यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नेपालको राजनैतिक वृत्तमा प्रतिगमन वा राजतन्त्रको पुनः स्थापनाको एकातिर हल्ला छ भने अर्काेतिर शासक नेताहरू थरथर काँपेर त्यसको प्रतिवाद गर्दैैछन् । के साँच्चै प्रतिगमन र राजतन्त्रको पुनः स्थापना हुँदैछ ? देशमा उत्पादनका साधन एवम् उत्पादनमा ¥हास ल्याउने तत्व र शक्तिहरू, सामाजिक र राजनैतिकरूपले जातिवादी, भाषावादी र पक्षपाति, शोषक एवम् सामन्त वर्गको पक्षपाति, अन्धविश्वासी, कामदार वर्गलाई सत्तामा ल्याउन नचाहने सबै प्रतिगामी हुन् ।
यस दृष्टिकोणले हेर्दा एमाले र माओवादी (नेकपा), नेपाली काङ्ग्रेस, राप्रपा एवम् मधेसवादी सबै शासक दलहरू प्रतिगामी र कामदार वर्गविरोधी शोषक र शासक पार्टी हुन् । ७० लाख नेपाली युवाहरूलाई विदेशी बहुराष्ट्रिय कम्पनीहरूमा सस्तो ज्यामीको रूपमा पठाएर रेमिट्यान्सको नाममा छ्वाय अर्थात् दलाली भाग खाने सरकार र शासक दलहरू नेपाली ‘गोर्खालीहरू’ मार्फत अरू देशमाथि आक्रमण गर्न बेलायती साम्राज्यवादलाई सहयोग पु¥याउने राणा शासकजस्तै हुन् ।
राजतन्त्र पुनः स्थापनाले थर्कमान भएका तथाकथित नेकपाका शासकहरू आफै नयाँ खानदानी र राजाहरू हुन् । नवराजा र राजतन्त्रकै कारणले होला प्रचण्डजी (भाइ राजा) ले ‘राजा हुन नपाएकोमा’ पार्टी एकता गरेकोमा पछुतो अनुभव गरेका र आफू ‘विकल्प’ रहित भएर पुनः विकल्पको खोजीमा हिँडेका, विरहमा कल्पेका !
अर्काे भाषामा, नेकपाको राजतन्त्रभित्रको सत्ताको लछाचुँडीको विलौना नै प्रचण्डजीको ‘पश्चाताप’ हो भने माधवजीको ‘घटुवा’ र खनालजीको ‘बढुवा’ नयाँ पजनी प्रथा हो । ‘अर्काे निर्वाचनसम्म मै हुँ प्रधानमन्त्री’ ओलीको घोषणा ! (नागरिक – २ भदौ २०७६)
काश्मीर भारत महासङ्घमा विलय ?
सिक्किमको संसद्को अत्यन्त ठूलो बहुमतले भारतमा सिक्किम विलयको निर्णय गरेको थियो । केरालाको पहिलो नम्बुदरीपादको सरकारलाई राष्ट्रपति शासन वा आपतकाल लागू गरेजस्तै आफ्नै संविधान, आफ्नै झन्डा र आफ्नै संसद् भएको काश्मीरको संसद्लाई प्रम मोदीले असंवैधानिक ढङ्गले विघटन गरे । भारतीय संसद्ले काश्मीरको विशेष अधिकार उल्लिखित भारतीय संविधानको धारा ३७० निलम्बनको घोषणा गर्नु अगाडि नै काश्मीरका मुख्यमन्त्री र सांसदहरूलगायत राजनैतिक नेता, कार्यकर्ता, व्यापारी र शिक्षाकर्मी आदिलाई हजारौँ हजार थप सेना, सशस्त्र प्रहरी र गुप्ती प्रहरी पठाएर कैद गरियो र काश्मीरलाई ठूलो कारागारमा परिणत गरियो ।
टेलिफोन, इन्टरनेट र सम्पूर्ण सञ्चार सेवा दिल्लीबाट नियन्त्रण गरियो, आवतजावत बन्द गराइयो, कफ्र्यु लगाइयो । अर्काे शब्दमा भारतीय सेना परिचालन गरी काश्मीर आफ्नो कब्जामा लियो । त्यो एक प्रकारले मौन सशस्त्र आक्रमणको माध्यमबाट काश्मीरलाई पूर्णरूपले भारतमा मिलाइयो । भारतीय काङ्ग्रेस पार्टी होस् वा भाजपा, शासक वर्गको स्वार्थ छिमेकीलाई आफैमा मिलाउने हो, त्यसको नाम विलय होस् वा आक्रमण !
पहिलो विश्वयुद्धपछि इटालीका मुसोलिनीले ‘रोमको गौरव’ फर्काउन क्याथोलिक चर्चको आशीर्वाद पाएर राष्ट्रिय एकता वा फासीवादको नारा दिए । शिव सेनाजस्तै अर्ध सैनिक दल खडा गरी दिल्लीजस्तै रोम कब्जा गरे र धर्मको नाममा छिमेकी र अफ्रिकाको अबेसिनिया कब्जा गरे, मोदीले भर्खर काश्मीर कब्जा गरे । मुसोलिनीको सिको गर्दै जर्मनीमा हिटलरले मौलिक र राजनैतिक अधिकार खोसे, दलहरू प्रतिबन्धित गरे, जेलमा थुने, जर्मन जाति पवित्र आर्य रगतले संसारलाई शासन गर्ने नैतिक अधिकारको घोषणा गर्दै षड्यन्त्रमूलक ढङ्गले छिमेकी देशहरू कब्जा गर्दै गए । आखिरमा दोस्रो विश्वयुद्ध भयो, करोडौँ जनधनको क्षति भयो ।
संरा अमेरिकाले भारत र मोदीलाई अगाडि सारी काश्मीरको पुरानो गौरव हिन्दू राज्य र हिन्दू साम्राज्यको पुनः स्थापना तथा अन्य जनजाति, भाषाभाषी, धर्म र दलितको विरोधमा अन्ध राष्ट्रवाद एवम् बडाराष्ट्र अहङ्कारवाद फैलाउँदैछ । अन्तर्राष्ट्रिय अदालतको आँखा छल्ने संरा अमेरिकाले ज्यान सजाय दिनुपर्ने फासीवादी र नाजीवादीहरूलाई विभिन्न देशमा लुकायो । तिनीहरूकै शिष्यहरूलाई भारतमा सल्लाहकारको रूपमा पठाई दक्षिण एसियामा फासीवाद र नाजीवाद भाजपाबाट लागू गराउन बेर छैन । समयमै सबैले प्रतिकार गर्नु आवश्यक छ ।
Leave a Reply