राकस्था

सरकारले गत वर्ष प्रदेश ३ बाट सुरु गरेको ‘एक विद्यालय, एक नर्स’ सेवा यस वर्षदेखि सबै प्रदेशमा लागू गर्ने भएको छ । भक्तपुर नगरपालिकाले घरघरमा नर्सिङ सेवा गत साल नै लागू गरेको थियो । भक्तपुर नगरपालिकाको सेवा सुरुआती चरणमा भएर पनि परिणाम उत्साहप्रद नै छ । सरकारले गत वर्ष प्रदेश ३ का २० विद्यालयमा पाइलट कार्यक्रमको रूपमा सञ्चालन गरेको विद्यालय नर्स कार्यक्रमको सकारात्मक परिणामको चर्चा भइरहेको छ । दुवै सेवाको उद्देश्य कुनै पनि रोगको रोकथामका गतिविधि सञ्चालन तथा प्राथमिक उपचारको बन्दोवस्त गर्नु हो । सामुदायिक स्वास्थ्यको सिद्धान्तअनुसार दुवैले सेवा दिएको पाइन्छ ।
२०६८ को जनगणनाअनुसार ३४ प्रतिशत नेपाली अझै पनि अशिक्षित छन् । अन्धविश्वास तथा अन्ध परम्पराले नेपाली समाजलाई नराम्ररी गाँजेको छ । देउता, बोक्सी, धामी, भूत, प्रेतजस्ता अप्राकृतिक शक्तिको कारण रोगव्याधी फैलिएको जस्ता अन्धविश्वास अद्यापी कायम छ । बाढीप्रकोप, भूकम्प, पहिरो, आँधीहुरीको कारण जनता वर्षेनि पीडित छन् । स्वास्थ्य सेवा जनताको गाउँठाउँमा पुगेको छैन । स्वास्थ्य सेवा सहरकेन्द्रित छ । विशेषज्ञ चिकित्सक सङ्घीय तथा प्रदेश राजधानीमा केन्द्रित भएको अवस्थामा जनस्वास्थ्य एक महत्वपूर्ण समस्या बनेको छ । औषधोपचार दिनपरदिन महँगो हुँदैछ । निजी औषधि कम्पनी र अस्पताल फस्टाउँदो छ, औषधि भने महँगिँदै छ । यस्तो अवस्थामा प्रत्येक विद्यालय एवम् घरघरमै सामान्य चिकित्साको सेवा उपलब्ध हुनु सकारात्मक पक्ष हो ।
विद्यालय नर्स सेवा
विद्यालयमा सेवा दिने नर्सले किशोर–किशोरीलाई प्रजनन स्वास्थ्यमा परामर्श दिने, व्यक्तिगत÷वातावरणीय सफाइ तथा फोहोरमैला व्यवस्थापन गर्ने, स्वस्थकर जीवनशैली अपनाउन उत्साहित गर्ने, सामान्य स्वास्थ्य परीक्षण गर्ने र पोषणको लेखाजोखा गर्ने बताइएको छ । सेवाको प्रारम्भिक प्रतिवेदनअनुसार राम्रो सुरुआतले विद्यालय स्वास्थ्यको चिन्ता गर्नेलाई केही सन्तोष दिएको छ ।
केटाकेटीको शिक्षालाई उनीहरूको स्वास्थ्यसँग जोड्नु सा¥है सकारात्मक पक्ष हो । स्वस्थ बालबालिकाले मात्र राम्रो शिक्षा हासिल गर्न सक्ने व्यवहारसिद्ध सत्य हो । विद्यालयमा नर्स कार्यक्रमले विद्यार्थीमा सकारात्मक प्रभाव पारेको कारण आफ्नो विद्यालयमा कहिले एक नर्स उपलब्ध होला भनी विद्यालयहरू पर्खिबसेका छन् ।
विद्यालयमा स्वाभाविकैरूपमा अनेक स्वास्थ्य समस्याहरू हुन्छन् । विद्यालयमा सानादेखि ठूला दुर्घटना भइरहेको पाइन्छ, विद्यार्थीलाई साना–ठूला चोटपटक लागिरहन्छ । कति दुर्घटना नियन्त्रणबाहिरका होलान् भने अधिकांश दुर्घटना सतर्कता एवम् होसियारीको कमीले भएको पाइन्छ । विद्यालयमा महिनावारीको कारण अस्वस्थ अनुभव गर्ने छात्राहरू पनि उत्तिकै हुन्छन् । आधुनिकतासँगै मानसिक समस्या भएका बालबालिकाको सङ्ख्यासमेत बढेको पाइन्छ । साना–साना कुरामा पनि धेरै तनाव लिने, निराश हुने र आत्महत्या गर्ने, हात खुट्टाका नशा काट्ने घटना बढेको पाइन्छ । यसको निम्ति मनोपरामर्श आवश्यक हुन्छ । यी काम विद्यालयमा उपलब्ध नर्सले पूरा गर्नु सा¥है जरुरी र आवश्यक छ ।
रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु श्रेयष्कर मानिन्छ । त्यसो भयो भने खर्च, समय र श्रमको बचत हुन्छ, मान्छेलाई कम दुःख हुन्छ । रोग वा समस्या आउनुभन्दा अगाडि के कसरी रोकथाम गर्न सकिन्छ भन्नेबारे पनि जानकारी विद्यार्थीलाई हुनुपर्छ । यस्तो विषयमा सम्बन्धित जानकारबाट कक्षा सञ्चालन हुनु मनासिब स्वयम् उचित छ ।
स्वस्थकर आहारविहारले नै केटाकेटीको स्वास्थ्य राम्रो हुने हो । हिजोआज चाउचाउ, बिस्कुट वा त्यस्तै पत्रु खाना (जङ्क फूड) को कारण केटाकेटीमा अनेक स्वास्थ्य समस्या देखापरेको सुनिन्छ । त्यस्ता पत्रु खानेकुराले तत्काल कुनै समस्या सृजना नगरे पनि भोलि पर्नसक्ने खरावीको बारे अहिले नै सचेत पार्ने काम सम्बन्धित जानकारले गर्नु आवश्यक छ ।
अहिलेसम्मको अनुभवमा विद्यालयका नर्सले भनेका कुरा राम्रोसँग सुनेको र कार्यान्वयन गर्ने तर्फ लागेको भन्ने प्रतिवेदन पाइन्छ । महिनावारी हुँदा प्याडको प्रयोग कसरी गर्ने र प्रयोग भइसकेको प्याडलाई सही विसर्जन कसरी गर्ने भन्ने सिकेपछि विद्यालयको शौचालय सफा भएको अनुभव पनि सकात्मक नै छ । विद्यालयमा बाहिरको प्याकेटका खानेकुरा खान कम हुँदै गएको बताइएको छ । यो पनि सकारात्मक परिवर्तन हो ।
भक्तपुर नगरको नर्सिङ सेवा
नगर कार्यपालिकाको कार्यालयले नर्स र स्वास्थ्य स्वयम्सेविका नगरका दशै वडामा खटाएको छ । बिहान ७ देखि ९ बजेसम्म घरदैलो गर्ने नर्स र स्वास्थ्य स्वयम्सेविकाको टोलीले नगरवासीको रक्तचाप परीक्षण गर्छ । मधुमेह, स्त्रीरोग, बालरोग, दम र खोकीको समस्या भएका बिरामीको निगरानी गर्ने पनि टोलीको काम हुन्छ । अशक्त बिरामीको रक्त नमुना सङ्कलनको काम पनि घरघरमा पुग्ने नर्सहरूले गर्छन् । नर्स तथा स्वास्थ्य स्वयम्सेविकाले आवश्यकीय स्वास्थ्य सल्लाह दिन्छन् । त्यतिमात्रै होइन, नगरपालिकाका नर्सहरू विभिन्न विद्यालय गई व्यक्तिगत तथा विद्यालय सरसफाइका कक्षा सञ्चालन गर्छन् । आफ्नो क्षेत्रभित्रका सर्वसाधारण र विद्यालयमा पढ्ने विद्यार्थीको स्वास्थ्य स्थितिबारे तथ्याङ्क सङ्कलनको जिम्मेवारी तिनैको छ ।
कहिलेबाट सबै विद्यालयमा सेवा ?
देशमा ३५ हजार विद्यालय छन्, यस वर्ष करिव ३०० विद्यालयमा यो कार्यक्रम लागू गरिने बताइएको छ । यस आर्थिक वर्षमा प्रदेश ३ का १२१ विद्यालयमा एक नर्स पु¥याउने बताइएको छ । बाँकी विद्यालयमा कहिले त ? पाँच वर्षभित्र सबै विद्यालयले यो सेवा विस्तार गर्ने भने तापनि सोको निम्ति दशक नै बित्ने हो कि भन्ने आशङ्का पनि छ ।
तर, एक विद्यालय एक नर्स लागू हुँदाका केही व्यावहारिक एवम् नीतिगत समस्या छन् । कति विद्यार्थीको निम्ति कति नर्स भन्ने प्रश्न स्वाभाविकै रूपमा उठ्छ । सामान्यतः तराईमा ७०० विद्यार्थी र पहाडमा ५०० विद्यार्थीबराबर एक नर्स भन्ने नीति रहेछ । अनि, २००० विद्यार्थी भएको विद्यालयलाई के गर्ने त ? कम विद्यार्थी भएको हकमा त दुई तीन विद्यालय जोडिन सक्ने भए । सबैको निम्ति सुविधा पुगोस् भन्ने हो भने विद्यार्थीको अनुपातमा नर्सको व्यवस्था गर्नुपर्ने हुन्छ ।
सङ्घीयताको सिद्धान्तविपरीत
विद्यालयहरू स्थानीय तहअन्तर्गत छन् तर विद्यालय नर्स कार्यक्रम प्रदेश सरकारको नीति निर्देशनमा सञ्चालन भइरहेको छ । कुरा गर्ने बेला स्थानीय सरकारलाई बलियो बनाउने भन्ने अनि काममा भने केन्द्रियता कायम राख्ने हो भने त्यो पनि अनमेल कुरा हुनेछ । अहिले पाइलट कार्यक्रममा कुन आधारमा विद्यालय छनोट गरेको भन्ने पनि प्रस्ट छैन । आफ्नो राजनीतिक पहुँच र आस्थाअनुसार विद्यालय छनोट गरिरहेको हो भने आगामी दिनमा कार्यक्रम असफल हुन बेर लाग्दैन ।
अब प्रश्न उठ्छ, के यी विभिन्न तहका सरकारमा तालमेल वा समन्वय छ ? सङ्घीयता लागू भएपछि स्थानीय तहलाई नै विद्यालयको जिम्मेवारी दिएपछि के फेरि राज्यका उपल्लो तहहरूले प्रत्यक्ष सञ्चालन गर्ने गरी यस्ता कार्यक्रम सञ्चालन गर्नु उपयुक्त हो ? स्थानीय तहहरू आफै जनताबीच जाने कार्यक्रम गर्न सक्छन् भन्ने सङ्घीयताको सिद्धान्तलाई किन लत्याइएको होला ? सङ्घीयता विकेन्द्रीकरणको उच्च रूप हो भने विद्यालय तहमा हुने कुनै पनि गतिविधिको जिम्मेवारी स्थानीय तहलाई सुम्पनुपर्छ । तबमात्र जनताले घर–द्धरमा सिंहदरबारको अनुभूति गर्न पाउनेछन् ।
सारमा, सङ्घीय सरकारले प्रदेश सरकारमार्फत दिएको ‘एक विद्यालय, एक नर्स’ सेवा स्थानीय सरकारमार्फत नै सञ्चालन गर्नु आवश्यक छ ।