भर्खरै :

के अब भुटानपछि नेपालको पालो ?

इतिहासले हामीलाई ‘पूर्वी पाकिस्तान’ लाई बङ्गलादेश भन्न सिकायो । एक अमेरिकी महिला कुकले सिक्किमका राजालाई संयुक्त राष्ट्र सङ्घमा सदस्य बन्न दर्खास्त राख्न सिकाइन् । यसबारे मानिसहरूले अमेरिकी केन्द्रीय गुप्तचर विभाग सिआईएलाई दोष दिएनन्, भारतले निहुँ पायो र ठूलो माछा समात्न ठूलो जाल थापेजस्तै नागरिक भेषमा भारतीय सैनिक प्राध्यापक, व्यापारी, पर्यटक, कर्मचारी र मित्रहरू पुगे–सिक्किमको विकासको सहयोगको निहुँमा !
हामी नेपालीहरू जहाँ पनि उपयोग हुने साधन बन्यौँ, सिक्किमको संसद्मा एकजना बबुरोमात्रै विपक्षमा रहे, अत्यन्त बहुमतले सिक्किमलाई भारतीय सङ्घ राज्यमा सामेल गर्न मतदान ग¥यो । सिक्किम भारत महासङ्घमा विलय भयो ।
भारतीय गुप्तचर विभाग ‘रअ’ का पूर्वप्रमुख आर के यादवले प्रस्टै लेखे – इन्दिरा गान्धीले नेपालको विलयको योजना र समयसीमासमेत तोकेकी थिइन् । श्रीलङ्कालाई भारतीय महासङ्घमा मिलाउन बीस वर्षसम्म तमिल जातिको रगताम्य सङ्घर्ष गर्न दिइयो । तर, त्यसबेला इतिहासलाई त्यो मान्य भएन, बरु एक सत्तासीन नेताले श्रीलङ्काका एक आक्रोशित सिपाहीको बन्दुकको कुन्दाको प्रहार व्यहोरे । तर, आज श्रीलङ्काको एक शासकले ‘काश्मीर’ मा भारतीय सेनाको प्रवेशलाई ‘सकारात्मक’ देखे । हो, सबैले इतिहासलाई बुझ्छन् तर इतिहासबाट सिक्छन् भन्ने होइन । मानिसको उचाइ कसैको भौतिक शरीरबाट नाप्ने गरिन्न बरु उसको भविष्यप्रति चिन्तन एवम् देश र जनताप्रतिको निःस्वार्थ समर्पणबाट नापिन्छ । कहिलेकाहीँ इतिहासमा ‘ठूलो’ मानिसको ‘सानो’ स्वार्थको ‘दर्शन’ पनि हुन्छ ।
नेपाली विद्यार्थीहरूलाई पाकिस्तानका एक नेताको हत्याले प्रजातन्त्र सिकायो, प्रजातन्त्र र गणतन्त्रमा हामी सास फेर्दैछौँ । तर, भविष्यमा लेखिने नेपालको इतिहास पढाइएको देखिएन । प्रजातन्त्र र गणतन्त्रमा कोशी, गण्डकीमात्रै होइन महाकाली र कर्णाली गुमायौँ । हामीले आफ्नो स्वतन्त्र चिन्तनसमेत गुमाउँदै छौँ, अरूबाट सिकाइएका पाठलाई नै हामीले आफ्नो ‘भाग्य’ ठान्यौँ ।
काश्मीर भारतका अरू राज्यहरूजस्तै अर्ध–उपनिवेश थियो । बेलायती साम्राज्यवादको अगाडि एकपछि अर्को राजा र राज्यहरू पददलित भए, अन्तमा नेपालसमेत त्यसबेलाको सशक्त साम्राज्यवादको छायामा प¥यो । भारत दुई सय वर्ष बेलायतकै प्रत्यक्ष शासनमा गयो । नेपाल र नेपालीहरू बेलायती साम्राज्यवादको विस्तार र युद्धमा उपयोग गरिए, चाहे त्यो एसियामा होस् या अफ्रिकामा वा छिमेकी तिब्बतमाथिको बेलायती आक्रमणमा होस् । भनिन्छ – नेपाली वीर हुन् तर नेपालको आकार झन् – झन् साँघुरिँदै गयो ।
नेपाललाई विदेशीले ‘आर्थिक कूटनीति’ सिकायो, हामीले सिक्यौँ, ७० लाख युवाहरू विदेसिए, ‘नेपालीको रेमिट्यान्स आधा कमाइ दलाललाई, बाँकी साहुलाई’ बताइयो । यो दलाल र साहु भनेकै ‘आर्थिक कूटनीति’ सिकाउने भारतीय एकाधिकार पुँजीका मालिक र उसका आउरे–बाउरे – हाम्रा शासक दलहरू नै हुन् । त्यसैले हाम्रो कृषि, उद्योग, सेवा, पर्यटन आदि सबै अर्थतन्त्र खाली ढुकुटीको पर्दामात्रै बन्यो । सार्वभौमिकता र स्वतन्त्रताको कूटनीति हामीबाट खोसियो, भेनेजुयलाको सूत्र मित्रले दियो, परराष्ट्रमन्त्री वासिङ्टनमा गएर सार्क छोडेर बिम्स्टेक हुँदै हिन्द – प्यासिफिक शान्ति तथा विकासको सैन्य गठबन्धनमा आफूलाई समर्पित गरे ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खान वासिङ्टन गए, ट्रम्पले भारतले ‘मध्यस्थता’ माने आफू तयार हुने बताए, देश फर्कंदा काश्मीरमा भारतीय सेना पुगिसकेको थियो । तर, नेपालको संसद्मा झण्डै सिक्किमको संसद्कै दृश्य देखियो । छिमेकको घटनाबारे नबोल्नु भनेको भविष्यमा आफ्नो निम्ति बोल्ने मित्रहरू गुमाउनु हो । काश्मिरी जनताको काश्मीर गुमेको छ, काश्मीरको घटनालाई नेपालीले ‘काल पल्केको’ अर्थमा लिनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *