भर्खरै :

नियमित परामर्शले विद्यार्थीको शैक्षिक प्रगति सम्भव

भक्तपुर, ५ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा प्रभात इङ्गलिस सेकेण्डरी स्कूलमा प्ले गु्रपदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई बुधबार छात्रवृत्ति वितरण गरियो ।
कार्यक्रममा बिजुक्छेँले विद्यार्थीहरूले मेहनतपूर्वक अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउँदै छात्रवृत्तिले पढाइमा थप सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “विद्यालयले प्रदान गरिएको छात्रवृत्ति कारण अभिभावकहरूले राहत महसुस गरेको छ । विद्यार्थीहरूले देश र जनताको निःस्वार्थ सेवा गर्ने उद्देश्य लिनुपर्छ ।”
पढाइमा कमजोर विद्यार्थीहरूलाई नियमित परामर्श दिनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले प्रत्येक विद्यार्थीहरूको व्यक्तिगत तहसम्म ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सङ्घीय सांसद प्रेम सुवालले प्रभात सर्वसाधारण जनताका छोराछोरीलाई पढाउन खोलिएको सेवामूलक र सार्वजनिक शैक्षिक गुठीअन्तर्गत विद्यालय दर्ता भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विद्यालयले आर्थिक अवस्था कमजोर भएका, जेहेनदार र विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूका सन्तानहरूलाई छात्रवृत्ति दिँदै आएको छ ।”
सरकारमा गएका पार्टीका नेताहरू औषधि उपचारको लागि विदेश जाने क्रम बढिरहेको चर्चा गर्दै सांसद सुवालले विदेशमा गएर उपचार गर्नुभन्दा देशकै अस्पतालहरूलाई साधन–स्रोतले सम्पन्न गरी गुणस्तरीय उपचार दिने व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सरकारले कृषिमा ध्यान नदिँदा भारतबाट ठूलो मात्रामा कृषिजन्य पदार्थहरू आयात गर्नु बाध्यता रहेको उहाँले बताउनुभयो ।
जम्मु–काश्मिरमा मोदी सरकारको हस्तक्षेप अप्रजातान्त्रिक कदम भएकोले विरोध गर्दै सांसद् सुवालले भन्नुभयो, तराईको डुबान प्राकृतिक नभई भारतले एकतर्फीरूपमा बनाएका सडक बाँधका कारण भएको हो । भारतीय विस्तारदले नेपालको सीमा अतिक्रमण गरिरहेको हुँदा सचेत भई विरोध गर्नु आवश्यक छ ।”
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णबहादुर प्रजापति र शिक्षिका कञ्चना ज्याख्वले पनि बोल्नुभएको थियो । कार्यक्रममा ११६ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *