भर्खरै :

भनपाको सम्पति कर प्रगतिशील

– सुन्दर कर्माचार्य, कमलविनायक
भक्तपुर नगरपालिकाको पाँचौँ नगरसभाबाट पारित सम्पति करको दरले प्रगतिशील कर प्रणालीलाई आत्मसात गरेको छ । अघिल्लो आर्थिक वर्षमा निर्धारित करको दरमा ५० प्रतिशत छुट दिंदासमेत अन्य नगरपालिकामा भन्दा महँगो भएको विषयमा व्यापक छलफल भएको थियो । यसपालि सम्पति करलाई प्रगतिशील कर प्रणालीअन्तर्गत समायोजन गरिएको छ । घरको मूल्याङ्कन दर रेटका केही बुँदामा वृद्धि गरिएको छ ।
कर तथा शुल्क दरको विवरण १३ वटा अनुसूचीमा दिइएका छन् । अधिकांश कर तथा शुल्कको दर साविकबमोजिम छ । विज्ञापन करका प्रायः बुँदाहरूमा करको दर वृद्धि गरिएका छन् । सबै परिवारको सरोकार हुने प्रतिचुल्हो सफाइ सेवा शुल्कमा मासिक २० रुपैयाँ वृद्धि गरिएको छ । अघिल्लो वर्ष मासिक ३० का दरले वार्षिक ३६० रुपैयाँ प्रतिचुल्हो सफाइ सेवा शुल्क तिरेको ठाउँमा यसपालि मासिक ५० का दरले ६०० रुपैयाँ बुझाउनुपर्ने भएको छ ।
पाँचौँ नगरसभाबाट पारित सम्पति करको समायोजित नयाँ दरअनुसार अघिल्लो आर्थिक वर्ष तिरेको रकमभन्दा केही तलमाथि हुने भएको छ । अघिल्लो वर्षमा ५० प्रतिशत छुट दिइएकोले १० लाखसम्म सम्पतिको १५० रुपैयाँ र ३० लाखसम्मको ४५० रुपैयाँ तिरेको ठाउँमा यसपालि छुट नभएकोले १० लाखसम्मको ५० रुपैयाँ बढी २०० रुपैयाँ र ३० लाखसम्मको ५० रुपैयाँ बढी ५०० रुपैयाँ तिर्नुपर्ने भएको छ । त्यसपछि ५० लाखसम्मको १६५० को ठाउँमा ६५० कम भई १००० रुपैयाँ, १ करोडसम्मको ६६५० को ठाउँमा ४६५० कम भई २००० रुपैयाँ र २ करोडसम्मको २१६५० को ठाउँमा ४६५० कम गरी १७००० रुपैयाँ तिरे पुग्ने भएको छ । यसरी नै ३ करोडसम्मको ३६६५० को ठाउँमा ३५० बढी भई ३७००० रुपैयाँ, ४ करोडसम्मको ५१६५० को ठाउँमा १५३५० बढी भई ६७००० रुपैयाँ र ५ करोडसम्मको ७१६५० को ठाउँमा ५५३५० बढी १२७००० रुपैयाँ कर बुझाउनुपर्ने छ । ५ करोडभन्दा माथिको सम्पतिवालाले प्रतिकरोड ६० हजारका दरले थप्दै जानुपर्ने हुन्छ । यसकारण भक्तपुर नगरपालिकाको अघिल्लो आवको सम्पति करको दरभन्दा चालू आवको लागि निर्धारण गरिएको करको दर प्रगतिशील कर प्रणालीअन्तर्गत देखिन्छ । यो करको दर समायोजन गर्ने भक्तपुर नगरसभालाई साधुवाद !
फेरि पनि करको दरसम्बन्धी गृहकार्य गर्ने र नगरसभाका सदस्यहरूले बक्सौनी र सिफारिस दस्तुरको बुँदा नं ८ मा पुनः एक पटक ध्यान दिनुपर्ने देखिन्छ । सो बुँदाको मोही कट्टा सिफारिस दस्तुरमा आधा रोपनीसम्मको २००० रुपैयाँ, त्यसपछिको आधा रोपनीसम्मको लागि ३००० थपी १ रोपनीको ५००० रुपैयाँ सिफारिस दस्तुर तोकिएको छ । सोभन्दा माथि प्रतिआना १०० रुपैयाँका दरले थप लिने भनिएको छ । यसले धेरै जग्गावालाको सिफारिस लिंदा १ रोपनीभन्दा माथि प्रतिरोपनी १६०० रुपैयाँमात्र थपे पुग्ने भयो । धेरै जग्गाको लागि सिफारिस लिनेसँग सोही अनुपातमा बढाउँदै जानु उपयुक्त हुन्छ । यस विषयमा अर्को नगरसभामा विचार पु¥याउन सक्नुपर्छ । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *