–गोपाल नगरकोटी

यस वर्षको गाईजात्रामा ६८ टोलीको घिन्ताङगिसी रहेको छ भने ५ सत्न्दा बढी घरबाट ताहामचा र साँचा ल्याइएको बुझिएको छ । झन्डै एक दर्जन जतिको माक प्याखँ (बाँदर नाच), लाखे नाच, ख्याक, जङ्गली नाच घिन्ताङगिसीको आकर्षण बन्यो । घिन्ताङगिसीमा महिला सहभागिता बढेको छ । भैल द्योसँगै आएको घिन्ताङगिसीबाहेक बिहान १० बजेदेखि बेलुका ६ः४० बजेसम्म घिन्ताङगिसीको प्रदर्शन लगातार भइरहेको थियो । ढिलो सुरू भएको घिन्ताङगिसी, कार्टून प्रदर्शन र व्यङ्ग्य अभिनय गरिएको टोली सुरू भएकै स्थानसम्म पुग्न बेलुका ८ बजेको नाघेको थियो । घिन्ताङगिसीमा परम्परागत पोशाक लाएर नाच्नेहरूको सङ्ख्या नगण्य छ । घिन्ताङगिसीको नाचमा पनि विकृतिले छोएको छ । बाजाको तालमा खुट्टाको चाल मिलाएर नाच्नुभन्दा उफ्रने शैलीले घिन्ताङगिसीको नाच्ने पहिलको शैली कतै हराउने त होइन भनी बूढापाकाहरूले दुखेसो पोखेका छन् ।
घिन्ताङगिसीको हरेकजसो टोलीमा घिन्ताङगिसी नाच्नेहरूको सङ्ख्या तुलनात्मक रूपमा बढेको छ । घिन्ताङगिसीको नाचमा मात्र होइन हेर्ने दर्शकहरूको सङ्ख्या पनि कम्तीको छैन । घिन्ताङगिसी ल्याइने रूटको बजारको पेटी–पेटीमा हेर्ने दर्शकहरू भरिएका छन् । एउटै घिन्ताङगिसीको नाच्ने टोलीमा ८०÷८० जोडीसम्म रहेको छ । गाईजात्रा नेवारहरूको पर्व भए पनि घिन्ताङगिसीमा गैरनेवारहरूले पनि भाग लिएका छन् । केही टोलीमा पर्यटकहरू पनि साथमा साथ मिलेर नाचेका थिए । घिन्ताङगिसीमा भक्तपुर नगरबाहेक मध्यपुर, चाँगुनारायण, सूर्यविनायकबाट पनि घिन्ताङगिसी ल्याइएका छन् ।
गाईजात्रामा घिन्ताङगिसीबाहेक साँढेको मूर्ति खटमा राखेर र शिव–पार्वतीको भेषमा घुमाउनेको सङ्ख्या पनि कम छैन । ब्याण्डबाजा र विशेषगरी महिलाहरूको भजन मण्डलको सङ्ख्या यस वर्ष बढेको दर्शकहरूको भनाइ रहेको छ । घिन्ताङगिसीको बोलको बाजाको स्वरले भक्तपुर नगर गुञ्जिएको थियो । सारमा घिन्ताङगिसीले मनोरञ्जन दियो, नाच्ने र हेर्नेहरूको सङ्ख्या त बढ्यो तर नाचगानको शैलीमा विकृति देखियो । केही अश्लील दृश्य र अभिनयहरू देखिए । जात्रामा अश्लील दृश्य र अभिनयभन्दा शिक्षामूलक या चेतनामूलक सन्देश बाँड्नु बुद्धिमानी हुनेछ ।