भर्खरै :

प्रधानमन्त्रीलाई के भयो ?

 साता दिनकै अन्तरालमा प्रधानमन्त्री केपी ओली उपचारको लागि सिङ्गापुर जानुभयो । अघिल्लो पटकको सिङ्गापुर भ्रमणपछि ओलीको स्वास्थ्य अवस्थाबारे कुनै आधिकारिक जानकारी नेपाली जनतालाई दिइएको छैन । संसद्मा गरेको सम्बोधनमा प्रधानमन्त्रीले ‘डाक्टरले अझै २०–२५ वर्ष केही हुँदैन भनेका छन्’ भन्नुभयो । तर, सिङ्गापुरमा के कस्तो उपचार भयो र एक साताकै अन्तरमा उहाँ किन सिङ्गापुर जानुप¥यो भन्नेबारे नेपाली जनता अनविज्ञ छन् । मङ्गलबार आयोजित पत्रकार भेटघाटमा चिकित्सक डा. सुन्दरमणि दिक्षितले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नेपाली जनतालाई जानकारी दिन माग गर्नुभयो ।
ओली देशका प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था उहाँको निजी विषयमात्र होइन । नेपाली जनताले आफ्नो प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकार हुने हक राख्छन् । देशका सर्वोच्च कार्यकारी पद सम्हालेका सर्वशक्तिमान व्यक्ति हप्तादिनमा दुई पटक सिङ्गापुर उपचारको लागि जानुपर्ने अवस्था के कारणले बन्दैछ भन्ने विषयमा सरकारले नेपाली जनतालाई जानकारीविहीन राख्न मिल्दैन ।
मङ्गलबार प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले नेपालमा उपचार नहुने कुन रोगका कारण प्रधानमन्त्री सिङ्गापुर गए भनी स्वास्थ्यमन्त्रीसमक्ष प्रश्न गर्नुभयो । स्वास्थ्यमन्त्रीले नेपाली चिकित्सकको परामर्शमै ओली सिङ्गापुर जानुभएको जवाफ दिनुभयो । तर, फेरि पनि प्रधानमन्त्रीको स्वास्थ्यमा देखिएको समस्याबारे केही खुलाइएन ।
ओलीको मृगौला फेरिएकोबारे नेपाली जनतालाई थाहा छ । मृगौला फेरिएको बिरामीको स्वास्थ्यको संवदेशनीलताबारे जानकार मानिसहरू प्रधानमन्त्रीको स्वास्थ्य अवस्था गुपचुप राख्नुलाई अर्थपूर्ण मानिरहेका छन् । अघिल्लो सिङ्गापुर बसाई पनि तोकिएको दिनभन्दा बढी समय ओली सिङ्गापुर बस्नुभएको थियो । सामान्यतः विदेशबाट फर्केर विमानस्थलमा पत्रकार भेटघाट गर्ने प्रचलन तोड्दै प्रधानमन्त्रीले अघिल्लोपटक पत्रकारसँग भेट्नुभएन । सरकारको प्रवक्ताले पनि यसबारे कुनै जानकारी सार्वजनिक गर्नुभएको छैन । निकै लामो समयदेखि टुङ्गिन बाँकी नेकपाको एकता प्रक्रियाका धेरै विषय टुङ्ग्याइएको छ । अनि लगत्तै प्रम फेरि सिङ्गापुर उड्नुले नेपाली जनतामा केही ‘कालो छ कि’ भन्ने आशङ्का जन्माएको हो ।
जानकारीविहीनताले आशङ्का जन्मिनु स्वाभाविक हो । आज प्रधानमन्त्रीको अवस्थाबारेको अस्वाभाविक गोप्यले त्यस्तै आशङ्का जन्माएको छ । संविधानको मौलिक हकअन्तर्गतको सूचनाको हकलाई सरकारले सम्मान गर्न जरुरी छ । सार्वजनिक पदाधिकारीको स्वास्थ्य अवस्थाबारे नेपाली जनतालाई जानकार बनाउनुपर्छ । सरकारले जस्तै भए पनि सूचना लुकाउन पाउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *