसँगको त्यो खजाना सबैलाई थाहा नहुनु स्वाभाविक हो । सिनासको भन्दा केही उन्नत भए पनि त्यति नउकासिएको अवस्था नेपाल प्रज्ञा प्रतिष्ठानको छ । प्रतिष्ठानको पुस्तक भण्डार आफैंमा बहुमूल्य खजाना हो । नेपाल र नेपाली समाजबारे ज्यादै महत्वपूर्ण पुस्तक प्रज्ञाले प्रकाशन गर्दै आएको छ । नयाँ – नयाँ पुस्तक पनि लगातार प्रकाशन गरिरहेको छ । तर, प्रज्ञाका ती खजाना उसका कोठा र भण्डारमा मात्र सीमित बन्दा बजारको प्रतिस्पर्धामा प्रज्ञाले उत्पादन गरेको ज्ञान कुलोमा मात्र सीमित रह्यो, विशाल नदी बन्न सकेन । प्रज्ञाले नियमित पुस्तक प्रदर्शन गर्छ । तर, ती पुस्तक प्रदर्शनको न प्रचार हुन्छ न चर्चा नै । एउटा नियमित र वार्षिक कार्यक्रममा मात्र सीमित बनेका छन्– प्रज्ञाका प्रदर्शनहरू ।
पठनसँग अन्योन्यास्रितरूपमा गाँसिने एउटा पाटो भनेका सार्वजनिक पुस्तकालय हुन् । तर, काठमाडाँै उपत्यकाकै नाम चलेका सार्वजनिक पुस्तकालयका अनुभव यतिबेला साझा छ – निकै कम मानिसमात्र पुस्तकालय आउँछन् । नयाँ पुस्ताका युवाहरू ज्यादै कममात्र पुस्तकालय धाउँछन् । आउनेहरू पनि पुस्तकालयमा भएका पुस्तक पढ्नभन्दा पनि आफ्ना नियमित कोर्सको पढाइ वा कुनै परीक्षाको तयारीको लागि पुस्तकालयको शान्त वातावरण उपयोग गर्न आउँछन् । पुस्तकालयका ¥याकमा भएका पुस्तकहरू उनीहरूलाई रुचीकर लाग्दैन ।
त्यसै पनि नेपाली समाज कममात्र पुस्तक पढ्ने समाज हो । त्यसमा पनि पछिल्लो समय यसमा अझ सुस्तता आएको छ । हरेक वर्ष काठमाडाँैका भृकुटी मण्डपमा आयोजना गरिने अन्तर्राष्ट्रिय पुस्तक मेलामा भन्दा बढी सहभागिता विदेश जान चाहने विद्यार्थीहरू लक्षित शैक्षिक मेलामा बढी हुने गर्छ ।
मानिस बिरामी भएको थाहा पाउन चिकित्सकले केही आधारभूत परीक्षण गर्छ । जस्तैः रक्तचाप, तापक्रम आदि । कुनै पनि समाजलाई सञ्चो छ वा छैन भन्ने कुराको मापन गर्ने एउटा आधार भनेको त्यो समाजले पुस्तक पढ्छ कि पढ्दैन भन्ने हो । समाजले कममात्र पुस्तक पढ्छ र पुस्तकबारे कममात्र चर्चा गर्छ, त्यो समाज बिरामी हुनुको प्रमाण हो । (यहाँनेर सबै पुस्तक समानरूपमा स्वस्थ समाज निर्माणको लागि उपयोगी हुन्छन् भन्न खोजिएको होइन । कतिपय पुस्तक समाजलाई बिरामी बनाउन पनि लेखिएका हुन्छन् ।)
कुनै पनि समाजलाई पढाउन धेरै कुराले प्रभाव पारेको हुन्छ । त्यसमध्ये एउटा प्रभाव पार्ने पक्ष भनेको राज्यसत्ताको चरित्र र राज्यको नेतृत्व । राज्यसत्ताले नागरिकलाई पुस्तक पढ्न कति उत्साहित बनाउँछ र कस्तो वातावरण बनाएको छ भन्ने कुराले पनि धेरै फरक पार्ने गर्छ । राज्यले पुस्तकमाथि भन्सार लगाउने नीतिले यो सरकार पुस्तक पठन संस्कृतिप्रति सहिष्णु नभएको व्यवहारले सिद्ध गरेको छ । नागरिकलाई पढाउन र ज्ञानको प्यास बढाउन सरकारले विभिन्न अन्तर्राष्ट्रिय प्रकाशनका नेपाली अनुवाद प्रकाशन गर्ने, नेपाललाई संसारका विद्वत व्यक्ति आइरहने ‘नलेज हब’ बनाउन, विभिन्न अन्तर्राष्ट्रिय पत्रिका र जर्नल नेपाल बजारसम्म ल्याउने र नेपालकै विश्वविद्यालयलाई संसारमा देखाउन लायक सामग्री उत्पादनको लागि राज्यले प्रोत्साहित गर्नुपर्ने हो । विश्व बजारमा प्रकाशन हुने निकै महत्वपूर्ण पुस्तक नेपाली बजारमा भेटाउन सकिन्न । इन्टरनेटमा निकै चर्चामा रहेका पुस्तकहरूसमेत बजारमा नपाउँदा विदेशमा बसेका वा विदेशबाट फर्किने साथी र आफन्तमार्फत त्यस्ता पुस्तक झिकाउनुपर्ने बाध्यता छ । यस्तो परिस्थितिमा पुस्तकमाथि भन्सार थोपर्ने सरकारी निर्णयले नेपाली पुस्तक बजारलाई थप निरुत्साहित गर्ने छ । अर्थोपार्जनका क्षेत्रमा राज्यले कर लगाउनु राज्यको आधारभूत भूमिका हो । पुस्तक व्यवसायीलाई देशको अर्थतन्त्रप्रतिको जिम्मेवारीबाट मुक्त गर्ने भन्ने प्रश्न उठ्दैन । उनीहरूलाई पनि करको दायरामा ल्याइनुपर्छ । तर, त्यसको बाटो पुस्तक निर्यातमा भन्सार लगाउनु उपयुक्त विकल्प होइन । अर्कै केही बाटोको खोजी गर्नुपर्छ । तर, विदेशको पुस्तकलाई नेपालमा पस्नै नदिनु भने ज्ञानमाथि नै निषेध हुन जान्छ ।
ज्ञानमाथि निषेधित समाज सुखी र समृद्ध बन्न सक्दैन । मसानघाटको शान्ति र विवेकपूर्ण शान्तिमा भिन्नता हुन्छ । पुस्तकमाथि निषेध गरेर सरकारले नेपाली समाजमा अज्ञानताको शान्ति र समृद्धि बनाउन खोजिरहेको प्रतीत हुन्छ । त्यसकारण काटुर्निष्टको व्यङ्ग चित्र पुस्तक पसलेले मन पराएर पसलको मुखैमा टाँसे । सुन भित्याउँदा केही नहुने अनि पुस्तक भित्याउँदा देशमा भन्सारको भारी बोक्नुपर्ने ।
Leave a Reply