भर्खरै :

विश्व सङ्गीतका आधारशिला बीथोवेन

रब प्रजापति
सङ्गीत मानव जीवनको एक अभिन्न अङ्ग बनिसकेको छ । पहिले प्राकृतिक स्वर कलरवताको श्रवण गरेर मनोरञ्जन प्राप्त गर्ने मानवले आज स्वयम् मानव निर्मित विभिन्न सङ्गीत साधनहरूको प्रयोग गरी त्यसबाट उत्पन्न श्रुतिमधुर आवाज श्रवण गरेर मनोरञ्जन प्राप्त गर्छन् । उदास मनलाई आनन्द र मनोरञ्जन दिलाउँछन् । हो, उदास मनलाई आनन्द र मनोरञ्जन दिलाउने सुलभ र सरल माध्यम पनि आज सङ्गीत नै बनिसकेको छ । आज मनोरञ्जनात्मक विविध कर्णप्रिय, सुरिला भावमय सङ्गीतहरूको सिर्जना भइसकेको छ । सङ्गीत कुनै एक ठाउँमा मात्र सीमित नभएर विश्वव्यापी बनिसकेको छ । यो विश्वका कुनै पनि भाषा र संस्कृतिको जगेर्ना र विकास गर्ने माध्यम पनि बनिसकेको छ । सङ्गीतका चर्चित स्रष्टा एवम् साधकहरू पनि विश्वमा थुप्रै थिए र अद्यापि छन् र नयाँ प्रतिभाहरू पनि क्रमशः सङ्गीतको क्षितिजमा उज्यालो लिएर उदाउँदै छन् । साथै सङ्गीतप्रेमी स्रोताहरूको सङ्ख्या पनि विश्वमा दिन प्रतिदिन बढ्दै छन् । यहाँ सङ्गीतको सिर्जना र साधनामा विश्वमै चर्चित एक प्रतिभाको जीवनीबारे छोेटो जानकारी दिन चाहन्छु ।
यहाँ चर्चा गर्न लागिएका सङ्गीतकार अथवा सङ्गीतका स्रष्टा र साधक हुन्– विश्वका महान् सङ्गीतकारका रूपमा सर्वत्र चर्चित बीथोवेन । उनको पूरा नाउँ लुडविग भान बीथोवेन (Ludwig Van Beethven) हो । सङ्गीतकार मोजार्टझैँ यिनी विश्वकै एक महान् सङ्गीतकार हुन् । यिनको जन्म सन् १७७० डिसेम्बर १६ तारिखमा जर्मनीको बोन सहरमा भएको थियो । यिनका बाजेबराजु लगुा सिउने काम गर्थे । तर, आफ्नो पुर्खाको पेशा विपरीत यिनका पिता सङ्गीतकार बनेका थिए । यिनका पिता यिनी जन्मेकै ठाउँ बोन सहरकै एक छेउ कोलोनको इलेक्टर कहाँ सङ्गीतज्ञ थिए । बीथोवेनकी आमा पनि सङ्गीतप्रेमी थिइन् । यसरी घरमा साङ्गीतिक वातावरण र बुबाकै प्रेरणाबाट यिनलाई सङ्गीततर्फ लम्कन हौसला मिलेको थियो । तर, अफसोच यिनका मातापिता ज्यादै गरीब थिए ।
हुने बिरुवाको चिल्लो पात भनेझैँ भविष्यमा महान् बन्ने कुनै पनि व्यक्तिको लक्षण सानैमा देखिन्छ । यस्तै लक्षण यिनमा पनि देखिएको थियो । सङ्गीतप्रतिको यिनको झुकाव, लगन र प्रतिबद्धता देखेर यिनका पिताले यिनलाई सर्वप्रथम पियानोको प्रशिक्षण दिए । यिनका पितालाई आफू गरीब भएको कारण आफ्नो छोरालाई चाँडोभन्दा चाँडो सङ्गीतमा पोख्त बनाएर यसकै माध्यमबाट धन कमाउने मनोकाङ्क्षा थियो । यसै उद्देश्यले यिनी ८ वर्षको मात्र हुँदा एउटा सङ्गीत समारोहमा यिनको परिचय गराइएको थियो सन् १७७८ मा तत्पश्चात् सन् १७८१ मा पनि यिनले एउटा समारोहमा साङ्गीतिक कार्यक्रम प्रस्तुत गरे । तर, त्यस कार्यक्रम त्यति सफल हुनसकेन ।
यिनका सङ्गीतका गुरु गटलब निफे (Christian Gottlob Neefe) हुन् । निफेकै सहयोगमा यिनले सङ्गीतसम्बन्धी विस्तृत शिक्षा हासिल गरेका थिए र प्रसिद्ध सङ्गीतकार जोहन सेवस्टेन बकका सङ्गीत रचनाहरूबारे जान्ने अवसर पाएका थिए ।
सङ्गीतबारे अझ विस्तृत शिक्षा हासिल गर्न यिनी १६ वर्षको उमेरमा अष्ट्रियाको राजधानी भियना गएका थिए । त्यहीँ यिनले प्रसिद्ध सङ्गीतज्ञद्वय हेडन र मोजार्ट (Joseph Haydn and Leopold Mozart) सँग सङ्गीतबारे केही महिना सिके । तर पृथ्वीका त्यस्ता महान् सङ्गीतज्ञहरूसँग सङ्गीत सिक्ने सुवर्ण अवसरलाई अधुरै छोडेर आफ्नी आमाको अस्वस्थताको कारण यिनीलाई घर फर्कनुप¥यो । डाक्टरद्वारा आमाको उपचार गराइयो । तर पनि यिनले आफ्नी आमालाई गुमाउनुप¥यो । आमाको शोक अन्त्य हुँदा नहुँदै सन् १७८८ मा अर्थात् १८ वर्षको हुँदा यिनलाई पिताको पनि शोक प¥यो । हिउँमाथि तुषारो भनेझैँ यिनलाई दुःखमाथि दुःख प¥यो । तर धैर्यवान रहे, दुःखबाट कहिल्यै विचलित भएनन् र आफ्नो सङ्गीत सिर्जना गर्ने काम पनि छोडेनन् ।
यिनी २२ वर्षको हुँदा अर्थात् सन् १७९२ मा सधैँका लागि आफ्नो जन्मथलो बोन सहर (जर्मनी) बाट भियना (अष्ट्रिया) मा बसाइँ सरे । यही बसेर यिनले थियटर
(नाचघर) हरूमा सङ्गीत दिने काम गरेर आफ्नो जीवनको गुजारा चलाए । यही नै यिनले सिम्फोनी (Symphony) को पनि रचना गरेका थिए ।
सन् १८०० (यिनी ३० वर्षको हुँदा) देखि नै यिनीले कान कम सुन्न थाले । यसरी यिनको जीवनको अन्तिम अवस्था ज्यादै दुःखद हुनथाल्यो । तर अचम्मको कुरा, यिनी ३० वर्षको उमेरदेखि बहिरा हुन थालेका थिए । यिनका विश्वमा अद्यापि चर्चित एवम् महान् सङ्गीत रचनाहरू जति पनि छन्, ती सबै नै यिनी ३० वर्षको उमेरपछिकै रचना हुन् । तर, दुःखको कुरा, आफू बहिरो भएको कारण यिनले आफ्ना सङ्गीत–रचनाहरू राम्ररी सुन्न र केही सुधार गर्नसकेनन् । नत्र भने यिनका सङ्गीत रचनाहरू अझ बढी राम्रा हुने निश्चित थियो । यद्यपि, जीवनमा अनगिन्ति दुःख र सुखका तीतामीठा अनुभूतिहरू सङ्गालेर सङ्गीत साधना र सिर्जनामा सधैँ आफूलाई लीन गराए । यिनी सङ्गीतलाई जीवनसापेक्ष बनाउन चाहन्थे । यिनले सङ्गीतको महत्वबारे लेखेका छन्– Music should strike fire from the heart of man, and bring tears from the eyes of woman.’ अर्थात् लोग्नेमानिसको हृदयबाट अग्नि प्रज्वलित गर्नु र स्वास्नीमानिसको आँखाबाट आँसु प्रवाहित गर्नु सङ्गीतको काम हो ।
अन्तमा हैजा, निमोनिया आदि रोगहरूबाट पीडित भएर सन् १८२७ मार्च २६ का दिन ५७ वर्षको उमेरमा यिनको मृत्यु भयो । यिनी शारीरिकरूपमा मरे पनि यिनले सिर्जेका महान् एवम् चर्चित सङ्गीत रचनाहरूसँगै यिनी विश्वमा अद्यापि अमर छन् । यिनका थुप्रै सङ्गीत रचनाहरूमध्ये केही हुन् –
१. सिम्फोनी (Symphony)
२. सोनाटा (Sonata)
३. कन्सर्टो (Concerto)
४. अर्केस्ट्रा (Orchestra)
५. प्रीलुड (Prelude)
६. ओरेटेरियो (Oratareo)
७. मार्च (March)
८. सेक्टेट (Setect)
९. मिलिटरी मार्च (Military March)
१०. कोरस (Chores)
११. द्वेट (Duet)
१२. अक्टेट (Octet)
१३. कन्टाटा (Contata) आदि ।
स्रोत ः हाम्रो प्रयास

Leave a Reply

Your email address will not be published. Required fields are marked *