भर्खरै :

वैदेशिक रोजगारीका सामाजिक दुष्प्रभाव

वैदेशिक रोजगारीले नेपाली समाजमा पारिरहेको प्रभाव कसैसामू लुकेको छैन । विशेषतः नेपालीको ग्रामीण तथा पिछडिएको समाज र समुदायबाट प्रत्येक दैलोबाट वैदेशिक श्रमका लागि युवा छोराछोरी फूलमाला लगाएर निस्केका छन् । यसरी विदेशिएका नेपाली युवाले आफ्नो समाजमा कुनै न कुनै सकारात्मक र नकारात्मक प्रभाव पारेको हुन्छ । विदेशमा काम गर्ने छोराले पठाएको पैसा आमाबुबाले राख्ने वा बुहारीले राख्ने भन्ने विवादले धेरै नेपाली समाजका लागि वैदेशिक रोजगारीबाट नेपाल भित्रिने पैसा पारिवारिक विखण्डनको कारण बनेको छ । विदेशमा श्रीमान् वा श्रीमतीले मिहिनेत गरी कमाएको पैसा यता नेपाल बसेको श्रीमान् वा श्रीमतीले फजुल खर्चमा उडाएको घटना बिरलाकोटी होइन । लोग्नेले विदेशमा हुँदा कमाएको पैसा आफ्नो हातमा पारेर श्रीमती बेपत्ता भएको र श्रीमान्ले अर्को विवाह गरेका घटना पनि गाउँघरमा नियमितजसो सुनिने खबर बनेको छ । परिवारको नाममा भएका केही पुख्र्यौली सम्पत्ति बेचबिखन गरेर विदेशमा गएको युवकले उतै ज्यान गुमाउँदा यता परिवारले भोग्नुपरेको आर्थिक र सामाजिक प्रभाव नेपाली समाजको यथार्थ हो ।
कुनै बेला बेलायत र भारत सेनामा गोर्खाली फौज बनेर नेपाली युवाहरू विदेशिने परम्पराको शिलशिला वैदेशिक रोजगारीको नाममा अहिले पनि कायम छ । हिजो निश्चित जाति र क्षेत्रका युवक विदेशमा सेना बन्न जान्थे भने आज नेपाली समाजको सबभन्दा सीमान्तमा रहेका परिवारका छोराछोरी पनि नयाँ युगको गोर्खा भर्तीकेन्द्रमा सामेल भइरहेका छन् । हिजो नेपाली युवकहरू रोजीरोटीको लागि विदेशीको दासता भोग्न बाध्य थिए । वियोगको समयमा आँसु झार्ने आँखा थोरैमात्र थिए । आज वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको अचाक्ली सङ्ख्यासँगै वियोगमा रुने आँखाहरू पनि अनगिन्ती बनेका छन् । यसले नेपाली समाजको पीडालाई अझ गहिरो बनाइदिएको छ ।
सुगौली सन्धिपछि गोर्खा भर्तीकेन्द्रको थालनी भयो । राणाले बेलायतको पक्षमा नेपाली युवाहरूलाई विदेशी भूमिका लडाएर आफ्नो शासन टिकाए र आफ्नो दुनो सोझ्याए । त्यसलाई आजसम्मका सत्ताहरूले निरन्तरता दिंदै आएका छन् । आज वैदेशिक रोजगारीको नाममा अझ धेरै नेपाली युवाहरूलाई विदेशमा बेचेर आफ्नो सत्ता जोगाइरहेको छ ।
विदेशमा युवा जनशक्ति निर्यात गरेको जगमा उभिएको नेपाली अर्थतन्त्रमा जबसम्म आमूल परिवर्तन हुँदैन, तबसम्म देश न समृद्ध हुनेछ, न विकास नै हुनेछ । नेपाली जनताको जीवनस्तर रेमिट्यान्सको पैसाले कहिल्यै पनि उकासिन सक्दैन । रेमिट्यान्सले नेपाली जनताको जीवनस्तर उकासिने हुँदो हो त आजसम्म नेपाली समाजको मुहार अर्कै भइसक्थ्यो । तर, भएन र कहिल्यै पनि हुँदैन । आफ्ना युवाहरूलाई विदेशमा निर्यात गरेर संसारका कुनै पनि देश आजसम्म विकास भएको उदाहरण छैन । वैदेशिक रोजगारीले नेपाली समाजलाई विकृति र मूल्यमान्यतामा ¥हासबाहेक केही दिएको छैन । समाजमा नयाँ नयाँ समस्या देखिएका छन् । ती समस्या समाधान सरकारको न चासो बनेको छ वशको कुरा नै हो ।
संसारका भौगोलिकरूपमा साना देशले पनि आफ्नो विकास इज्जतका साथ गरिरहेका छन् । राजनीतिक नेतृत्वमा स्वाभीमान र स्वाधीनताको भावनाले नै ती देशहरूले अनेकन प्रतिकूलता सामना गरेर पनि जनतालाई गर्विलो उचाइमा पु¥याएका छन् । नेपाली राजनीतिक नेतृत्वमा निकै गहिरो गरी गडेको पराधीनताको सोच नै वैदेशिक रोजगारीको बाध्यता र त्यसले निम्त्याएको सामाजिक समस्या झेल्न बाध्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *