भर्खरै :

युवा को ? युवा राजनीति कस्तो ?

सामान्यतः उमेरको आधारमा युवा हुनु वा नहुनुको मापन गर्ने गरिन्छ । युवा ऊर्जा, युवालाई अवसर, युवा सहभागिताको नाममा राज्यले पनि विभिन्न स्थानमा उमेरकै आधारमा अवसर र सुविधा दिने गरेको छ । तर, युवालाई उमेरकै आधारमा मात्र मापन गर्ने विचार अपूर्ण विचार हो । युवालाई उमेरको आधारमा परिभाषित गर्दै गर्दा विचार पक्षलाई गौण राख्ने चिन्तन अपूर्णमात्र होइन, गलत हो ।
अनुहार र शरीर हृष्टपुष्ट हुनु नै मात्र युवा हुनुको परिचय हुनसक्दैन । समाजलाई यथास्थितिबाट अघि बढाउन खोज्ने विचार बोकेको मानिसलाई नै युवा मान्न सकिन्छ । उमेरको आधारमा कोही व्यक्तिलाई कुनै पद दिंदैमा समाजमा आमूल परिवर्तन हुने कुरा सर्वथा झूट हो । युवाले बोकेको विचार परिवर्तनकारी भएमात्र समाजमा परिवर्तनको खाका बन्न सक्छ । जब कोही युवाले बोकेको विचार नै परिवर्तनकारी छैन भने कसैको पाखुरा गटिलो बन्दैमा समाजले चाहेको परिवर्तन हुनसक्दैन ।
लामो समय कोही बाँच्ने भएकोले नै उसले समाजको निम्ति आमूल परिवर्तनको गोरेटो फराकिलो बनाउन सक्दैन । नेपालमा कम उमेरका मन्त्री र प्रधानमन्त्री बनेका मानिस धेरै छन् । पञ्चायतका हिमायती सुर्यबहादुर थापा देशको प्रधानमन्त्री बन्दा उनी तीसभन्दा केही वर्षमात्र उकालो लागेका थिए । मन्त्री बन्दा कमल थापा पनि कमै उमेरका थिए । तर, उनीहरूले बोकेको विचार समाजले अघि बढ्न चाहेको बाटोको बाधक बन्यो । फलतः उनीहरूको युवावयले पहरेदारी दिएको व्यवस्था ढल्यो ।
युवा सहभागिता र युवा प्रतिनिधित्वको कुरा गर्दै गर्दा कुन विचारको युवाको सहभागिता र प्रतिनिधित्व भन्ने प्रश्न पनि महत्वपूर्ण प्रश्न हो । युवा सहभागिताको नाममा प्रतिगामी वा यथास्थिति विचारका पहरेदार युवालाई प्रतिनिधित्व गराउनुले समाजलाई अघि बढाउन सक्दैन । आज शासक दलमा आबद्ध युवाहरू अधिकांश राजनीतिक चेतना र कुनै निश्चित आदर्शको लागि भन्दा शासक दलमा लाग्दा पाइने सुविधा र देखाउन पाइने तुजुकलाई उपयोग गरी आफ्नो दुनो सोझ्याउन पाइने भएकाले लागेका छन् । युवा प्रतिनिधित्वको नाममा ती युवालाई उकास्नुले शासक दलका नेताहरूको क्षणिक लाभ त होला । तर, विचारशून्य युवाहरूले न त शासक दललाई दीर्घकालीन हित गर्नसक्छ न देशमा कुनै मौलिक परिवर्तन सम्भव हुनसक्छ ।
युवालाई विचार र भावनासँग जोड्न सक्दामात्र देशमा कुनै विपत्ति आइपर्दा गतिलो शक्तिको रूपमा प्रयोग हुनसक्छ । नत्र युवा शक्ति देशलाई आवश्यक पर्दा प्रयोग गर्न नसकिने खिया लागेको चुलेसीजस्तो हुनसक्छ । आज शासक दलहरूले युवा सहभागिताको नाममा युवाहरूलाई पनि अनेकन विकृतिमा सामेल बनाउने, राजनीतिको नाममा गुण्डागर्दी र सरकारी सम्पत्ति लुटपाट गर्ने आदि कुरामा प्रोत्साहन गरिरहेका छन् । उनीहरूले युवाहरूलाई आफ्नो क्षणिक राजनीतिक लाभ सिद्धिको लागि प्रयोग गरिरहेका छन् भने उमेरले जवानहरू भने राजनीतिलाई गलत व्याख्या गरी समाजमा थप विषवृक्षलाई बढावा दिइरहेका छन् ।
राजनीतिमा युवाको सहभागिता आवश्यक छ । तर, कस्तो राजनीति भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण प्रश्न हो । द्रव्यमोही र मुढेबलको राजनीतिलाई प्रोत्साहन गर्ने कि विचार र सिद्धान्तमा आधारित निष्ठावान राजनीतिलाई प्रोत्साहन गर्ने भन्ने प्रश्न आज सबै राजनीतिक दलसामू तेर्सिएको छ । यो प्रश्न आजको लागि मात्र होइन, सुदूर भविष्यको लागि पनि उत्तिकै महत्व राख्ने प्रश्न हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *