भर्खरै :

चाकडीबाजहरूले बिगारेको विश्वविद्यालय

– आसलाल
आगामी भदौ ५ देखि असोज ५ गतेसम्ममा देशका एघार विश्वविद्यालयमध्ये सात वटा विश्वविद्यालयका पदाधिकारी रिक्त हुने भएपछि विशेषतः सत्तासीन दलनिकट प्राध्यापकहरू आफ्नो पोल्टामा पद पार्ने दौडमा लागेको समाचार सुन्दा पनि उदेकलाग्दो छ । विश्वविद्यालय शिक्षालाई राजनीतिक दलको सङ्कीर्णताभन्दा माथि उठेर हेर्न नसक्दा देशको विश्वविद्यालय शिक्षाको अवस्था भयावह बनेको छ । विश्वविद्यालयमा हुनुपर्ने प्राज्ञिक ऊर्जा हाम्रा विश्वविद्यालयमा धिमा बन्दै छन् । यसको मूल कारण विश्वविद्यालयहरूमा विगतमा भएका शासक दलीय भागबन्डा हो ।
कुकुरको पुच्छर बा¥ह वर्ष ढुङ्ग्रोमुनि राखे पनि बाङ्गाको बाङ्गै भन्ने उखान जस्तै शासक दलहरू अझै पनि विगतमा भएका गल्ती सच्याउन खोजिरहेका छैनन् । बरु शासक दलहरू विश्वविद्यालयमा आफ्नो बलियो प्रभावलाई बढावा दिन खोजिरहेका छन् । प्राज्ञिक उन्नयनमा लागिपरेका विज्ञ प्राध्यापकहरू पनि आफ्नो योग्यताको आधारमा भन्दा नेताको चाकडीका आधारमा पदको लागि दौडधूप गर्नु लज्जाको विषय हो । शासकहरू आफ्नो चाकडीमा आउनेलाई मनोनयन गर्ने र चाकडी पाउन दौडधुप गर्ने प्राध्यापकहरू दुवैले नेपाली जनताले अपेक्षा गरेको लोकतान्त्रिक शासन व्यवस्थाको खिल्ली उडाएका छन् ।
राजनीतिक दलको झोला बोकेपछि मात्र कोही पनि व्यक्ति कुनै पनि पद र जिम्मेवारीका लागि लायक हुने नत्र नहुने कुरा सर्वथा झूट हो । प्राध्यापक राज्यका थिङ्कट्याङ्क हुन् । तिनले कुनै दल विशेषको सङ्कीर्णताबाट माथि उठेर देशको समग्र विकास र उन्नतिको निम्ति आफ्नो ज्ञान र दक्षताको उपयोग गर्नसक्ने अवस्था बन्नुपर्छ । नेताको अघि झोली फैलाउनुपर्ने बौद्धिकता खास अर्थमा बौद्धिकताभन्दा बढी चाकडीबाज हो र चाकडीबाजहरूले झोलामा धेरै थरी प्रमाणपत्र बोकेर हिँड्न सक्छन् । तर, तिनको बौद्धिकता शासकको धुप बाल्नमात्र उपयोगी हुन्छ, समाजमा परिवर्तनको लागि त्यो काम लाग्दैन ।
त्रिभुवन विश्वविद्यालय स्थापना भएको आधा शताब्दीभन्दा बढी समय बितिसकेको छ । तथापि अझै किन त्रिवि एकपछि अर्को विकृतिको दलदलमा फस्दै गएको छ ? किन हाम्रा विश्वविद्यालय संसारमा देखाउनलायक शैक्षिक उचाइमा पुग्न अझै टाढा छ ? यसको एउटै जवाफ भनेको विश्वविद्यालय शिक्षामा आजसम्मका शासक दलहरूबाट हुने सङ्कीर्ण मनोनयन हो ।
विश्वविद्यालयमा राजनीतिक दलको सदस्यताको आधारमा मनोनयन गर्ने परिपाटीको अन्त्य नभएसम्म विश्वविद्यालय शिक्षामा अपेक्षित परिवर्तन सम्भव छैन । शासक दलले आफ्नो चाकडीमा आउनेलाई मात्र मनोनयन गर्ने र मनोनयनकै लागि चाकडीमा जाने प्राध्यापकहरू नै गुणस्तरीय विश्वविद्यालय शिक्षाका दोषी र शत्रु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *