भर्खरै :

कन्काइका प्रमुख भक्तपुरमा

भक्तपुर, १५ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बुधबार कन्काई नगरपालिका झापाका प्रमुख राजेन्द्र पोखरेलले भेट गर्नुभयो । भेटका क्रममा प्रमुखद्वयबीच नगरपालिका सञ्चालन, नगरपालिकाको आगामी योजनालगायत विभिन्न विषयमा अनुभव आदान–प्रदान भयो ।
भेटमा भनपा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको स्वामित्वमा विभिन्न विश्वविद्यालय, बोर्ड र संस्थानको सम्बन्धमा ७ वटा कलेज÷मावि सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
नगरपालिकाले सञ्चालन गरिरहेका कलेजहरूमा देशभरिका विद्यार्थीहरूले सस्तोमा गुणस्तरीय शिक्षा प्राप्त गरिरहेको बताउँदै प्रमुख प्रजापतिले गरिब तथा जेहेनदार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गरेको र नगरभित्रका सबै विद्यालयमा कक्षा १ र ७, २ र ६ को स्थानीय पाठ्यक्रम लागू गरी विद्यालयस्तरबाटै स्थानीय भूगोल, राजनीति, कला–संस्कृति, सम्पदाबारे बुझाउने प्रयास भइरहेको जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिकाको आम्दानीको स्रोत स्थानीय जनताको कर र पर्यटन भएको चर्चा गर्दै उहाँले भनपाले २ वटा आवास योजना सञ्चालन गरिरहेको, ख्वप अस्पताल निर्माणाधीन अवस्थामा रहेको र नगरभित्रको खानेपानी समस्या व्यवस्थापनको लागि विभिन्न ठाउँहरूमा डीप बोरिङ गरी पानी ट्याङ्की निर्माण गरिरहेको बताउनुभयो ।
कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले कन्काई नगरपालिका नयाँ नगरपालिका भएको, भक्तपुरको विकासबारे आफूहरूले पनि सिक्न चाहेको र यहाँको विकास निर्माणका कार्यहरू सिङ्गो देशको लागि उदाहरणीय रहँदै आएको बताउनुभयो ।
उहाँले कन्काई नगरपालिकाले सीटीईभीटीबाट मान्यता प्राप्त गरी पोलिटेक्निक कलेज सञ्चालनको तयारी गरिरहेको उल्लेख गर्दै कन्काई नपामा पर्यटन व्यवसायको सम्भावना प्रशस्त रहेको बताउनुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *