भर्खरै :

कर्तव्यनिष्ठ कार्यकर्ता जयराम बासुकलाको स्मृतिसभा

भक्तपुर, २४ साउन । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका पूर्वअध्यक्ष जयराम बासुकलाको १४ औँ स्मृति सभा शुक्रबार ताथलीमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले पार्टी र भक्तपुरको पूर्वी भेगको विकासका लागि जयराम बासुकलाले पु¥याएको योगदान स्मरणीय छ भन्नुभयो ।
सचिव सुवालले जयराम दाइको विकासप्रेमी, समाजसेवी र निःस्वार्थी भावनाबाट पाठ सिकी जीवनलाई सार्थक बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाले अनवरत रूपमा प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको जानकारी दिँदै उहाँले सरकारले ल्याएको गुठी विधेयक फिर्ता लिएर सरकारले किसानविरोधी चरित्र देखाएको आरोप लगाउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “सरकार देश र जनताप्रति बफादार हुन नसक्दा जनता निराश भएका छन् । विकास निर्माणको नाममा ठेकेदार पोस्ने काम सरकारले गरिरहेको छ ।” हरेक विषयलाई भौतिकवादी दृष्टिकोणले हेर्नु आवश्यक छ, उहाँले भन्नुभयो ।
भारतको मोदी सरकारले सोमबार जम्मु–काश्मीर र अक्साई चीनबारे लिएको कदम सार्क देशको हितमा नभएको चर्चा गर्दै सचिव सुवालले भन्नुभयो, “सार्क देशहरूको सीमासँगै जोडिएका क्षेत्रहरूमा भारतले गर्ने हरेक सैनिक गतिविधिबाट सार्क देशका जनता भारतीय थिचोमिचो र विस्तारवादको अनुभव गर्छन् । सार्क देशका सबै प्रगतिशील र प्रजातन्त्रमा विश्वास गर्ने जनताले भारतको जम्मु–काश्मिर र अक्साई चीनबारे गरिएको सैनिक कारबाही शान्तिपूर्ण र वार्ताद्वारा समस्या समाधान गर्ने उद्देश्यमाथि कुठाराघात हो ।”
भारतीय जनता पार्टीको फासीवादी र नाजीवादी नीति एवम् बडाराष्ट्र अहङ्कारवादको विरोध गर्नु आवश्यक छ , उहाँले भन्नुभयो ।
प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईंले जयराम बासुकला उदाहरणीय र असल कार्यकर्ता भएकाले कामदार जनताको निधिको रूपमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जयराम बासुकलाको स्मृतिमा आयोजित कार्यक्रमले सङ्घर्षशील जनता र कार्यकर्तालाई ऊर्जा दिनेछ । उहाँले गरेको प्रत्येक काम र कामको शैलीलाई लिपिबद्ध गर्नु जरूरी छ ।”
“पुँजीवादले मानिसलाई स्वार्थी बनाउँछ, त्यसलाई चिर्नका लागि जयराम दाइको व्यक्तित्वबाट सिक्न जरूरी छ ।” प्रदेश सांसद गोसाईले भन्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समिति सदस्य पाण्डव सुवाल, नेमकिपा ताथलीका नारायणभक्त न्हेमाफुकी, चाँगुनारायण नपा वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातलगायतले जयराम बासुकलाको योगदानलाई शिरोधार्य गरी निःस्वार्थरूपमा जनताको सेवा गर्नु नै उहाँप्रति श्रद्धाञ्जली हुने बताउनुभयो ।
शिक्षाप्रेमी, विकासप्रेमी एवम् समाजसेवीको छविसँगै असल, कर्मठ र अनुशासित कार्यकर्ताको छवि बनाउन सफल जयराम बासुकलाको जन्म वि.सं. २००९ साल असार ३ गते ताथलीमा भएको थियो ।
२०६२ साल साउन २४ गते निधन हुनुभएका बासुकला नेपाल मजदुर किसान पार्टीका इमानदार, कर्तव्यनिष्ठ कार्यकर्ता एवं साविकको ताथली गाविसका अध्यक्ष हुनुहुन्थ्यो ।
आफ्नो जीवनकालमा तीनपटक गाविस अध्यक्ष भएका बासुकलाको स्मृतिमा जयराम बासुकला अक्षय कोष समितिले आयोजना गरेको सो अवसरमा चाँगुनारायण नगरपालिकाको वडा नं. ८ का दुई ज्येष्ठ नागरिकलाई अभिनन्दन गरिएको थियो ।
अभिनन्दित हुनेमा ९९ वर्षीया राधिका राउत र ८५ वर्षीय मीनराज बस्नेत रहनुभएको छ । सोही अवसरमा माध्यमिक शिक्षा परीक्षा २०७५ मा उत्कृष्ट स्तरीकृत अङ्क (जीपीए) हासिल गर्न सफल सुमिना त्वातीलाई नेमकिपाका सचिव प्रेम सुवालले सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *