भर्खरै :

सांस्कृतिक सम्पदा जोगाउने सकारात्मक पहल

– अमित कर्माचार्य
भक्तपुर नगरपालिकाले भक्तपुरको सापारु (गाईजात्रा) पर्वलाई संवद्र्धन, संरक्षण र व्यवस्थित गर्नको लागि परम्परागत नाचगान र ख्याल–नाटकको मूल्याङ्कन गर्ने र पुरस्कार प्रदान गर्ने कार्य गर्दै आइरहेको छ । यस वर्ष पनि भक्तपुर नगरपालिकाले विभिन्न परम्परागत तथा आधुनिक प्रदर्शनीहरू (घिन्ताङघिसि, विभिन्न नाच, ख्याल आदि) लाई प्रतियोगिताको रूपमा मूल्याङ्कन गर्ने र पुरस्कार प्रदान गर्ने जानकारी मजदुर दैनिक पत्रिकामार्फत दिइएको छ ।
सापारु (गाईजात्रा) को दिनदेखि कृष्णजन्माष्टमीको दिनसम्म गाईजात्रा मार्गका विभिन्न स्थानहरूमा संस्कृतिकर्मी, कलाकार, साहित्यकार, नृत्यकर्मी तथा गायिकाहरुमार्फत घिन्ताङघिसि, ख्याल तथा नाचहरुको मूल्याङ्कन गरिँदै आएको छ । उत्कृष्ट प्रदर्शनी तथा कलाकारलाई पुरस्कृत र सम्मान गरेर भक्तपुर नगरपालिकाले लोप हुन लागेका परम्परागत नाच÷ख्याल र घिन्ताङ्घिसिलाई जीवन्त बनाउने, अनुशासित बनाउने प्रयास गर्दै आएको छ ।
यतिबेला भक्तपुरका कलाप्रेमी, संस्कृतिप्रेमी तथा युवामा आ–आफ्नो कला र संस्कृतिलाई कसरी उत्कृष्ट ढङ्गले प्रदर्शनी गर्ने भन्ने कौतुहलता र जोसजाँगर चलिरहेको छ । टोल–टोलमा ख्याल, नाच तथा बाजाहरूको अभ्यास र प्रशिक्षण तालिम भइरहेको छ । यसले पुराना लोप हुन लागेका परम्परागत नाच, ख्याल तथा संस्कृतिलाई पुनर्जागरुक गरिरहेको छ ।
‘पुर्खाले सिर्जेको सम्पति, हाम्रो कला र संस्कृति’ नारालाई भक्तपुर नगरपालिकाले भक्तपुरको कला र संस्कृतिलाई संवद्र्धन र संरक्षण गरेर सांस्कृतिक नगरको परिचयलाई मूर्त रूप दिने काम गरिरहेको छ । यसले पर्यटन विकासमा टेवा पु¥याउनुका साथै आर्थिक उन्नति पनि हुने गर्दछ । यसरी कला र संस्कृतिको संरक्षण तथा पर्यटन विकासको लागि सापारु (गाईजात्रा) पर्वमा उत्कृष्ट घिन्ताङघिसि, ख्याल र विभिन्न नाचहरू तथा कलाकारहरूलाई पुरस्कृत र सम्मान गर्ने भक्तपुर नगरपालिकाको प्रयासलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *