भर्खरै :

काश्मीरको अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायको पहल आवश्यक

इस्लाबाद, १६ अगस्ट । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार भारतनियन्त्रित काश्मीरमा भइरहेको हिंसाबारे अन्तर्राष्ट्रिय समुदायले ध्यान नदिए हिंसा अझ बढ्न सक्ने बताउनुभएको छ ।
गएको अगस्ट ५ मा भारतनियन्त्रित काश्मीरलाई प्राप्त विशेषाधिकार हटाउने भारत सरकारको निर्णयसँगै काश्मीरमा विकसित अवस्थाप्रति चासो व्यक्त गर्दै खानले आफ्नो ट्वीटरमा यस्तो प्रतिक्रिया दिएको हो ।
भारतले सो निर्णय गरेसँगै पाकिस्तानले नयाँदिल्लीसँगको कूटनीतिक सम्बन्ध झार्नुका साथै व्यापार सम्बन्ध र रेल सेवा बन्द गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्रीले अहिले नै निकै सैनिकीकृत क्षेत्र काश्मीरमा भारत सरकारले थप सेना परिचालन गरेको बताउनुभएको छ । उहाँले भारतनियन्त्रित काश्मीरमा विगत १२ दिनदेखि कफ्र्यु रहेको बताउनुभयो ।
गत बुधबार खान पाकिस्तान नियन्त्रित काश्मीरको भ्रमण गर्नुभएको थियो । त्यहाँ उहाँले चालू तनावको अवस्थाबारे पाकिस्तान नियन्त्रित काश्मीरको विधान सभामा बोल्नुभएको थियो ।
आफ्नो मन्तव्यमा उहाँले भारतनियन्त्रित काश्मीर क्षेत्रका जनताको अधिकार फिर्ताको लागि संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय न्याय अदालतसमक्ष अपील गरेको थियो ।
भारतीय सेनाको अर्को आक्रमण
पाकिस्तान सेनाले विवादास्पद काश्मीर क्षेत्रको लाइन अफ कन्ट्रोलमा भारतीय सेनाले अर्को हमला गरी थप एक जना पाकिस्तानीको हत्या गरेको दाबी गरेको छ । बितेका २४ घण्टामा काश्मीरमा कम्तीमा ६ जनाको हत्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *