भर्खरै :

न्यायका लागि प्रहरीको निष्पक्ष भूमिका जरुरी

–सुरजसिंह
गत वर्ष साउनमा सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा निर्मला पन्त नामकी बालिकाको बलात्कार र बलात्कारपछि हत्या भयो । प्रहरी र अनुसन्धान निकायहरूले हालसम्म पनि बलात्कार र हत्याका दोषी पत्ता लगाउन सकेका छैनन् । उल्टै प्रहरी अधिकारीहरूमाथि नै प्रमाण लोप गरेको आरोप र अभियोग लाग्यो । चौध वर्षअगाडि बाँकेको नेपालगञ्जमा हेमकार परिवारको जघन्य सामूहिक हत्याकाण्ड हुँदा पनि प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको आरोप जाहेरीकर्ता र स्थानीय बासिन्दाको छ । उक्त हत्याकाण्डमा व्यवसायी दीपक हेमकारसहित हजुरआमा गुलाबदेवी, बाबु जगदेव, आमा सीतादेवी र घरमा काम गर्ने किशोर शनिश्चर चौधरीको घाँटी सेरेर हत्या भएको थियो । त्यतिखेरै संदिग्ध सबैमाथि अनुसन्धान भएको भए हत्यारा पत्ता लाग्ने थियो । तर, तत्कालीन बाँके प्रहरी प्रमुख शिव लामिछानेको बेवास्ता र अवरोधका कारण राम्रो अनुसन्धान नभएको, प्रमाण लाग्ने वस्तुहरू उठाउन नलगाएको जानकारहरू बताउँछन् । पछि प्रहरीले धेरै वर्ष लगाएर गरेको अनुसन्धानपछि हेमकार परिवारकै भारत लखनउ माइती भएकी बुहारी दिपा सोनी र उनकी बुबा किशोरीलाल सोनी हत्यामा दोषी भएको निष्कर्ष निकाल्यो । नेपाल प्रहरीले दीपालाई पत्ता लगाउन सकेको छैन भने वर्षौंको प्रयासपछि किशोरीलाललाई पक्राउ गरी मुद्दा चलाएको थियो । तर, सुरु अनुसन्धान नै कमजोर हुँदा, अभियोग कमजोर हुँदा सोनी साधारण तारेखमा बस्ने गरी रिहा भएर भारत पुगिसकेको समाचार हामीले पढेका छौं । यसरी सुरुमा प्रहरीले फौजदारी घटनाको कमजोर अनुसन्धान वा बेवास्ताले अपराधीहरूले दोषबाट उम्कने मौका पाएका छन् । कुनै–कुनै जिल्लामा प्रहरी घटनास्थल नै नपुगी घटनास्थल मुचुल्का र लास जाँच मुचुल्का तयार गर्दा कालगतिले मरेका व्यक्ति पनि हत्याबाट मृत्यु भएको ठहरी आरोप लागेका निर्दोष व्यक्तिले अनाहकमा पुर्पक्षका लागि थुनामा बस्नु परेका र जेलमा समेत बस्नुपरेका घटना पनि छन् । प्रहरीले सत्यको सेवा र सुरक्षा गर्ने सपथ खाएजस्तै कसैको प्रभाव वा दबाबमा भएका प्रमाण सङ्कलन गर्ने र नभएको प्रमाण सिर्जना गर्ने काम नगरेमा वास्तविक अपराधी जेलमा हुने र समाजमा आपराधिक घटना कम हुने थियो । त्यसैले न्यायका लागि प्रहरीको निष्पक्ष भूमिका र प्रतिबद्धता मूलभूत आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *