मल्लकालीन सापारु पर्व मानव जीवनको शाश्वत सत्य प्रतिबिम्बित गर्ने पर्व हो । जन्मेपछि सबैको मृत्यु अवश्यम्भावी छ । मानिसको जीवनमा खुसी जत्तिको सत्य हो, शोक पनि उत्तिकै सत्य हो । यी दुवैको सन्तुलनले मानिसको जीवन चलेको हुन्छ । सापारुले मानिसलाई शोकमा पनि जीवन खोज्न सिकाउँछ । शोक नै जीवनको अन्तिम सत्य होइन, शोक जीवनको एउटा पाटोमात्र हो । मृत्युको अवश्यम्भाविता स्वीकार्दै मानिस सापारुको दिन दिवंगत आफन्तको सम्झना गर्दै जात्रा मनाउँछन् । संसारका अन्य आदिवासी समुदायमा पनि यस्तो खालका संस्कृति छन् ।
भक्तपुर त्यसै पनि संस्कृतिमा धनी सहर हो । सापारुको यो भव्यताले भक्तपुरको मौलिकता अझ चहकिलो बनाइदिएको छ । सापारुको घिन्ताङगिसी हेर्न देशका विभिन्न जिल्ला र विदेशी पर्यटकहरूसमेत भक्तपुरमा आइपुग्छन् । तर, सापारुको दिन निकालिने घिन्ताङगिसी नाचले विगत केही दसकदेखि अर्को एउटा आयाम पनि पाएको छ । हरेक वर्ष भक्तपुरमा निकालिने घिन्ताङगिसी नाचमा पछिल्ला केही दसकदेखि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा व्यङ्ग्यविनोद पनि हुँदै आएको छ । शुक्रबार प्रदर्शित घिन्ताङगिसीमध्ये केही त्यस्ता घिन्ताङगिसी पनि थिए, जसले समसामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा मौलाएका विकृति र विसङ्गतिप्रति तीखो प्रचार गरेका छन् । ती सांस्कृतिक प्रस्तुतिमार्फत सत्ताप्रति केही प्रश्न उठाइएको छ–वाइडबडी विमान काण्डका भ्रष्टाचारीलाई किन कारबाही गरिएन ? सस्तो लोकप्रियताको भोकमा प्रधानमन्त्रीले देखाउने गरेको पानीजहाजको आश्वासन के सत्य हो ? स्वरोजगार कार्यक्रमको नाममा शासक दलका नेताहरूले किन आफ्ना आसेपासे र कार्यकर्तालाई मात्र पाल्ने पोस्ने काम गरे ? भूमाफियाले सत्तासीन दलका नेतालाई समेत बालुवाटारको जग्गा हिनामिनामा कसरी फसायो ? यस्तै व्यङ्ग्य र प्रश्न मिसिएको घिन्ताङगिसी नाचले हेर्ने दर्शकलाई आफ्नो देशमा आफूले भोगिरहेको राजनीतिक विकृति स्मरण गरे ।
घिन्ताङगिसी नाचमा अन्तर्राष्ट्रिय परिस्थितिले पनि उत्तिकै स्थान पाएको छ । भारतको मोदी सरकारले जम्मु–काश्मीरमा गरेको विभाजनदेखि संरा अमेरिका नेतृत्वमा भेनेजुयलामाथि भएको हस्तक्षेप र चीन तथा संरा अमेरिकाबीच भइरहेको व्यापार युद्धको कुरा प्रदर्शनमा सामेल थिए । वास्तवमा ती प्रस्तुतिले नेपाली जनताको साम्राज्यवाद तथा विस्तारवादविरोधी भावना अभिव्यक्ति गरेको छ । यसले समसामयिक परिस्थितिबारे नेपाली जनताको सचेतता पनि उजागर गरेको छ ।
अभिव्यक्ति स्वतन्त्रताको बाटो निकै साँघुरो रहेको पञ्चायती व्यवस्थामा यस्ता प्रदर्शन प्रशासनको दमनको विषय बनेको थियो । भियतनाममाथि हमला गरेको विरोधमा तत्कालीन संरा अमेरिकी राष्ट्रपतिको रुप धारण गरी साम्राज्यवादमाथि गरेको व्यङ्ग्यात्मक विरोध तत्कालीन प्रशासनलाई पचेन । सोही अभियोगमा राजनीतिक कार्यकर्तालाई गिरफ्तार गरी यातना दिइयो । तर, प्रश्न गर्ने र समाजबारे आफ्नो बुझाइ अभिव्यक्ति गर्ने नेपाली जनताको भावनालाई त्यस्ता दमनले रोक्न सकेन । बरु लगातार त्यस्ता गतिविधि पाइरह्यो ।
आजको सत्ता र सत्ता वरपर बस्ने धुपौरेहरूलाई यस्ता गतिविधि मन पर्दैन । उनीहरू कुनै पनि बेला अभिव्यक्ति स्वतन्त्रता र अधिकार मिच्दै विभिन्न खालको दमनमा नआउला भन्न सकिन्न । उनीहरू आफ्नो नाङ्गो वास्तविकता उजागर भएकोमा रिसाएर झूटका बिस्कुन लगाउन सक्छन् । तर, अभिव्यक्ति स्वतन्त्रताको रचनात्मकताको सांस्कृतिक अभिव्यक्ति सापारुमा हरेक वर्ष समाजका विकृति विसङ्गति अभिव्यक्त हुन बन्द हुनेछैन । यसैमा सापारुको साख र गौरव छ ।