नबिर्सौँ, अर्को पक्ष !
- असार ४, २०८३
प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी जवान क्षेत्रराज तिमिल्सेना :
भदौ २४ गते अ.१२ः१५ बजे सुरुमा केही मानिसको भिड आएर प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरे । केही व्यक्तिले रड, खुकुरी, लाठी, ढुङ्गा, पेट्रोल भरेका बोतलसमेत बोकेका देखिन्थे । प्रदर्शनकारीहरूले चारैतर्फबाट ढुङ्गामुढा गरी पर्खाल तथा गेटसमेत भत्काए । त्यसक्रममा १०/१५ जना प्रहरी घाइते भए ।
अन्दाजी १४ः३० बजे कार्यालयमा रहेका हातहतियार र महत्वपूर्ण सामग्रीसहित सैनिक अस्पताल छाउनी गयौँ । प्रदर्शनकारीहरूले गरेको तोडफोड तथा आगजनीबाट कार्यालयको भवन, सवारी साधन, हातहतियार, मिसिल र कर्मचारीका लुगालगायत जिन्सी सामान जलेर नष्ट भए ।
सङ्घीय संसद् भवन सुरक्षा वेश बानेश्वरमा कार्यरत प्रहरी जवान हिक्मत वि.क.:
भदौ २३ गते लगभग ११.०० देखि १२.०० बजेको समयमा प्रदर्शनकारीहरूले संसद् भवन परिसरको पर्खाल भत्काएर प्रहरी पोस्टहरूमा तोडफोड र आगजनी गर्दै संसद् भवनभित्र प्रवेश गर्न थाले । म आफ्नो हातहतियारसहित पोस्टबाट बाहिर निस्की केही पछाडि गएँ । बाहिर ग्यासगन, गोली प्रहार भएको आवाज सुनिन थाल्यो । बेलुकातिर भिड आ–आफ्नो गन्तव्यतिर लागेपछि वातावरण शान्त भयो । सामाजिक सञ्जालहरूबाट प्रदर्शनकारीहरू घाइते भएको र मृत्युसमेत भएको जानकारी प्राप्त भयो ।
२४ गते बिहानैदेखि प्रदर्शनकारीको ठुलो समूहले संसद् भवन चारैतिरबाट घेरे । लगभग १३.०० बजे थेग्नै नसक्ने भिडले ढुङ्गामुढा, गुलेली, पेट्रोल बम प्रहार गर्दै पर्खाल फोडे । भिड खुकुरी, भाला, लाठी देखाउँदै प्रवेश गरेर संसद् भवन जलाए । सो अवस्थामा नेपाली सेनाबाट कुनै सुरक्षात्मक प्रतिक्रिया भएन ।
प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी जवान चुमान सिंह धामी :
भदौ २३ गते म थानकोट प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक एलिजा गिरीको कमान्डमा १५ जनाको टोलीसहित अं.१० बजे माइतिघर मण्डलामा खटिएको थिएँ । सो समय माइतिघरमा अ. १००० जनाजति भेला भएका थिए । भेला भएका मध्ये कतिपयले स्कूल र कलेजको पोशाक लगाएका थिए ।
अ. ११ः३० देखि १२ः०० बजे माइतिघर मण्डलामा भेला भएको भिड नयाँ बानेश्वरतर्फ अगाडि बढ्यो । भिडमा एउटा ढाला भएको पिकअप गाडीमा केही मानिस माइकिङ गर्दै थिए । त्यतिबेला भिडलाई कर्डन गर्दै लैजान हम्मेहम्मे परेको थियो । भिड एभरेस्ट होटल अगाडि रहेको ब्यारिकेडसम्म पुग्यो । सो समयमा अ. १५ हजार मानिस भेला भइसकेको हुनुपर्छ । त्यसपछि सो भिडले ब्यारिकेड भत्काउने, बोतल हान्ने, निषेधित क्षेत्र लेखिएको ब्यानरसमेत च्यात्ने काम सुरु गरे ।
केही समयपछि बुद्धनगर जाने ओरालोतर्फबाट अ. ५०–१०० जना मोटरसाइकलमा आएकाहरू भिडसँग मिस्सिएपछि भिड झनै उत्तेजित र आक्रमक हुन थाल्यो । भिड ब्यारिकेड तोडेर संसद् भवनतर्फ अगाडि बढ्यो । हामीले घुँडामुनि लाठी प्रहार गरेर तितरबितर पार्ने प्रयास ग¥यौँ । सोक्रममा घाइते प्रहरी कर्मचारीको उद्धार गर्न आइपुगेको सशस्त्र प्रहरी बलको एम्बुलेन्ससमेत केही व्यक्तिले आगजनी गरे । त्यसपश्चात् केही समयसम्म आन्दोलनकारी र हामीबिच दोहोरो भिडन्त भयो ।
भदौ २४ गते म प्रहरी वृत्त थानकोटमा खटिएको थिएँ । अन्दाजी १५ः०० बजे हाम्रो कार्यालय भवन अगाडि अ. ४ देखि ५ हजार मान्छे जम्मा भएर नाराबाजी गर्दै ढुङ्गामुढा, पेट्रोल बम प्रहार गर्ने काम भयो । अ. १६ः३० बजेको समयमा कार्यालयभित्र प्रवेश गर्न खोजेपछि हामीले बाहिर लखेट्ने काम ग¥यौँ । त्यसपछि दुई वटा मोटरसाइकलबाहेक कार्यालयको सवारी साधन, हातहतियार र गोलीगठ्ठासहित नेपाली सेनाको शिक्षालयमा पुगी बस्यौँ ।
प्रहरी वृत्त सिंहदरबार काठमाडौँमा कार्यरत प्रहरी जवान बखत गिरी :
भदौ २३ गते म बिहान अन्दाजी ०९ः३० बजेदेखि नै माइतिघर मण्डलामा खटिएको थिएँ । सो समयमा अन्दाजी ४००० जना युवायुवतीको भिड बानेश्वरतर्फ बढ्यो । साँझतिर हामीले लाठीचार्ज गरेर भिडलाई तितरबितर पा¥यौँ । अं २०ः३० बजेको समयमा आन्दोलन हुने क्रम रोकिएपछि कार्यालय फर्केर ब्यारेकमा सुत्यौँ ।
भदौ २४ गते बिहान अं. ०८ः०० बजे हाम्रो टोली माइतिघर मण्डला पुग्यो । सो समय माइतिघरमा धेरै मानिस थिएनन् । म प्रनाउ सरको गाडी सुरक्षार्थ सिंहदरबारको पश्चिम गेटभित्र गएर बसेँ । त्यहाँ अन्दाजी १०ः३० बजे करिब ७००० जनाको भिडले हातमा भाला, बेल्चा, रड बोकेर सिंहदरबारको पश्चिम गेट तोडफोड गर्दै प्रदर्शनकारीहरू सिंहदरबारभित्र प्रवेश गरे ।
सिहंदरबारभित्र रहेको प्रहरीको सुरक्षा गणका हातहतियार नेपाली सेनाको कार्यालयमा सारिरहेको अवस्थामा मैले मसँग रहेको SLR र गोलिसमेत नेपाली सेनाको कार्यालयमा बुझाएँ । त्यसपछि हामी नेपाली सेनाको पूर्वीगेटमा रहेको ब्यारेकमा गएर बस्यौँ ।
राति १०ः०० बजेतिर मेरो कमान्डरको गाडीमा बसेर सिंहदरबार आइपुग्दा हाम्रो कार्यालय भवन जलिरहेको थियो । केही व्यक्तिले कार्यालयमा रहेका सरसामान चोर्ने प्रयास गरिरहेका थिए । तीमध्ये ४ जना पुरुषलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझायौँ । त्यसपछि अं. ०१ः०० बजेतिर नेपाली सेनाको जङ्गी अड्डाभित्र गएर सुत्यौँ ।
Leave a Reply