भर्खरै :

परराष्ट्र परावर्तन

नीरज
संसारका धेरै देशको तुलनामा नेपालको व्यवस्थित कूटनीतिको इतिहास त्यत्ति लामो छैन । नेपालको विदेश सम्बन्धको व्यवस्थित अभिलेखीकरण, अनुसन्धान र लेखनको अभावले पनि यसको लम्बाइ अझ छोटो बनाइदिएको छ । नेपालको विदेश सम्बन्धको प्रस्थानबिन्दु के हो र त्यसले समयान्तरमा कस्ता आरोह अवरोहको शृङ्खला सामना ग¥यो भन्ने प्रश्नको व्यवस्थित अध्ययन सामग्री नेपालले जुटाउन सकेको छैन । तत्कालीन नेपाली समाज र नेपाली इतिहासको ‘आधिकारिक’ अध्ययन गर्न विदेशी सामग्रीको भरपर्नुपर्ने हाम्रो विडम्बनामा विदेश सम्बन्धमा यस्तो खालको खडेरी कुनै नौलो कुरा होइन ।
हालै प्रकाशित ‘परराष्ट्रका पात्र, नेपाली कूटनीतिको सञ्चालन र सञ्चालक’ पुस्तकले यो अभावलाई केही राहत दिने कोसिस गरिएको छ । झन्डै चार दसक नेपालको परराष्ट्र र कूटनीतिक क्षेत्रमा काम गरेका मदनकुमार भट्टराईले यो पुस्तक लेख्नुभएको छ । नेपालको कूटनीतिक इतिहासलाई समग्रमा लेख्ने प्रयास पुस्तकमा गरिएको छ । विशेषतः पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि कब्जा जमाएदेखि आजसम्मको कूटनीतिक इतिहास र मुख्य मुख्य पात्रलाई यो पुस्तकमा समेट्ने प्रयास गरिएको छ ।
पृथ्वीनारायण शाहभन्दा अघि रहेका विभिन्न राज्यहरू (प्रिन्सिप्यालिटिज) को आपसी तथा उत्तर र दक्षिणतिरका राज्यहरूसँग सामाजिक, आर्थिक र राजनीतिक सम्बन्ध थियो । काठमाडौँका मल्ल राज्यहरूको उत्तरको तिब्बतसँग राजनीतिक र आर्थिक सम्बन्ध थियो । लिच्छिवीकालमा नै नेपालको चीनसँग सम्बन्ध विस्तार भइसकेको थियो । तर, परराष्ट्र सम्बन्धको कोणबाट ती राज्यहरूको कस्तो संरचना थियो भन्नेबारे प्रस्ट अभिलेख र अध्ययन भइनसक्दा लेखकले पुस्तकमा त्यत्तिबेलाको सन्दर्भ उल्लेख गर्नुभएको छैन । आफ्नो कृतिको सीमिततातिर सड्ढेत गर्दै भट्टराईले लेख्नुभएको छ, “नेपालको विदेश अड्डा पनि विश्वकै पुरानोमध्ये एक हो । तर, अभिलेख राख्ने कलामा हामी अलि पछि प¥यौं । संस्थागत संस्मरणमा विषय पनि हामीकहाँ विकास भएन । हामी आफ्नो विषयमा बढी नै निष्क्रिय देखियौँ । यसलाई धेरै वास्ता पनि गरेनौं । त्यसैले होला, हाम्रो विदेश कार्यालयबारे हालसम्म केही विदेशी विशेषज्ञले गरेका बाहेक सङ्गठित र राम्रोसँग अध्ययनसमेत भएको छैन ।”
(पृष्ठ १९)
लेखकले पृथ्वीनारायण शाहको राज्यकालमा खोलिएको जैसीकोठालाई नेपालको पहिलो सङ्गठित र आधिकारिक अड्डा मान्नुपर्ने दाबी गर्नुभएको छ । तर, त्यसअघिका राज्यहरूले परराष्ट्र सम्बन्धमा बनाएका संरचनाबारे ऐतिहासिक तथ्य बाहिर नआउँदासम्म उहाँको दाबीलाई सही माने पनि मल्लकालीन काठमाडौँ उपत्यकाका राज्यहरूले दक्षिणको भारत र उत्तरको चीनसम्म सम्बन्ध विस्तार गरिसकेको अवस्थामा त्यस्तो कुनै संरचना नहोला भनिहाल्न गाह«ो छ । नरेन्द्र देवको पालामा नेपालको तर्फबाट चीनमा सागको बीउ पठाउने तहको कूटनीतिक सम्बन्ध विस्तार हुनु भनेको व्यवस्थित र परिपक्व कूटनीतिको परिणाम भएको अनुमान गर्न सकिन्छ । बलबाहुलाई तिब्बतमा पठाउने, भृकुटीलाई तिब्बती राजकुमारसँग विवाह गराउने जस्ता घटनाले तत्कालीन समयमा कूटनीतिक सम्बन्ध हेर्ने कुनै अलगै निकाय हुने अनुमान गर्न सकिन्छ ।
पृथ्वीनारायण शाहको पाला र यता दरबारअन्तर्गत जैसीकोठा र राणाकालमा मुन्सीखानालाई विदेश नीतिको जिम्मेवारी दिइएको हुन्थ्यो । राणाकालमा भने मुन्सीखानामार्फत बेलायती उपनिवेशवादको लागि तिब्बतमा गुप्तचरीको काम हुने गरेको कुरा लेखकले पुस्तकमा चर्चा गर्नुभएको छ । मुन्सीखानाको चर्चा गर्दै लेखकले लेख्नुभएको छ, “ल्हासास्थित नेपाली वकिल जितबहादुर खत्रीले पठाएको प्रतिवेदन र नेपालको परराष्ट्र कार्यालयको योगदानबारे लर्ड कर्जनजस्तो सितिमिति कसैलाई नगन्ने व्यक्तिले समेत मुक्तकण्ठले प्रशंसा गरेका थिए । यसबाट नेपालको वैदेशिक अड्डाले बढी महत्वाकाङ्क्षी कार्य गरी विदेशीलाई रिझाउने काम गरेको स्पष्ट हुन्छ ।”
(पृष्ठ ३१)
विदेश सम्बन्धमा आज जति आकर्षण छ, राणाकालीन नेपालका शासकको लागि परराष्ट्र मामिला पनि त्यत्तिकै आकर्षक क्षेत्र थियो । ‘ए’ क्लास राणामध्ये पनि अब्बल मानिसलाई नै परराष्ट्र मामिलाको जिम्मेवारी दिइन्थ्यो । शासकहरू परराष्ट्रलाई आफ्नो नजिकका मानिसलाई जिम्मेवारी दिने होइन, अधिकांश शासक त आफैं पनि यसबारे नियमित चासो राख्ने र आफ्नै हातमा लिने पनि गर्थे । राणाशासकबाहेक पञ्चायतकालमा परराष्ट्र सम्बन्ध खासमा राजा महेन्द्रको विशेष चासो थियो । दुवै छिमेकी देशबीच तिक्ततापूर्ण सम्बन्ध र शीतयुद्धको उत्कर्षमा पुगेको समयमा अन्तर्राष्ट्रिय मामिलामा नेपाली भूमिकाको महत्व बढेको अवस्था थियो । त्यही कालमा संयुक्त राष्ट्र सङ्घ, असंलग्न आन्दोलन
(नाम) लगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति दरिलो थियो । त्यत्तिबेला कूटनीतिक क्षेत्रको नेतृत्व गर्नुभएका सरदार यदुनाथ खनाल, हृषिकेश शाहजस्ता व्यक्तिको प्रभाव आज पनि नेपालको परराष्ट्र नीतिमा कायम नै छ ।
भट्टराईको पुस्तक अद्योपान्त पढेपछि धेरै पाठकलाई लाग्नसक्ने कुरा–नेपालको राणाशासन र पञ्चायती व्यवस्थाको अन्त्य भएको लामो समयसम्म नेपालको परराष्ट्र मन्त्रालय र कूटनीतिक सेवामा त्यत्तिबेलाका प्रभावकारी परिवारकै सन्ततिको प्रभाव कायम रह्यो । पुस्तकमा परराष्ट्र सेवामा उदाएका पात्रहरूका शाखा–सन्तानको समेत चर्चा हुँदा यो जानकारी पाठकलाई हुन्छ । परराष्ट्र सेवामा कुनै न कुनै रूपमा परिवारवाद वा पारिवारिक प्रभाव रहने यो पुस्तकले पाठकलाई अवगत गराउँछ ।
लेखक स्वयम् लामो समय परराष्ट्र सेवामा आबद्ध हुनुभएको हुनाले उहाँले आफ्नो अनुभव र अध्ययनको आधारमा केही व्यक्तिको परराष्ट्र सेवालाई हेर्ने दृष्टिकोण र व्यवहारबारे लामो चर्चा गर्नुभएको छ । बीपी कोइराला, सूर्यप्रसाद उपाध्याय, गिरिजाप्रसाद कोइराला, हृषिकेश शाह आदि व्यक्तित्वको पुस्तकमा अलग चर्चा गरिएको छ । राणाकाल, पञ्चायतकाल र बहुदलीय व्यवस्थामा प्रधानमन्त्री र परराष्ट्रमन्त्री बनेका व्यक्तिहरूको परराष्ट्र नीतिबारे पनि यसमा केही सङ्क्षिप्त त केही लामो चर्चा गरिएको छ । पञ्चायतमा राजा महेन्द्र र वीरेन्द्रको कूटनीतिक सक्रियता पनि बाक्लै भएको मानिन्छ । महेन्द्र र वीरेन्द्रको कूटनीतिक क्षेत्रमा गतिविधिबारे पुस्तकमा चर्चा हुनु उपयुक्त हुने थियो ।
पुस्तक परराष्ट्र नीतिभन्दा पनि परराष्ट्र सेवामा संलग्न व्यक्तिको चर्चामा बढी केन्द्रित छ । व्यक्तिबारे जानकारी सड्ढलन गर्ने धुनमा ती व्यक्तिको परराष्ट्र नीति र त्यसले आन्तरिक र अन्तर्राष्ट्रिय क्षेत्रमा पारेको प्रभावबारे चर्चा गर्न कम ध्यान गएको देखिन्छ । तर, इतिहासको कुनै न कुनै कालखण्डमा विदेश सम्बन्ध सेवामा काम गरेका व्यक्तिबारे जानकारी पनि कम रोचक र जानकारीमूलक छैन । यस्ता कतिपय जानकारी त लेखकको संस्मरणमा आधारित छन् । पुस्तकको लेखन कति बेला परराष्ट्र सेवा र सम्बन्धको अध्ययनको लिकभन्दा बाहिर गएर लेखकको संस्मरणको बाटो हिँड्न खोजेको पनि देखियो । कति बेला विदेश सम्बन्धभन्दा पनि देशकै राजनीतिक इतिहासको चर्चा भइरहेको पाठकलाई अनुभव हुन्छ । अन्तर्राष्ट्रिय सम्बन्ध राष्ट्रिय राजनीतिकै विस्तारित रूप भएकोले यसलाई उचित मान्नुपर्छ ।
पुस्तकलाई नेपालको परराष्ट्र नीतिको पुस्तक भन्नुभन्दा परराष्ट्र सेवा र नेतृत्वसम्बन्धी पठनीय पुस्तक भन्नु उपयुक्त हुन्छ । परराष्ट्र नीतिको अध्ययनको लागि यो पुस्तक सहायक हुनसक्छ ।
पुस्तकको अन्तिम खण्डमा लेखकले परराष्ट्र सेवाबारे आफ्नो अनुभवमा आधारित केही निष्कर्ष पनि पस्कनुभएको छ । परराष्ट्र क्षेत्रको समीक्षा गर्दै उहाँ लेख्नुहुन्छ, “कूटनीति सञ्चालनको राजनीतिक नेतृत्व गर्ने परराष्ट्रमन्त्री पद छिटोछिटो परिवर्तन भइरहने, उपयुक्त रुचि वा झुकाव नभएका व्यक्ति यस्तो पदमा आउने, सर्वदलीय सरकारको स्वरूप वा अन्य कतिपय अवस्थामा प्रधानमन्त्रीको कार्यालयको हस्तक्षेप हुने आदि कारणले पनि परराष्ट्र मन्त्रालयले उचित राजनीतिक दिशा प्राप्त गर्न सकेको छैन ।”
लामो कूटनीतिक अनुभवपछि डा.मदनकुमार भट्टराईले लेख्नुभएको पुस्तकले संस्थागत स्मरणमा निकै कमजोर नेपालको परराष्ट्र क्षेत्रमा एउटा गुनिलो योगदान पु¥याएको छ । कूटनीतिक क्षेत्रका अन्य अनुभवीहरूले पनि आफ्नो अनुभव र अध्ययनलाई यसरी लिपिबद्ध गर्दै जाँदा नेपालको कूटनीतिक क्षेत्रमा क्रमशः परिपक्वता र निखार आउने छ । लघुताभासले पिरोलिएको नेपालको कूटनीतिक सेवालाई बलियो जगमा उभ्याउन यस्ता पुस्तकले महत्वपूर्ण योगदान गर्नसक्छ ।
पुस्तकको नाम ः परराष्ट्रका पात्र
लेखक ः डा.मदनकुमार भट्टराई
प्रकाशक ः किताब पब्लिसर्स
पृष्ठ ः ३१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *