भर्खरै :

मात्तेको मात्तेकै !

– हर्षबहादुर केसी
आजभोलि नेकपाका मन्त्री र नेताहरूमा धाक, रवाफको सीमै छैन । हुनु पनि कसरी ! सरकारले झन्डै दुईतिहाइ मत पाएदेखि मात्तेको मात्तेकै छ । सक्रियताको आधारमा मन्त्रीको श्रेणी विभाजन गरिए पनि कुनै मन्त्री अरू मन्त्रीभन्दा कम्तीका छैनन् । क्रमभङ्ग गर्ने काममा सबै मन्त्रीहरू एकसेएक छन् । केपी ओलीलाई प्रधानमन्त्रीबाहेक टुक्कामन्त्री पद पनि थप्न पाए भनाइ र गराइमा पक्का ब्यालेन्स मिल्छ । काम थाल्नेबित्तिकै युग नै सुरूआत भएको उर्दी जारी गर्ने प्रमको गफको करामत कुनै डनहरूको पाखुराको करामतभन्दा के कम ! मन्त्रीहरूको खप्परमा बुद्धि पलाएकै रहेछ । आवेश र भावनामा डुबेर आफ्नो पद, इज्जत र प्रतिष्ठाको ख्यालै नगरी केटाकेटी पारामा बोल्ने अर्का अध्यक्षको क्रमभङ्ग त कति हो कति लेखाजोखा गरेर साध्य छैन । तर, उनले प्रम पद पाए भने त्यो सूचीको पाटो अझ माथि चढ्नेमा शङ्का छैन ।
कहिलेकाहीँ समाजवाद, कम्युनिस्ट सिद्धान्त र विचारको वम पड्काएर या खोकेर आफूलाई सच्चा कम्युनिस्टहरूको परिचय दिन पछि नपर्ने नेकपाका नेता र मन्त्रीहरूले कहिलेसम्म झूटको खेती गर्ने ? झूटको खेती गरे पनि नेता र मन्त्रीहरूको फुइँ त अलिकति पनि झरेन हगि ! डनहरूलाई पनि पार्टीमा बुहारीझैँ तामझामका साथ भित्याउन पाएपछि देश समृद्ध हुने र समाजवाद फल्ने फुल्ने कुरा मनासिबै हो नि होइन ? डनहरूकै मत जित्न सफल नेकपालाई अरू केको विश्वास चाहियो र ! कम्युनिस्टको सिद्धान्त र विचार छोडेर छलाङ मार्ने ती नेता र मन्त्रीहरूको सान, मान नबढे कसको बढ्ला र ! विनाछलफल र परामर्श विधेयक ल्याउने । अनि आफै लाज छोपेर फिर्ता लाने ! बिगार्ने, मनपरी गर्ने आफू, दोष जति सबै अर्काको शिरमा पोख्ने बानी कहिलेसम्म दोहोरिरहने हो ? त्यसो त विगतमा पनि सीडीओलाई पिट्ने मन्त्री करिमा बेगम र कर्मचारीलाई शौचालयमा थुनेर ख्याती कमाएका मातृका यादवको सम्झना पनि त्यति सजिलै कहाँ बिर्सन्छ र ! धन दौलतमा पौडी खेल्ने पुँजीवादी नेताहरूलाई केही भन्नु छैन । सवाल त कम्युनिस्ट भनिने नेता र मन्त्रीहरू उपचारको नाउँमा विदेश पसेर राज्यकोषमा रजाईँ गर्ने बहादुरीको पो हो । धर्ती फाट्ने कुरा गर्नु पनि कला नै हो । जनतालाई जुरूक्क उचाल्ने र बजार्ने काम गर्न पाएपछि अघाउने ती नेता र मन्त्रीहरूको रहर पनि मान्नैपर्छ । विश्वलाई नै चकित पार्ने खालको विकास गरेर देखाउने प्रम र मन्त्रीहरूको अभिव्यक्तिमा वजन नभएको कहाँ हो र ! आम नेपालीले पर्खेर हेरेर बस्ने धैर्य पो गर्नुप¥यो नि ! धैर्य नतोडिकन हेरिरहेमा संसदीय व्यवस्थामार्फतै ओलीको सरकारले समाजवादै ल्याउने हो कि ! अनि त्यो विश्वकै लागि रेकर्ड पनि हुन्छ, नेकपाको नाउँ पनि चल्छ । मन्त्री र प्रमले घाँटी फुलाएर, सुकाएर बोलेपछि के यहाँ भ्रष्टाचार अन्त्य हुन्छ ? सुशासन हुन्छ ? अनि सुखी नेपाली र समृद्ध नेपाल बन्छ होला नि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *