भर्खरै :

अनियन्त्रित बजार भाउको कारण

– प्रकृति
‘बजार भाउ नियन्त्रण गर’ को नारा बाल्यकालदेखि सुनेको मात्र होइन आफैले लगाएको नारा हो । तर, आज पर्यन्त सर्वसाधारणको निम्ति दैनिक उपभोग्य वस्तुको बजारको मूल्यको स्थितिमा तात्विक परिवर्तन आएको छैन । बजार भाउको नियन्त्रण कहिल्यै हुनसकेको छैन । महँगीले सामान्य मानिसको सामान्य गुजारा चलाउन पनि गा¥हो हुन्छ । गरिबले हिजो पनि पर्याप्त र उचित खानपानसमेत गर्न पाएका छैनन् । सामान्य कपडा र जुत्ता लगाउन पनि आममानिसको निम्ति कठिन छ ।
दैनिक उपभोग्य वस्तु दाल, चामल, हरियो तरकारी, फलफूलदेखि मासुको मूल्य दिनप्रतिदिन बेहिसाब बढेको छ । खासगरी नयाँ बजेट घोषणा भएदेखि अनियन्त्रित मूल्य बढेको छ । बजेट भाषण त ठूला व्यापारीको कमाउने बहाना बनेको छ । आज जसलाई जे मन लाग्यो मूल्य तोकिन्छ, यहाँ मूल्य निर्धारणमा कुनै वैज्ञानिक नियम छैन । कसले कति नाफा खाने र मूल्य तोक्ने भन्ने कुनै नियम छैन । बैङ्कको व्याजदर उही, गाडी भाडा पनि उही, काम गर्ने मानिसको ज्याला उही, घर भाडा पनि उही हुँदा हुँदै पनि सामानको मूल्यमात्र अचाक्ली बढ्नुको अर्थ नाफा खाने व्यापारीको मनोमानी भन्ने अर्थ लाग्छ । बजार अर्थतन्त्रमा सामानको अभाव भएपछि मूल्य बढ्ने भन्ने तर्क गरिन्छ तर जनताको दैनिक उपभोग्य वस्तुको मूल्यको हकमा यो नियम लागू गर्नुहुन्न, राज्यले यसमा नियन्त्रण गर्ने जिम्मा लिनुपर्छ ।
बाढी–पहिरो गएको, तरकारीमा रसायनिक परीक्षणको कारण आयातमा अवरोधजस्ता जेसुकै कारण देखाइए तापनि बजार भाउ नियन्त्रण गर्न सरकारको बेवास्ता नै अति मूल्यको मुख्य कारण हो । सरकार बिचौलिया वर्गको कब्जामा छ, त्यसैले बिचौलियाको मनोमानी रोकिएन । सरकार सर्वसाधारण जनताको हुँदो हो त तिनको दुःख बुझ्थ्यो । सरकार र ठूला व्यापारीको मिलेमतोको कारण बजार भाउ नियन्त्रण हुन सकेको छैन । सरकार कालोबजारियाको संरक्षक भइरहँदासम्म सर्वसाधारण जनताले महँगीको मार बेहोर्नुपर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *