भर्खरै :

भारत – पाकिस्तान विभाजनको तिक्ततापूर्ण इतिहास र काश्मीर विवाद

एन्ड्रयु ह्वाइटहेड
सन् १९४७ अगस्ट १४ का दिन भारतको विभाजन भयो । युद्ध र अनिकालबाहेकको अवस्थामा सायद त्यो नै इतिहासमा मानिसहरूको सबैभन्दा ठूलो आवागमन थियो । भारतमा रहेका मुस्लिमहरू पाकिस्तानतर्फ लागेका थिए भने पाकिस्तानमा रहेका हिन्दू र शिखहरू भारतर्फ लागेका थिए । दुईवटा नयाँ स्वतन्त्र मुलुकको जन्म भयो — भारत र पाकिस्तान । औपचारिक तथ्याङ्कअनुसार करिब १ करोड २० लाख मानिस शरणार्थी भए । धार्मिक दङ्गामा मारिने मानिसको सङ्ख्या ५ लाखदेखि १० लाखको बीचमा थियो । दशौँ हजार महिला अपहरित भए । ब्रिटिश उपनिवेशवादी शासनको ‘फुटाऊ र राज गर’ नीतिको सबैभन्दा चरम सफलता थियो भारतको विभाजन ।
दिल्लीबाट इस्लामावाद जम्मा ७०० किलोमिटर टाढा छ – लण्डन र जिनिभाबीचको दूरीभन्दा पनि कम । हवाइ उड्डयन दृष्टिले यो एकदमै छोटो यात्रा हो । तर तपाईँ भारतीय राजधानीबाट पाकिस्तानी राजधानीसम्म सीधा यात्रा गर्न सक्नुहुन्न । यी दुई राजधानीबीच सीधा उडान छैनन् । यो, सात दशकयताको आपसी आशङ्का र तनावको एउटा सानो उदाहरणमात्रै हो ।
भारत र पाकिस्तान केही साताअघि च्याम्पियन्स् ट्रफीको उपाधिका लागि भिडेका थिए । दुवै देशमा क्रिकेट असाध्यै लोकप्रिय छ । तर त्यो खेल दक्षिण एसियामा नभइ लण्डनमा भएको थियो । भारत र पाकिस्तान एकअर्काको भूमिमा क्रिकेट खेल्दैनन् । तथापि उनीहरू संसारका विभिन्न भागमा एकदिवसीय प्रतिस्पर्धामा उत्रिएका छन् । संस्कृति र इतिहास मिल्दोजुल्दो भएको भएपनि उनीहरू केबल प्रतिस्पर्धीमात्रै होइनन्, दुश्मनझैँ छन् । भारत र पाकिस्तानले स्वतन्त्रता पाएको ७० वर्षमा उनीहरूले तीनवटा युद्ध लडिसकेका छन् । कतिपय चाहिँ चारवटा भन्छन् तर सन् १९९९ मा जब ती दुई मुलुकका सेनाले अन्तिमपटक लडेका थिए, त्यतिबेला युद्धको औपचारिक घोषणा भएको थिएन । भारत र पाकिस्तानबीचको तनाव संसारकै सबैभन्दा लामो भूराजनीतिक तनाव हो । यसका कारण दुवै मुलुकले आ–आफ्नो पारमाणविक अस्त्र विकास गरेका छन् । यो असजिलो तनाव क्षेत्रीय विवादभन्दा बढी जस्तो देखिन्छ, यो बृहत् खतराले भरिएको छ ।
भारत र पाकिस्तानले एकै समयमा स्वतन्त्रता पाए । भारतमाथिको ब्रिटिश शासन सन् १९४७ अगस्ट १५ मा समाप्त भयो । महिनौँ लामो राजनीतिक गतिरोधपछि ब्रिटेनले मुलुकलाई दुई भागमा विभाजन गर्ने सहमति जनायो । ठूलो सङ्ख्यामा रहेका मुसलमान अल्पसङ्ख्यकहरू हिन्दू बाहुल्य भारतमा अप्ठ्यारोमा पर्नसक्ने भन्ने चिन्ता सम्बोधन गर्न छुट्टै र मूलतः मुसलमान राष्ट्र पाकिस्तान सिर्जना गरियो । पञ्जाब र बङ्गालजस्ता भारतका सबैभन्दा ठूला प्रान्त पनि विभाजनमा परे । स्वतन्त्रताको दुई दिनपछि मात्रै नयाँ अन्तर्राष्ट्रिय सिमाना कहाँ पर्छ भन्ने विस्तृत खाका सार्वजनिक गरियो । विभाजनले आधुनिक समयको सबैभन्दा ठूलो मानवीय सङ्कट निम्त्यायो । कसैलाई सङ्ख्या यकीन छैन तर करिब १ करोड २० लाख मानिस शरणार्थी बनेको बताइन्छ । एउटा पीडादायी रक्तपातमा मुख्य–मुख्य समुदायका व्यक्तिहरू दुवै आक्रमणकारी र पीडित थिए । हिन्दु–मुस्लिम दङ्गामा ५ लाखदेखि १० लाख मानिस मारिएको हुनसक्ने अनुमान गरिएको छ । यसका लागि कसैलाई जिम्मेवार पनि बनाइएन । मेलमिलाप प्रक्रिया पनि भएन । तर, के भएको थियो भन्ने विषय लामो समयसम्म मौनतामै हरायो । के भएको थियो भन्नेबारे चलचित्र र साहित्यमा प्रतिविम्बित भयो । इतिहासविद्हरू सुरुमा विभाजन वरपरको राजनीतिमा केन्द्रित भए । धेरैपछि मात्रै उनीहरू मानिसहरूले विभाजनताका भोग्नुपरेको पीडामा केन्द्रित भए ।
विभाजनले भारत र पाकिस्तानको सम्बन्ध विषाक्त बनायो र समग्र दक्षिण एसियाको भूराजनीतिलाई असर पार्यो । सन् १९७१ मा भारत सरकारको योजना र भारतीय सेनाको सहयोगमा पूर्वी पाकिस्तान पाकिस्तानबाट टुक्रियो । अर्को नयाँ मुलुक बङ्गलादेशको जन्म भयो । भारत र पाकिस्तान स्वतन्त्रतापछिको अर्को समस्या काश्मिर थियो । मुसलमान बाहुल्य उक्त राज्यका महाराजा हरि सिंह, जो हिन्दु थिए, उनले काश्मिर भारतको अंश हुनुपर्ने निर्णय गरे । केही महिनामै भारतीय र पाकिस्तानी फौज कश्मिरको नियन्त्रणका लागि लडाइँमा उत्रिए । काश्मीरलाई लिएर दुई देशबीच दुईपटक ठूलठूला लडाइँ भइसकेका छन् । उक्त जटिल द्वन्द्व अहिलेसम्म पनि समाधान भएको छैन र अरु विषत्न्दा यसले दुई मुलुकबीचको सम्बन्धलाई बढी सताएको छ । भारतीय सहरहरूमा आतङ्कवादी शैलीमा हुने गरेका आक्रमणहरूमा संलग्न अतिवादी सङ्गठनहरूलाई पाकिस्तानले सघाइरहेको भारतले आरोप लगाउने गरेको छ । पाकिस्तानले पनि बलुचिस्तानमा भएका पृथकतावादी गतिविधिलाई भारतले साथ दिएको बताउने गर्छ । भारत र पाकिस्तान राजनीतिक नेताहरूका अभिव्यक्ति र सम्बन्धहरूबाट त्यो पुष्टि हुँदै आएका छन् । त्यसो त दुवै देशका नेताहरूले समयसमयमा भेटघाट गरेका छन् । सम्बन्धमा सकारात्मक मोड आउन लागेको बेलाबेलामा आशाहरू पनि जागे । तर अहिले भने सम्बन्ध निकै चिसो छ ।
काश्मीर ः कलहको बीउ
भारत र पाकिस्तान स्वतन्त्र भएयता काश्मीर दुवै देशका लागि कलहको बीउ बनेको छ । त्यो क्षेत्र भारत र पाकिस्तान प्रशासित काश्मीरको रूपमा बाँडिएको छ । काश्मीर विश्वमा सबैभन्दा बढी सैनिकीकृत क्षेत्रमध्ये एक हो । त्यहाँ भारत र पाकिस्तानजस्ता दुई पारमाणु शक्तिसम्पन्न देशबीच अतिसम्वेदनशील सीमारेखा पनि छ । भारत प्रशासित कश्मीरमा पटक पटक भारतीय सुरक्षाकर्मीलाई लक्षितगरी आत्मघाती आक्रमण भइरहेका छन् त्यहाँ भएका भिडन्तमा सुरक्षाकर्मी, सन्दिग्ध लडाकु र गैरसैनिकको पनि मृत्यु भइरहेको छ । सन् २०१८ मा मात्रै त्यहाँ सर्वसाधारण, सुरक्षाबल र लडाकुसमेत पाँच सत्न्दा बढी मानिसको ज्यान गएको थियो । पाकिस्तानले भने आक्रमणमा आफ्नो भूमिका रहेको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ ।
भारत र पाकिस्तान दुवै परमाणुशक्तिसम्पन्न देश हुन् । त्यसैले गर्दा उनीहरूबीच हुने जुनसुकै द्वन्द्वले पनि नयाँ परिस्थिति सिर्जना गर्नेछ ।
दुई देशबीच रहेको विवादको सबैभन्दा बढी मार काश्मीरका बासिन्दाले खेप्नुपरेको छ । काश्मीर विवादकै कारण दुई देशबीच सन् १९४७ र १९६५ दुईवटा युद्ध भइसकेको छ । थुप्रै सशस्त्र अभियान, सेना र सर्वसाधारणलाई लक्षित भएका अनगिन्ती आक्रमण भइसकेका छन् । फलस्वरूप त्यस क्षेत्रको अर्थतन्त्र उच्च बेरोजगारी र राजनीतिक अस्थिरताको जगमा कमजोर बनेको छ ।
काश्मीरविज्ञ ब्रिटिश सांसद नजिर अहमदका अनुसार त्यस भेग आतङ्कवादी गतिविधिका लागि उर्वर भूमि बनेको छ । कश्मीरलाई बेवास्ता गरेर इस्लामिक स्टेट लडाकु र नजिकैको अफगानिस्तानमा रहेका तालिबानलाई नियन्त्रणमा राख्न गा¥हो हुने धारणा अहमद र अन्य विज्ञहरूको छ ।
सन् १९४७ मा ब्रिटिश शासनको अन्त्य हुनुअघि नै काश्मीरबारे ठूलो विवाद थियो । जतिखेर उक्त उपमहाद्वीप हिन्दू भारत र मुस्लिम पाकिस्तानको रूपमा विभाजित भएको थियो । काश्मीरका महाराजा भारत वा पाकिस्तान कतातर्फ जाने भन्ने निक्र्योल गर्न सकेनन् । मताधिकार प्रयोग गरेर टुङ्गो लगाउने विकल्प थिएन । अन्ततः उनले भारत रोजे जसले उक्त भूमिको दाबीमाथि दुई वर्ष लामो युद्ध भयो । युद्धविराम घोषणा हुँदा भारत र पाकिस्तानले आफ्नो फौजलाई फिर्ता लैजान मानेनन् र कश्मीर दुई भागमा विभाजित भयो । भारत र पाकिस्तानबीच दोस्रो युद्ध सन् १९६५ मा भएको थियो ।
सन् १९८० र १९९० को दशकको बीचमा भारतीय शासनविरुद्ध रहेको असन्तोषको रूपमा विद्रोह सुरु भयो । मानिसहरूले प्रदर्शन गर्न थाले र पाकिस्तानको सहयोगमा लडाकू समूहहरू जन्मिन थाले । सन् १९९९ मा भारतले छोटो समय पाकिस्तानद्वारा समर्थित फौजसँग तिक्ततापूर्ण लडाइँ ग¥यो । त्यसबेलासम्म भारत र पाकिस्तान दुवैले आफूलाई परमाणुशक्ति भएको घोषणा गरिसकेका थिए । लडाइँ सुरु भएपछि दशौँ हजार मानिसहरूले ज्यान गुमाइसकेका छन् ।
काश्मीरका जनता के चाहन्छन् ?
सन् १९५० को दशकयता संयुक्त राष्ट्रसङ्घले त्यस क्षेत्रका मानिसहरूको विचारलाई सम्मान गर्नेगरी काश्मीरमा जनमत सङ्ग्रह हुनुपर्छ भन्यो । भारतले सुरुमा त्यस विचारलाई अस्वीकार नगरेको भए पनि पछि उसले त्यो आवश्यक नरहेको बतायो । दिल्लीले भारत प्रशासित जम्मु–कश्मीरमा भएका निर्वाचनमार्फत नै उनीहरू भारतीय भइसकेको भन्ने गरेको छ । पाकिस्तानले भने त्यसलाई अस्वीकार गर्दै आएको छ । त्यस भूभागका धेरै मानिसहरू भारतबाट शासित हुन चाहँदैनन् । उनीहरू कि स्वतन्त्र हैसियत वा पाकिस्तानसँग मिसिन चाहन्छन् । भारत प्रशासित जम्मु–काश्मीर राज्यमा ७० प्रतिशतभन्दा बढी मुस्लिम जनसङ्ख्या छ । यो भारतमा मुस्लिम बाहुल्य भएको एक मात्र राज्य हो । काश्मीरका बहुमत जनतालाई विश्वासमा लिन नसक्नु नै भारतको सबभन्दा ठूलो असफलता हो । त्यसैकारण भारतले काश्मीरमा नियन्त्रण कायम राख्नका लागि लाखौँ सेना र सशस्त्र प्रहरी तैनाथ गरिराख्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *