भर्खरै :

जेनतेन चलिरा”छ बाबै

चिन्मय
समस्या एउटै हुन्छ । समाधान अनेकतिरबाट खोजिन्छ । यसरी हुन्छ कि उसरी भन्नेमै आम जनता भाँैतारिरहेका छन् । रनभुल्ल छन्, अन्धाले हात्ती छामेजस्तो । परिकथाको सामान्य हात्ती होइन । यो सेतो हात्ती हो । पुँजीवादी गजराज ।
सहकारी र लघुवित्तहरूकै कुरा गरौँ । गाउँमा किस्तामा नखेल्ने मानिस पाउन आजभोलि मुश्किल पर्छ । कोही त दर्जनौँमा पनि खेल्छन् ।
जुठी दिदी पनि किस्ता खेल्दी रहिछन् । किस्ताबाट पैसा निकालेर उनले छोरालाई अरब पनि पठाइन् । तर महिना दिनमै छोरो ठगिएको खबर आयो । उता छोरो दुतावासको शरणमा छ । यता आमा अर्को भड्खारोमा परिन् । उनले खेल्दै आएका दुई किस्तामा समस्या देखियो । एउटै रामकहानी रहेछ । जुठी दिदी जमानी बसेको समूहका दुईजना आइमाई भागेछन् । एउटी पैसा तिर्न नसकेर भागिछन् । अर्की टाँठी भने अरू तीन किस्ताबाट पनि ऋण कुम्ल्याएर भागिछन् । छोरा पठाएको किस्ता तिर्नै बाँकी छ र यता दुईटी आइमाईले खनेको खाल्डो पनि पुर्नु छ । त्यसमाथि दुई सन्तानको लालनपालनको भार छ ।
जुठी दिदी आरामले भट्टी चलाइरहेकी थिइन् । साँझ परेपछि उनको सानो टंकीमा ग्राहकहरूको राम्रै चहलपहल हुन्थ्यो । तर लघुवित्तले अचानक थोपरेको विपत्तिले गर्दा भट्टीले मात्र नधानिने भयो । कतैबाट कुनै सहारा नपाएपछि जोकोहीसामु अन्तिम एउटै विकल्प हुन्छ, भाग्ने । चाहे थातथलो छोडेर होस् वा दुःखी संसार छोडेर होस् । भाग्नु त पर्छ नै । जुठी दिदी पनि भागिन् । कसैले सुइँको नपाउनेगरी रातको अन्धकारमा छोराछोरी बट्याएर उनी कता भागिन् गाउँलेहरूले अझै अड्कल काट्न सकेका छैनन् । लघुवित्त संस्थाले अड्कल काट्न सक्लान् । आखिर कानुन र पुलिस उनीहरूकै वरिपरि घुम्छ । लघुवित्तका कसाईहरू स्वर्ग वा नर्क पुगेर भएपनि पैसा असुलिहाल्छन् भन्ने गाउँलेहरूमा हल्ला छ । जुठी दिदीकहाँ उधारो खाएर कहिल्यै नअघाउनेहरू पनि हिजोआज ‘जुठी यस्ती थिई उस्ती थिई’ भन्दै कुरा काट्दा रहेछन् । जुठी दिदी जहाँ गए जाऊन् तर कल्पना काकीलेझैँ संसारै नत्यागून् ।
भीम दाइ पनि भाग्दैछन् । गाउँमा वर्षभरिलाई खान पुग्ने राम्रै खेतबारी थियो उनको । एकचोटि अरब पुगेर पक्की घर पनि ठड्याए । स्वदेश फर्केपछि भने यसको मूल्य उनले पीत्तथैली काटेर तिरे । अरबको ठाउँ । हामीकहाँ पेट्रोलको भाउजस्तै महँगो त्यहाँ पानी हुन्छ । अरुले जस्तै भीम दाइले पनि पैसा जोगाउन सस्तोमा पाइने लुमा रक्सी पिए । पानी किनेर पैसा बगाउन उनलाई मनखत लाग्यो । यता आएर जँचाएपछि थाहा भयो, पानीको अभावमा उनको पीत्तमा पत्थरी परेको रहेछ । पीत्त नै मिल्काउनुपर्ने भयो । भाउजु अलि सौखिन पाए भीम दाइले । महँगो अस्पतालमा उपचार गर्दा र दाइ घरमा थलिए पनि गाउँमा र इष्टमित्रहरूमा नचाहिँदो रवाफ देखाउन उनले कुनै कसर बाँकी राखिनन् । किस्ता खेलेरै भएपनि उनले ऋण काढिन्, घिउ चाटिन् । भाउजुका सामुन्ने दाइ पनि केही बोल्न नसक्ने !
तङ्ग्रिएपछि भीम दाइले साँझ बिहान गोठको भैँसीलाई घाँस काट्न थाले । पाएसम्म दिनभरि मेलापर्म जान थाले । तर, मेलापर्मको पनि त सिजन हुन्छ । सिजन नहुँदा आफूजस्तै दुखियासँग मिलेर दिउँसोभरि तास र दबादारुमा जम्न थाले । ऋण र ब्याजमात्र होइन अब किस्ता तिर्न पनि मुश्किल हुँदै गयो । खेतीपातीले पनि कति दिन धानोस् । बाउबाजेले जोरिदिएको घरघडेरी नबेची समस्या नटर्ने देखियो । आजभोलि जग्गा दलालहरू दिनको एकाधपटक उनको घरखेतको चक्कर लगाउँछन् । सकेसम्म कम दाममा बेच्ने र च्यापेर कमिसन खाने खेलोमा मास्टर धनवन्तरीको कान्छो छोरो मसिने कम्मर कसेर लागिपरेको छ । मसिनेलाई हेरेर धनवन्तरीको स्वभावको अनुमान लगाउनु गलत हुनेछ ।
सेतो हात्तीको कुरा भइरहँदा धनवन्तरीको कहानी पनि जोड्दा सूचनामुलक होला । धनवन्तरी जवान छँदा गरम खुनका थिए । खाइपाई आएको सरकारी शिक्षकको जागिर पनि बलिबेदीमा चढाउन उतारु । पहाडको घरखेत बेचेर उनी सर्वहारा राजनीति गर्न तराई झरेका थिए । उबेला बुटवलमा सर्वहारा मसिहाहरूले सुकुम्बासी बस्ती बसालिरहेका थिए । राधा ज्ञवालीले जुझारु भाइलाई कतै ठेगान लगाउनेगरी उनबाट ढाई लाख रकम बुझिन् । ज्ञवालीकहाँ धाउँदाधाउँदा धनवन्तरी सुक्नु सुके । तर केही हात लागेन । उल्टै दिदीकहाँ बढी धाएको आरोपमा उनलाई नाकमुख कुच्चिनेगरी ‘ठेगान’ लगाइयो । राधा दिदीका सण्ड–मुसण्डहरूको पिटाइ खाई बहुलाएका धनवन्तरी भागेर कपिलवस्तु पुग्न सफल भए । हेडसर थिए थारु थरका दयालु । गैरसरकारी संस्थाले चलाएको भाषामा भन्दा, उनले एउटा बाहुनबाट अपहेलित अर्को बाहुनलाई कैयनपल्ट सम्झाइबुझाई गरेर जागिरमा थामिरहेका थिए । नत्र धनवन्तरीले उहिल्यै जागिर ‘उत्सर्ग’ गरिसकेका हुन्थे ।
धनवन्तरीले मानसिक उपचार गरिरहे । पेन्सन पाक्दै गयो, बिमारी सन्चो हुँदै गयो । आज धनवन्तरी रिटायर भएर आनन्दको जीवन बाँचिरहेका छन् । काँग्रेस र माओवादी दुवै भोटो फटाडिसकेका छन् । रोजै समाचार सुन्छन् । गाउँमा ठूला कुरा गर्ने उनी त छन् ! पेन्सन आउँदा सहर डुल्न जान्छन्, नेता औ नेतृलाई भेट्छन् । यता कान्छो केटो मसिने भने राधा दिदीभन्दा माथि उक्लिने ताकमा छ । जग्गादलाली र ठेक्कापट्टा आज दिदीकै सण्ड–मुसण्डहरूको पनि भरपर्दो पेशा बन्न पुगेको मसिनेजस्तो चलाख केटोले नदेख्ने कुरै भएन ।
हामी भीम दाइका कुरा गर्दै थियौँ । लघुवित्तको लाखौँको ऋण नतिरी सुख छैन । भीम दाइ जति रकम हात परेपनि घरखेत बेच्ने सुरमा छन् । ऋण तिरेर हल्का हुने सोचमा छन् । उनी हल्का हुने नहुने कुरा उनको निधारमा भन्दा पनि भाउजुको हातमा छ । यता तिनाउको उत्तरी किनारमा बसेको बगिया गाउँमा भने एउटा अचम्मको घटनाले हिजोआज चर्चा पाइरहेको छ ।
कल्पना काकी पढेलेखेकै हुन् । मलेसिया पुगेका पतिको कमाइ कति नै पो हुन्थ्यो र ! हिम्मत गरेर छोराछोरी बोर्डिङमा हालेकी थिइन् । गाउँमा राम्रै इज्जतआबरु थियो । इष्टमित्र पनि राम्रै राखेकी थिइन् । तर केही दिनअघि मात्र उनी हराएको समाचारले गाउँमा तरङ्ग ल्याइदियो । छोराले सिरानीमुनि कागतको चिर्कटो पाएछ । लेखिएको थियो, ‘मेरो लास पाए पनि, नपाए पनि सद्गती गर्नू’ । तिनाउमा असारे बाढीको मैलो भेल आएको थियो । उनी तिनाउमै हाम फालेको सबै गाउँलेको एक मत छ । उनको लास त भेटिएन । तर सद्गती गर्ने तयारी हुँदैछ । उनको कथा जुठी दिदीकै जस्तै लघुवित्तपीडितको कथा हो । फरक यति हो उनले ज्यान फालेर भाग्ने निधो गरिन् । उनी त भागिन्, समस्या कसरी भाग्ने हो ! आँसुमा डुबेका उनका कलिला छोराछोरीका राता आँखा र थर्थराउँदा आङ हेर्दा मन अमिलो भयो ।
मान्छेलाई साङ्लोले के बान्छ, वित्तीय पुँजीले त्योभन्दा बढ्ता निर्ममतापूर्वक बान्दोरहेछ । सनासोले के अँठ्याउँछ वित्तीय पुँजीले त्योभन्दा बढ्ता क्रुरतापूर्वक अँचेट्दोरहेछ । यसबाट फुत्किन असम्भव प्रायः देखिन्छ । कम्तीमा गाउँमा यस्तो निरास तस्वीर देख्दैछन् गरिबगुरुवाहरू । सहरमा पनि उही पेलान हो । तिनलाई यहाँ भुइँमान्छे भन्न थालिएको छ । बुद्धिजीवीहरूले काम गरेकै हुन् !
जोगिनी बजै भीख माग्छिन् । सत्तरी नाघिन् । कुनै जटिल रोगब्याधी छैन । दिनभरि गाउँसहर चहार्छिन् । रातमा यहाँ तिनाउकिनारमा स्वामीको फेदमा सुत्छिन् । एक साँझ म उनलाई सोध्छु, “कस्तो छ आमैलाई ?” सुस्केरा छोड्दै उनी भन्छिन्, “कस्तो हुनिओ र ! जेनतेन चलिराछ बाबै ।” मान्छेको दिमाग हो, कुरा खेलिहाल्छन् । यी आमै पनि भाग्य सुधार्न कुनै लघुवित्त धाउँदी हुन् त यति लामो आयु बाँच्न पाउन्नथिन् । उनको भाग्य उहिल्यै खोसिएको हुन्थ्यो । कम्तीमा स्वामीको सीतल छानोमुन्तिर उनी तन्मय भई निदाउन पाउन्नथिन् ।
“जेनतेन चलिराछ बाबै ।” आज जुठी दिदी, भीम दाइ र कल्पना काकीले यी बजैका कुरा सुन्थे भने पक्कै डाहा गर्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *