भर्खरै :

‘नयाँ मिडिया’ को दोसाँध

सामाजिक सञ्जालको सही प्रयोगबारे केही समययता नेपालमा पनि चर्चा चलेको छ । वैकल्पिक मिडिया र नयाँ मिडियाको नामले समेत चिनिन थालेको सामाजिक सञ्जाल संसारमा विभिन्न प्रयोजनको लागि प्रयोग भएका छन् । संरा अमेरिकाको व्यापारिक केन्द्र वालस्ट्रिटले अमेरिकी समाजमा बढाएको विभेददेखि अरब देशमा सत्ताविरोधी आन्दोलन उठाउन सामाजिक सञ्जालले निकै ठूलो महत्वपूर्ण भूमिका खेलेका थिए । कतिपय अवस्थामा ‘पुराना’ मिडियाले समाजमा पार्ने प्रभावभन्दा धेरै गुणा विस्तारित प्रभाव सामाजिक सञ्जालले पारिरहेको छ ।
विगतमा सञ्चारमाध्यम केही सीमित मानिसको पहुँचको विषय थियो । उनीहरूले नै सञ्चारमाध्यमलाई आफ्नो हेतु पूरा गर्न प्रयोग गर्थे । तर, प्रविधिले आज सबैलाई सञ्चारकर्मी बनाएको छ । हातहातमा सञ्चारमाध्यम पु¥याएको छ । यसले सूचनाको परिधिलाई निकै फराकिलो बनाइसकेको छ । आज मिडियाको लागि सूचनाको एउटा प्रमुख स्रोत नै सामाजिक सञ्जाल बनिरहेका छन् । सामाजिक सञ्जालले आगामी समयलाई कसरी र कस्तो प्रभाव पार्ने हो भन्ने विषय अहिले अध्ययनको विषय बनेको छ ।
सामाजिक सञ्जाल आज नेपाली समाजको पनि हिस्सा बनिसकेको छ । सहरदेखि गाउँसम्म, पढेलेखेका देखि अनपढसम्मको जीवनमा सामाजिक सञ्जाल दैनिक जीवनको हिस्सा बनिसकेको छ । ७० लाखभन्दा बढी युवा संसारका विभिन्न देशमा श्रम बेचिरहेको देशका जनताको लागि सामाजिक सञ्जाल आजको युगमा जीवनकै पाटो बन्नु स्वाभाविक हो । तथापि, सामाजिक सञ्जालले समाज र सूचनालाई जति फराकिलो बनाएको छ, समाजमा अपराध र नकारात्मकता पनि त्यत्ति नै विस्तार गरेको छ ।
अपराध अनुसन्धानको सबभन्दा प्रधान विषय नै आज–भोलि सामाजिक सञ्जाल बन्दै छ । अर्को शब्दमा सामाजिक सञ्जालमार्फत हुने अपराधको सङ्ख्या बढिरहेको छ । अनि अपराध लुकाउने र प्रोत्साहन गर्ने कामसमेत सामाजिक सञ्जालबाट हुन थालेको छ । कतिपय सन्दर्भमा सामाजिक सञ्जाल भ्रम फैलाउने माध्यम बनिरहेको छ । कतिपय अवस्थामा सामाजिक सञ्जालले न्याय प्रणालीलाई समेत प्रभावित पार्ने गरेको छ । अहिलेका सबै राज्यको लागि यस्तो विषय क्रमशः चुनौती बनेका छन् । सामाजिक सञ्जालमाथि नियन्त्रणलाई अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुशको रूपमा व्याख्या गरिने र नियन्त्रण नगर्दा समाजमा अराजकता फैलिने सम्भावना संसारका धेरै सरकारको लागि चुनौती बनेको छ ।
ट्वीटर, फेसबुक, ह्वाट्स एपलगायतका सामाजिक सञ्जालले विभिन्न देशको आन्तरिक मामिलामा हस्तक्षेप र गुप्तचरीको हतियार पनि बनेका छन् । त्यसकारण संसारका कतिपय देशमा ती सामाजिक सञ्जाललाई निषेध गरी आफ्नै सामाजिक सञ्जालको विकास गरेको छ । राज्यले सामाजिक सञ्जाललाई नियन्त्रण गर्नसक्ने अवस्था कदापि छैन । यसले आधुनिक प्रविधिलाई नकार्नु गल्ती हुनेछ । तर, फेरि सामाजिक सञ्जालमार्फत आउने अराजकतामाथि नियन्त्रण गर्न सरकार चनाखो नबनी सुखै छैन ।
सामाजिक सञ्जाललाई उपेक्षा गर्न पनि नसक्ने र तिनले जन्माएका नकारात्मक प्रभावलाई स्वीकार्न नसकिने अवस्थामा यसलाई समाज र मानव जीवनको लागि उपयोगी हुने गरी प्रयोग गर्ने विषयमा सामाजिक अन्तरक्रियाको आवश्यकता अझै परिरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *