भर्खरै :

प्रतिगामी कदम अस्वीकार्य

– शिवहरि दुलाल
कमल थापाको नेतृत्वमा रहेको राप्रपाले राजालाई फर्काउने प्रयास गर्नु अस्वाभाविक होइन । राजाभन्दा राजावादीहरूकै कारण राजतन्त्र अन्त्य भएको हो । राजतन्त्र फर्काउने प्रयास जसले गरे पनि त्यो सम्भव छैन । कुनै दलले प्रयास गरे हाल पूर्वराजाले पाउँदै आएको स्थान पनि गुम्न के बेर ! यस अर्थमा राजाको गुणगान गर्ने सामन्तवादी कुनै पार्टीले राजा फर्काउने प्रयास गर्नु व्यर्थै हुन्छ । बरु राजतन्त्रको बाटो छोडेर समयसँगै प्राप्त हक र अधिकारको प्रयोग गर्दै बहुमत जनताको सेवामा लाग्नु नै बुद्धिमानी हुनेछ ।
नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशमा प्रवेश गरिसकेको छ । प्रतिगामी कदम चालेर फेरि सामन्ती शासन ल्याएर सामन्तहरूको सेवा गर्ने काम कुनै हालतमा ठीक होइन । त्यो कदम सफल पनि हुँदैन, जनताले साथ पनि दिँदैनन् । पूर्वराजा गएको स्थानमा दुई तीन दर्जन युवाहरूले ‘राजा आउ देश बचाऊ’ को नारा उठाएर फेरि राजतन्त्र आउँदैन । पूर्वराजाले पनि ‘राजा आउ देश बचाऊ’ को नारा लगायो भनेर गर्व गर्ने होइन । विगतमा राजाभन्दा राजावादीहरूको गुणगान र सल्लाहमा फसेकै कारण राजतन्त्र अन्त्यमा सहयोग पुगेको हो । संवैधानिक राजतन्त्रको व्यवस्था भइसकेपछि राजाले प्रत्यक्ष शासन गरेकै कारण आन्दोलन चर्केको हो, गाउँ–गाउँ र बस्ती बस्तीबाट जनता आन्दोलनमा उत्रेका हुन् । आन्दोलनमा उचाइमा पुग्यो, जनदबाब बढ्यो र राजाले बाध्य भएर आत्मसमर्पण गरे, जनतासामु झुके । देशमा प्रजातन्त्र पुनः स्थापना भएको घोषणा गर्न राजा बाध्य भए । अन्तत ः पछि गणतन्त्र स्थापना भयो ।
देशमा गणतन्त्र आए पनि प्रजातन्त्रवादी र कम्युनिस्ट भनिने सरकारले जनताको चाहनाअनुसार काम गर्न नसक्नु सरकारको कमजोरी हो । सरकारले देश र जनताको हितभन्दा दलगत र व्यक्तिगत स्वार्थ हेर्नु अर्को पाटो हो । त्यसको विरोध गर्नुपर्छ, सरकारलाई खबरदारी गर्नुपर्छ । सरकारको कमजोरी भयो भनेर त्यसको विकल्प राजतन्त्र खोज्नु उचित होइन । कम्युनिस्टहरूको प्रभाव बढ्दै गएको यो देशमा कम्युनिस्टको सिद्धान्त र विचार गाउँ–बस्तीमा पु¥याउने र सोही सिद्धान्त र विचारलाई सरकारले क्रमशः कार्यान्वयन गर्दै जानु उपयुक्त हुन्छ । कम्युनिस्टबाहेकका अरु दल पनि देश र जनताको सेवा गर्न अघि सर्नुपर्छ, अघि सरेर देश र जनताप्रति समर्पित हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *