भर्खरै :

भेनेजुएलाको सरकार र विपक्षी बीच पुनः वार्ता

काराकस, १६ साउन (रासस/एएफपी) : भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका प्रतिनिधि र विपक्षी नेता हुवाँ गुएइदोबीचमा बिहीबार फेरि वार्ता सुरु भएको छ ।
देशको राजनीतिक सङ्कट समाधानका लागि भन्दै उहाँहरुबीच बारबादोसमा वार्ता भएको अधिकारीहरुले जनाएका छन् ।
बारबादोसमा गत तीन हप्ता अगाडि पनि दुई पक्षकाबीचमा वार्ता भएको थियो । उनीहरूलाई नर्वेले मध्यस्थता गरिदिएको थियो ।
“हामीले अर्को चरणको बैठक सुरु गरेका छौँ, ओस्लो संयन्त्रका आधारमा वार्ता सुरु गरिएको हो,” गुएइदोका प्रतिनिधि तथा सांसद स्थालिन गोन्जालेजले ट्वीटरमा लेख्नु भएको छ ।
भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगुएजले पनि राष्ट्रपतिका प्रतिनिधि र विपक्षीबीचमा वार्ता सुरु भएको पुष्टि गर्नुभयो ।
टेलिभिजनबाट केही दिन अगाडि प्रसारित एक वक्तव्यमा राष्ट्रपति मदुरोले विपक्षीसँग वार्ताका लागि स्थायीरूपमा छुट्टै संयन्त्र बनाउने तयारी भइरहेको बताउनुभएको थियो ।
गत जनवरीमा आफैलाई कार्यबहाक राष्ट्रपति घोषणा गराएर गुएइदोले सरकार विरुद्ध आन्दोलन सुरु गरेपछि भेनेजुएलामा राजनीतिक सङ्कट सुरु भएको हो ।
राष्ट्रपति मदुरोलाई अवैध दावी गर्दै उहाँले आफू कार्यवाहक राष्ट्रपति भएको घोषणा गरेपछि अमेरिकाको पक्षधर करिब ५० देशले उहाँलाई समर्थन गरेका थिए ।
गुएइदोलाई रूस, चीन, क्युवालगायतका देशहरुले भने असंवैधानिक भनेपछि भने गएइदोको आन्दोलनले अपेक्षाकृत गति पाउन सकेको थिएन । आन्दोलनबाट सत्ता कब्जा गर्ने प्रतिपक्षीको सपना पूरा नहुने देखिएपछि गुएइदोको समूह अहिले वार्ताको प्रक्रियामा आएको हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *