भर्खरै :

दक्षिण कोरियाले अत्याधुनिक हतियार भित्र्याउन खोजेपछि प्रजग कोरियाद्वारा मिसाइल प्रक्षेपण

 
प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको राष्ट्रिय मामिला आयोगका अध्यक्ष किम जोङ उन त्यस देशको पूर्र्वी तटीय सहर ओनसानको एक सैन्य आधारमा नयाँ क्षेप्यास्त्र परीक्षणको स्थलगत अवलोकन गर्दै २५ जुलाई २०१९ का दिन । उक्त क्षेप्यास्त्र परीक्षण हालैका दिनमा दक्षिण कोरियाले गरेको हतियार प्रदर्शन, अमेरिकी सुरक्षा सल्लाहकारको सिउल भ्रमण र दक्षिण कोरिया र संरा अमेरिकाबीच संयुक्त सैन्य अभ्यासलाई निरन्तरता दिने सहमतिको विरोधमा‘ठोस चेतावनी’ भएको कोरियाली केन्द्रीय समाचार संस्था केसीएनएले जनाएको छ । तस्वीर ः केसीएनए
प्योङयाङ, २६ जुलाई ।
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले बिहीबार दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । उसको सो कार्यप्रति दक्षिण कोरिया र वाशिङ्टनले चासो देखाएका छन् ।
शुक्रबार प्रजग कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले सार्वजनिक गरेको समाचारले कोरिया प्रायःद्वीपमा अत्याधुनिक हतियार ल्याउने र सैनिक अभ्यास गर्ने दक्षिण कोरियाको प्रयासलाई चेतावनी दिन एक दिनअघि त्यस्तो प्रक्षेपण गरेको जनाएको छ । प्रजग कोरियाको पटक पटकको चेतावनीलाई बेवास्ता गरेर दक्षिण कोरियाले त्यस्तो तयारी गरेपछि प्योङयाङ सरकारले मिसाइल प्रक्षेपण गरेको बताइएको छ ।
प्रजग कोरिया सरकारले बिहीबार अत्याधुनिक आक्रामक हतियार ल्याउने उच्च ज्वरोले ग्रसित दक्षिण कोरियाली सैनिक युद्धपिपासुहरूलाई कडा सन्देश पठाउन नयाँ प्रकारको रणनीतिक निर्देशित हतियार प्रक्षेपण गरेको जनाएको छ ।
प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उन स्वयम्ले प्रक्षेपणको‘व्यक्तिगतरूपमा आयोजना र निर्देशन’ गर्नुभएको समाचारमा उल्लेख छ । प्योङयाङ दक्षिण कोरियाबाट हुने खतरा हटाउन अति शक्तिशाली हतियार प्रणालीको विकास गर्नसक्ने केसीएनएले जनाएको छ ।
दक्षिण कोरियाले बिहीबार जनाएअनुसार प्रजग कोरियाको उत्तरी तटस्थित वानसानमा सूर्योदयपूर्व मिसाइल प्रक्षेपण गरेको थियो । दुईमध्ये एउटा मिसाइल ४३० किलोमिटर र अर्को मिसाइल ६९० किलोमिटर पर उडेर समुद्रमा खसेको थियो ।
दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा परिषद्ले प्रजग कोरियाको कदमप्रति गहिरो चासो देखाएको छ । यस्तो कदमले कोरियाली प्रायःद्वीपमा सैनिक तनाव कम गर्ने प्रयासलाई मद्दत नगर्ने परिषद्ले बताएको छ ।
प्रजग कोरिया र दक्षिण कोरियाको सीमावर्ती पानमुनजोममा किम जङ उन र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको एक महिना समय पनि नबित्दै प्रजग कोरियाले त्यस्तो प्रक्षेपण भएको हो ।
संरा अमेरिकी विदेश मन्त्रालयले बिहीबार नै प्योङयाङसँग कूटनीति संलग्नता भने वाशिङ्टनले चालू राख्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *