भर्खरै :

‘दरबारको दुःखान्त’ ले कोरेको नेपालको राजनीतिक तस्वीर

नरेन्द्र
आजभन्दा झन्डै १८ वर्ष अगाडि भएको दरबार हत्या काण्डबारे एकपछि अर्को रहस्य खुल्दै छ । राजपरिवार र दरबारसँग अत्यन्त नजिक बसेर वर्षौँ काम गर्ने व्यक्तिहरूका अनुभव तथा अनुभूति क्रमशः प्रकाशित हुँदै छन् । पछिल्लो पुस्तक ‘दरबारको दुःखान्त’ ले पनि राजतन्त्र, राजपरिवार र दरबारबारे केही महत्वपूर्ण जानकारी जनसमक्ष ल्याएको छ । साथै देशको तत्कालीन राजनीतिक परिदृश्य, हानथाप र शक्ति तथा स्वार्थको टकरावबारे थप प्रस्ट पार्ने प्रयास पुस्तकका लेखक सुन्दरप्रताप रानाले गरेका छन् । सत्र वर्षसम्म राजा, राजपरिवारको सेवामा जुटेका र राजपरिवारलाई नजिकबाट नियालेका रानाले तयार पारेको पुस्तक मूलभूतरूपमा राजपरिवार र दरबारको सेरोफेरोमा घुमे तापनि तत्कालीन राजनीतिक आरोह–अवरोह, छिमेकी मुलुक भारतको नेपाल नीति र त्यसको प्रभाव, नेपाली शासक वर्गको मनोदशा आदिबारे केही बुझ्न यो पुस्तक सहयोगी सिद्ध हुने देखिन्छ ।
दरबार हत्याकाण्डलाई मूल विषयवस्तु बनाएर त्यसैको बारे केही उद्घाटित र केही अनुद्घाटित प्रसङ्ग, घटना र पात्र पेश गर्ने अभिप्रायले यो पुस्तक तयार पारिएको अनुमान लगाउन सकिन्छ । हत्याकाण्डसम्म पुग्नुभन्दा अगाडिको पृष्ठभूमि, काण्ड हुँदाको भयावह क्षण, काण्डपश्चात्का घटनाक्रमबारे सजीव शैली र सिलसिलेवार तरिकामा लेखकले प्रस्तुतीकरण दिएका छन् । यद्यपि लेखक राना आफ्नो सेवा अवधिको क्रममा कुनै निर्णायक तहमा थिएनन् तर आफ्नो जानकारी, व्यावहारिक ज्ञान तथा खुबी र अनुभवको आधारमा कुनै पनि घटना–परिघटनाबारे सटिक विश्लेषण गर्ने क्षमता राख्छन् । उनको साहस तथा व्यक्तित्वको प्रभाव विभिन्न समय र प्रसङ्गमा विविध विषयमाथि गम्भीर ढङ्गमा परेको पुस्तक पढ्दै जाँदा अनुभूत हुन्छ । दरबार हत्याकाण्डबारे प्रकाश पार्ने प्रयत्न गरिए तापनि अझै धेरै कुरा रहस्यको गर्भभित्रै हराइरहेको अनुभव हुन्छ ।
धेरै प्रश्नहरू यस पुस्तकले पनि उठाउने यत्न गरेको तर ती अनुत्तरित अवस्थामै छोडिएका छन् । सम्भवतः लेखकको तत्कालीन कार्यक्षेत्र तथा जिम्मेवारीको सीमितताले गर्दा सम्पूर्ण कुरा थाहा पाउन या बाहिर ल्याउन उनी असमर्थ भए । तर, उनले प्रत्यक्ष–परोक्ष ढङ्गमा प्रस्तुत गरेका तर्क, तत्कालीन परिवेशको प्रस्ट चित्र, देशी–विदेशी शक्तिहरूको क्रिया–प्रतिक्रियालाई आधार मानेर सत्य–तथ्यको नजिक पुग्न सकिने सम्भावना प्रवल बनेको छ । राजा र राजपरिवारका सदस्यहरूको शील–स्वभाव, मानवीय गुण–अवगुण, जीवनशैली, पारिवारिक कलह, आपसी सम्बन्ध आदिबारे सच्चाइ प्रस्ट्याएर राजा कुनै देवता होइनन् न त कुनै अद्भूत दैवीशक्तिले युक्त नै हुन्छन् भन्ने मान्यतालाई थप बल प्रदान गर्न खोजिएको हो कि भन्ने अनुभव हुन्छ । राजा र राजपरिवारको चिन्तनशैली र पारिवारिक जीवनबारे बताएर गणतन्त्र स्थापनापश्चात्का शासकहरूको मनस्थिति, विलासिता मोह, सामन्ती संस्कार, हुकुमी शैलीसँग तुलनात्मक अध्ययन गर्न सहज भएको पाठकले अनुभव गर्ने निश्चित छ ।
यस पुस्तकले विशेषगरी वि.सं २०५८ जेठ १९ गतेको दिन तत्कालीन राजा वीरेन्द्रको वंश नै विनाश हुने गरी भएको दरबार हत्याकाण्डको केस्रा–केस्रा केलाउन र सार्वजनिक गर्न खोजेको प्रस्ट हुन्छ । त्यस रात दरबारमा घटना घट्दा वरपर नै उपस्थित भएका र घटिसकेपछि सक्रियतापूर्वक उद्धार कार्यमा संलग्न एक जिम्मेवार व्यक्तिका नाताले लेखक रानाले पुस्तकको पहिलो अध्याय ‘त्रासदीका तीन दिन’ मा प्राथमिकताका साथ घटना विवरण पेश गरेका छन् । मृत्युको मुखमा पुगिसकेका राजा वीरेन्द्रलाई एक पाश्र्ववर्ती अथवा राजाका एक बडिगार्डको हिसाबले ज्यान जोगाउन के–कसरी सम्भव भएजति प्रयास गरियो र राजपरिवारको अन्तिम संस्कारसम्मको क्षण भन्नेबारे बेलीविस्तार यस अध्यायमा पाइन्छ ।
राजदरबार हत्याकाण्डको रातबारे वर्णन गर्ने क्रममा शोकको घडीमा खतराको घण्टी बजिरहेको पुस्तकमा यसरी खुलासा गरिएको छ– ‘त्यस्तो अवस्थामा भारतीय सेना काठमाडौँमा उत्रिन ठिक्क परेर बसेको खबर आयो । आफ्नो घनिष्ठ छिमेकी मुलुकमा अकल्पनीय आपत् आइपरेकाले सबैखाले सहयोग गर्न आफूहरू तत्पर रहेको सन्देश भारतीय पक्षबाट आएको थियो । यो सकारात्मक वा नकारात्मक दुवै अर्थमा हेर्न मिल्ने कुरा थियो ।’ भारतको उच्च तहबाट आएको त्यो सैन्य सहयोगको प्रस्तावको अन्तर्य बुझ्न जरुर गा¥हो होइन । त्यस घटनाले भारतको नियत र मनसाय प्रस्ट पार्छ । त्यो त्रासदीपूर्ण रातमा अर्को भयानक दुर्घटना अत्यन्त नजिक आइरहेको देख्ने र बुझ्नेहरूको मनमा अझै शान्ति नहुनु स्वाभाविक हो । मित्र र छिमेकी चिन्ने भनेको सङ्कटमा भनिएको वास्तवमा अनुभवको आधारमा हो ! निःसन्देह त्यो व्यवहारसिद्ध ज्ञान हो ।
राजा वीरेन्द्रको अन्तिम संस्कारमा जुटिरहँदाको क्षणलाई लेखक राना यसरी चित्रण गर्छन्–‘त्यस क्षण म बडो विस्मित थिएँ । जिउँदो छँदा केही कुराको अभाव नहुने सर्वशक्तिमान् राजालाई मरेपछि एक टुक्रो रामनामी वस्त्रसमेत राम्रोसँग जुटेन । नियति ! दुनियाँमा मेरो भनेर भागदौड गर्नु कति निरर्थक रहेछ भन्ने वैराग्य उत्पन्न भयो मेरो मनमा ।’ नेपाली खान्दानी वर्गको प्रवृत्ति चित्रण गर्दै राना अगाडि भन्छन्–‘……..यता शवयात्रामा आएका मान्यजनचाहिं चित्तामा आगो दन्किन थालेपछि विस्तारै लाखापाखा लाग्न थाले । भीड विस्तारै पातलिँदै गयो । यो संसारबाट बिलाउँदै गरेका राजारानीको छेउमा केही कर्मचारीमात्र बाँकी रहे । मौसूफ जिउँदो छँदा अघिपछि लागेर ताबेदारी देखाउन पल्केकाहरूको नाकमुख त्यहाँ देखिएन । त्यस क्षण मलाई महावैराग्यले छोप्यो, मानिसको छुद्रपन र स्वार्थी वृत्ति देख्दा दिक्क लाग्यो ।’ नेपाली समाजको मनोविज्ञान यहाँ प्रस्ट्याउन खोजिएको अनुभव हुन्छ ।
पुस्तकको दोस्रो खण्ड ‘नयाँ यात्रा’ र तेस्रो खण्ड ‘सम्झनाका छाया’ मा २०४१ चैत्त १ गतेदेखि राजदरबारमा पाश्र्ववर्तीको जिम्मेवारी लिएर प्रवेश गर्दाको क्षण, त्यसपछि बटुलेका प्रारम्भिक अनुभव, तालिम आदिबारे वर्णन गरिएको छ । राजाका पुत्र दिपेन्द्रको स्वभाव, दैनिक गतिविधि र प्रारम्भिक हुर्काइबारे चर्चा गर्दै राजपरिवारको कमजोर बिन्दुतर्फ औँल्याउन खोजिएको प्रतीत हुन्छ । साथै लेखक राना आफूले लिएको कठिनभन्दा कठिन तालिम तथा साहसिक कार्य र त्यस क्रममा हासिल गरेका अनुभव तथा उपलब्धिबारे यी खण्डमा क्रमशः बताउँछन् । देश–विदेश पुगेर प्राप्त सैन्य तालिमबारे उनी रोचक ढङ्गमा चर्चा गर्छन् ।
‘शाही सरकार’ खण्डबाट राजा र राजपरिवारको सौख, पारिवारिक वातावरण तथा दिनचर्याबारे जानकारी मिल्छ ।
‘मैले चिनेका महाराज’ ले राजा वीरेन्द्रलाई चिन्न–चिनाउन सहयोग पु¥याउने छ । यस पुस्तकमा बारम्बार चर्चा गरिएअनुसार राजा वीरेन्द्र सादा, सरल, शान्त जीवनशैली मन पराउँथे र स्वदेशमै उत्पादन गरिएका सामग्री दैनिक जीवनमा उपभोग गर्नमा अभिरुचि देखाउँथे । हेटौँडा कपडा उद्योग स्थापनापश्चात् त्यहीँबाट उत्पादित वस्तु राजाले प्रयोग गर्न थालेको, अप्ठ्यारो नमानी पुराना चिजबिज प्रयोग गरेको जस्ता पुस्तकमा उल्लिखित प्रसङ्गले हालका शासकसँग तुलना गर्न करै लाग्छ । लेखकले ‘ठूला गाडी हिँड्ने बाटो खोई नेपालमा ?’ भन्ने सोच राख्ने राजा र ‘अचेल राज्यकोषबाट महँगा महँगा गाडी’ झिकाई चढ्ने शासकहरूसँग तुलना गरेका छन् ।
रानी ऐश्वर्यको स्वभाव र कार्यशैलीबारे केही जानकारी मिल्छ ‘…..म पाइला बनी पछ्याइरहन्छु’ बाट । लेखक रानाको नजरमा रानी ऐश्वर्य स–साना पक्षमा समेत ध्यान पु¥याउने, व्यावहारिक ज्ञान दिन अघि सर्ने, राजाको निम्ति आवश्यक बन्दोबस्त अभिरुचिपूर्वक गर्ने तर छोरा–छोरीलाई छूट नदिने र निगरानीमा राख्ने खालकी थिइन् । छोरा दीपेन्द्रप्रति धेरै पटक कडा ढङ्गमा प्रस्तुत भएका प्रसङ्ग यहाँ उल्लेख छन् । उनी धार्मिक मामिलामा पनि अत्यन्तै कट्टर थिइन् भन्ने उदाहरण लेखकले ठाउँ–ठाउँमा प्रस्तुत गरेका छन् । तर उनले एक असल आमाको भूमिका निर्वाह गरिन् या गरिनन् भन्नेबारे त्यति प्रस्ट पारिएको छैन ।
‘हार्न नजान्ने राजकुमार’, ‘जब युवराजको हात पोल्यो’ र ‘दिदीभाइ र दाइ’ ले राजदरबारभित्र बालबच्चाहरूको लालनपालन तथा हुर्काइबारे बताउँछ । राजाका सन्तानहरूमा जिद्दी स्वभाव, घमण्डी भावना कसरी विकसित हुन्छ भन्नेबारे घटित घटनाहरू प्रस्तुत गर्दै पुस्तकमा लेखक रानाले दरबार बाहिरबाट देखिने र भित्र गएर अनुभव गरिनेमा धेरै फरक हुने अनुभव प्रस्तुत गरेका छन् । विशेष गरी राजकुमार दिपेन्द्रमा क्रमिक स्वभावगत समस्या कसरी झाङ्गिइँदै गयो भन्ने प्रस्तुतीकरण यी खण्डमा पाइन्छ । दीपेन्द्र उपद्रयाहा बन्नु पछाडि आमा–बुबा, दरबारिया वातावरण, सर–सङ्गत आदिको के–कति दोष छ भन्नेबारे बुझ्न यी खण्डले सहज बनाउनेछ । राजाका सन्तान बिगार्न बाह्य तत्व या शक्तिको कस्तो भूमिका हुन्छ भन्नेबारे अनुमान लगाउन यी खण्डले सहयोग पु¥याउनेछ ।
‘देश–दृष्टि’ खण्ड यस पुस्तकका अत्यन्त महत्वपूर्ण खण्डमध्ये एउटा हो । राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका उथलपुथल र नेपालमाथि परिरहेको भारतीय प्रभाव, पञ्चायती व्यवस्थाले झेल्नुपरेको कठिन परीक्षाको घडी आदिबारे यस खण्डमा छलफल गरिएको छ । राजा वीरेन्द्रको राज्याभिषेक वरपर नै बङ्गलादेशको उदय, सिक्किमको विलय र भूटानको स्वाधीनतामा सङ्कट आदि फेरबदल छर–छिमेकमा देखापर्दै थिए । राजाद्वारा शान्ति क्षेत्रको प्रस्ताव र भारतको अस्वीकृति, जनमत सङ्ग्रह, सत्याग्रहदेखि छयालिस सालको जनआन्दोलनसम्म यस खण्डको चर्चाका विषयवस्तु हुन् । राजा वीरेन्द्र कसैलाई पैसा, लोभले फकाउन सकिन्न बरु मान्छेले आस्थाको आधारमा काम गर्नेमा विश्वास राख्ने व्यक्ति भएको लेखक राना यस खण्डमा बताउँछन् । राजा वीरेन्द्रले धीरेन्द्र शाहमार्फत आन्दोलनरत ‘माओवादी’ सँग कुराकानी अगाडि बढाएको प्रस्ट पारिएको छ ।
‘तीन–घुम्ती’ एउटा गम्भीर सवालका साथ सुरु हुन्छ–‘मेरो मनमा कहिलेकाहीँ प्रश्न उठ्छ, राजा वीरेन्द्र छिमेकी भारतको इशाराअनुसार चल्ने राजा भएको भए के हुन्थ्यो होला ?’ यस खण्ड नेपाल–भारत सम्बन्ध, नेपाली राजनीतिमा भारतको छाया र भारतको नेपालमाथि गिद्धे–दृष्टिको वरपर घुम्छ । तत्कालीन राजा, प्रधानमन्त्रीहरूलाई प्रम नेहरूले अनेकौँ पत्र पठाएर नेपालको परराष्ट्र एवम् रक्षा मामिला भारतले हेर्न चाहेको प्रस्ट ढङ्गमा सङ्केत गरेको समेत उजागर गरिएको छ । वि.सं २०२७, २०४५ र २०७२ मा भारतद्वारा थोपरिएको नाकाबन्दीबारे पनि चर्चा गरिएको छ । भारतीय शासक वर्गसँग नेपालको दरबारको असमझदारी, ती दुईबीच बढ्दै गइरहेको तनाव र संवादविहिनताको स्थितिबारे यहाँ चित्रण गरिएको छ । तत्कालीन परिस्थितिमा भारत नेपालविरुद्ध युद्ध छेड्ने मनस्थितिमा पुगिसकेको बुझाइका साथ ‘चीनसँग विमानभेदी हतियार किन्ने निर्णयमा दरबार पुगेको’ लेखक बताउँछन् । ‘भारतीय युद्धक विमानहरू हाम्रो हवाई क्षेत्र अतिक्रमण गर्दै अनाधिकृत ढङ्गबाट नेपाली आकाशमा पस्न थालेको’ परिस्थितिमा ‘कुनै अनाधिकृत विमान आफ्नो सीमाक्षेत्रमा प्रवेश गरेको पूर्वसूचना दिने राडार’ खरीद गरिएको रानाले यस पुस्तकमा उल्लेख गरेका छन् । उनी भन्छन्–‘चीनबाट ल्याइएका ती विमानभेदी अस्त्रहरूलाई महाराजाधिराज सरकारको प्रत्यक्ष निर्देशनमा नगरकोट, फुल्चोकी र शिवपुरीका डाँडाहरूमा जडान गरिएको थियो ।’ भारतले राजासँग लेनदेनको प्रस्ताव धेरै पटक विविध माध्यमबाट पठाएको तर स्वीकार नगरिएको बरु वि.सं २०४६ को आन्दोलनमा नेपाली राजनीतिक पार्टीसँग सम्झौता गरिएकोबारे व्याख्या गरिएको छ । यी घटना, उदाहरण या परिस्थितिले भारतीय शासक वर्गको स्वार्थ, नियत प्रस्ट पार्छ । दरबार हत्याकाण्ड हुनुभन्दा झन्डै एक दशक अगाडिका यी घटनाक्रमलाई कसरी बुझ्ने ? हत्याकाण्डसँग के यी सम्बन्धित छन् या छैनन् ? बदला या प्रतिशोधको सिलसिला जारी भयो या भएन ? यी र यस्ता प्रश्नको उत्तर खोजबिन गर्नुपर्नेबारे छलफल हुनु स्वाभाविक हो । यी प्रश्नप्रतिको उदासिनताबाट इतिहासमाथि न्याय हुन नसक्ने स्पष्ट छ ।
‘संवैधानिक राजा’ खण्डमा राजा वीरेन्द्रको सक्रिय राजतन्त्रको अन्त्यपश्चातको जीवनशैली एवं गतिविधिबारे चर्चा गरिएको छ ।
‘कोइराला, माओवादी र मदन भण्डारी’ खण्डमा ‘माओवादी’ द्वन्द्व सुरु भएदेखि त्यसको उत्कर्षबारे छलफल गरिएको छ । प्रम कोइरालाले ‘माओवादी’ विरुद्ध सैन्य परिचालनको प्रस्ताव राखेतापनि राजा वार्ताको माध्यमबाट राजनीतिक समस्याको समाधान निकाल्ने पक्षमा उभेको प्रस्ट पारिएको छ । ‘अब दरबार चुप लागेर बस्न हुन्न ।’ भन्ने जस्ता उत्तेजनापूर्ण अभिव्यक्ति दरबारभित्रै आइरहँदा सैनिक उपाय पनि असफल भए कुन शक्ति प्रयोग गर्ने भन्ने राजाको तर्क रहेको बताइएको छ । राना लेख्छन्–‘दरबार हत्याकाण्ड हुनुभन्दा केही साताअघि धीरेन्द्रमार्फत दरबार र माओवादीबीच बाक्लै संवाद भएको थियो ।’
‘छिमेकतिर बढेका कदम’ मा भारत र चीनसँगको मित्रता अझ प्रगाढ बनाउन चालिएका कदम, कूटनीतिक प्रयासबारे चर्चा गरिएको छ । ‘एउटा बिहे जो हुन पाएन’ले राजनीतिमा विषकन्याको प्रयोगको प्रसङ्गलाई सतहमा ल्याएको अनुभव हुन्छ ।
‘बुद्धसामु चलेको बन्दुक’मा जेठ १९ को घटनाबारे थप छलफल गर्दै त्यस घटनाको थप छानबिन हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । ‘बुद्धसामु चलेको बन्दुक’ ले केही गम्भीर सवाल तेस्र्याउँछ । राना लेख्छन्–‘घटनाक्रम हेर्दा त्यतिन्जेल दीपेन्द्र सरकारको व्यवहार सामान्य र स्वाभाविक नै देखिन्छ । त्यसको केही समयपश्चात् तिनै युवराजबाट कसरी अकस्मात् आम संहार हुन पुग्यो ?’ अर्को अनुत्तरित प्रश्न उनी राख्छन्–“नशा लागेर बेहोस जस्तो देखिएका युवराज केही क्षणमै कपडा फेरेर पूरै ‘अलर्ट’ भई सशस्त्र तयारीका साथ निस्कन कसरी सम्भव भयो ?”
‘के त्यो षड्यन्त्र थियो ?’ मा दरबार हत्याकाण्ड कुनै आकस्मिक घटना या व्यक्ति विशेषको सनकको परिणति होइन भन्न मिल्ने जिकिर गरिएको छ । नागरिकता विधेयकप्रति राजाको असहमति, नेपाली सेनाको लागि हतियार खरिद गर्ने सवाललाई लिएर देखिएको मतभेद, हतियार कम्पनीका ‘इन्ट्रेस्ट ग्रुप’ हरूको चलखेल, दीपेन्द्रलाई उत्तेजित बनाउँदै हिँड्ने तत्वको सक्रियताको आशङ्का आदिले त्यो घटना क्षणिक आवेशको परिणाम हुन नसक्नेतर्फ इङ्गित गर्छन् । राना यहाँनिर संवेदनशील विषय उप्काउँछन्–‘त्यसबेलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति, राजाले लिइबक्सेका विभिन्न अडान आदिको समीक्षा गर्दा युवराजलाई यस्तो घटना गराउन कसैले उत्पे्ररित गरिरहेको थियो कि ?’
पुस्तकका अन्तिम दुई खण्ड ‘सरी सुन्दर ।’ र ‘नारायणहिटी, १६ वर्षपछि’ ले दरबारमा लेखकले बिताएका १७ वर्षको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै विशेष गरी भावनात्मक पक्ष उजागर गर्छ । विगतको स्मृतिका पत्र पल्टाउँछ । पुस्तक पढ्दै जाँदा लेखकमा आफ्नो सेवा र कार्यप्रति पटक्कै पछुतो देखिन्न बरु उनी गौरव अनुभव गर्छन् । देशको राजनीति, जनताको भविष्यप्रति लेखक कति संवेदनशील छन् र कति जिम्मेवार ढङ्गमा प्रस्तुत हुन चाहन्छन् भन्ने दृष्टान्त यस पुस्तकले पेश गर्छ । लेखक रानाको माटोप्रतिको उच्च प्रेम, जनताप्रतिको आत्मीयता यस पुस्तकमा छताछुल्ल भएको अनुभव हुन्छ । एक जिम्मेवार नागरिकको आत्मस्वीकारोक्ति या सदृश्य वर्णन नै ‘दरबारको दुःखान्त’ हो भन्दा अतिशय नहोला । दरबार हत्याकाण्डको कारण र पृष्ठभूमि बुझ्न यस पुस्तक एक महत्वपूर्ण सामग्री बन्नेमा शंका छैन । तत्कालीन प्रमुख शाही पाश्र्ववर्ती सुन्दरप्रताप राना यस कृतिका निम्ति बधाइका पात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *