भर्खरै :

हस्तक्षेप, फेरि हस्तक्षेप !

शुक्रबार राजधानीको हिमालय होटलमा ‘नेपाल – भारत मैत्री समाज’ ले आयोजना गरेको कार्यक्रममा भारतीय जनता पार्टीका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवा र भारतीय राजदूत मञ्जीवसिंह पुरीलाई साक्षी राख्दै एकजना भारतीय ‘एजेन्ट’ ले हिन्दीमा प्रस्ताव राखे, ‘‘नेपालको संविधान संशोधन गरेर भारतसँग विशेष सम्बन्ध छ भन्ने कुरा लेख्नुपर्छ ।’’ नेपाल र चीनबीचको असल सम्बन्धलाई कमजोर बनाउने यस्तो भनाइले नेपाल – भारत सम्बन्धसमेतमा खादल सृजना गर्नेछ ।
नेपाल–भारत संयुक्त संयन्त्रको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस. जयशङ्कर नेपाल आउँदै छन् । केही दिनअगाडि भारतीय गुप्तचर विभाग ‘रअ’ का प्रमुख सामन्त गोयल आएर प्रधानमन्त्री केपी ओली, प्रचण्ड, देउवालगायत शासक पार्टीका नेताहरूसँग के के साउति गरे ? सबै कुरा बाहिर आएको छैन । विभिन्न संसदीय समितिका सभापतिहरूलाई भारतीय राजदूतावासमा बोलाई के के ‘आदेश’ गरियो ? त्यो पनि थाहा छैन, नेपाली जनतालाई । भारतीय राजदूतले नेपालका ‘घागडान’ पत्रकारहरूलाई रात्रीभोज दिएर के के लेख्न ‘निर्देशन’ गरे ? नेपाली जनता सूचित हुन पाएका छैनन् । शङ्का छ, कुनै विध्वंशकारी खिचडी पाक्दै त छैन ?
यहाँनिर सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरणपछि समाजवादी पार्टी बनेसँगै संविधान संशोधनको मुद्दालाई अझ जोडदार बनाएको सन्दर्भ उल्लेख गर्नु आवश्यक छ । राष्ट्रिय जनता पार्टीले पनि संविधान संशोधनमा जोड दिँदै आएको छ । प्रमुख प्रतिपक्षी काङ्ग्रेसले पनि संशोधन हुनुपर्ने विचार राख्दै आएको छ । सत्तारुढ नेकपाभित्र एक समूह संशोधनको पक्षमा देखिन्छ । तर कतै दबाब र स्वार्थमा संविधान संशोधन त हुँदै छैन ? मधेशवादी दलहरूले भनेझैँ जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने, प्रदेशको भौगोलिकता संशोधन गरिनुपर्ने माग पूरा भए नेपालको अस्तित्व बाँकी होला ? विगतमा ‘भूगोल र जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्ने’ भन्ने स्थानमा जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने संशोधन गर्नुको मुख्य कारण सङ्घीय संसद्मा भारतीय स्वार्थपूर्ति गर्ने राजनीतिक दलको सीट सङ्ख्या बढाउनु रहेको भन्ने सचेत नागरिकको निष्कर्ष हो ।
नेपालको संविधान नेपालीले नेपालको निम्ति बनाउने हो, संशोधन पनि त्यसरी नै हुन्छ । संविधान संशोधनका विषय थुप्रै छन्, संविधान बन्दाकै बखत पनि दर्जनौं विमतिसहित नेपाली जनताले संविधानलाई स्वीकारेका थिए । नेपालको संविधानमा के लेख्ने र नलेख्ने भन्ने कुरा नेपालीको मर्जीको कुरा हो । कसैको दबाब, डर र धम्कीमा नेपाली जनता झुक्दैनन् । नेपालको संविधानमा आफ्ना केही थप ‘एजेन्डा’ घुसाउन नपाएको झोंकमा भारतले नेपालमाथि अमानवीय नाकाबन्दी लाद्दा नेपाली जनताले धैर्यसाथ सामना गरेको इतिहास ताजै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *