भ्रमको बजार र पसिनाको दर्शन एक जनशास्त्रीय विमर्श – २
- असार ४, २०८३
वातावरण र मानिसको सम्बन्ध अन्योन्यास्रित रहेको बारे व्याख्या गरिराख्न आवश्यक नहोला । प्रसङ्गवश, सुनिराखेको एउटा कथा सम्झनामा आयो ।
दुई–टाउके–साँप चहार्दै गर्दा एउटा टाउकोले मिठो खानेकुरा भेट्टाएछ र आफू मात्रै खान थालेछ । मुखभरि पानी रसाएका दोस्रोले, ‘मलाई पनि अलिकति भए नि चाख्न देऊ’ भनेर मागेको माग्यै गर्दा पनि पटक्कै वास्ता नगरी, उल्टो लोभ देखाउँदै सबै एक्लै खाएछ । केही दिन पछि, दोस्रोले खानेकुरा भेट्टाएछ र सो खान ठिक्क परेछ । तर, खानेकुरा विषालु रहेछ । सो थाहा पाएर पहिलोचाहिँले, ‘नखाऊ, नत्र हामी दुबै मर्छौँ’ भनेछ । केहीदिन अघि मात्र मिठो खानेकुरा चाख्नसम्म नपाएको इख पालेको दोस्रोले त्यो विषालु खानेकुरा खाइहालेछ र एकै ज्यानका ती दुबै अकाल मरेछन् ।
जीवन–मरण त नियमित प्रक्रिया नै हो । ब्रह्माण्डमै सृष्टि–स्थिति–संहारको चक्र चलिरहँदो छ, दृश्य–अदृश्य रूपमा । ज्वालामुखी विस्फोट, भूकम्प, आँधीबेहरी, तुफान, सुनामी, बाढी, पहिरो, चट्याङ, महामारीजस्ता प्राकृतिक प्रकोपहरूबारे मानवजगत् परिचित नै छ । विश्व युद्ध, बमबारी (आणविक बमहरूसमेत) जस्ता मानव घटित संहारहरूबारे पनि परिचित नै छ । हालका दिनहरूमा कोरभिड–१९ विश्व महामारीबाट मानवजगत् त्राहिमाम छ । तर, यो प्राकृतिक प्रकोप हो वा मानव घटित विश्वव्यापी विध्वंसकारी घटना हो, टुङ्गो लाग्न सकिरहेको छैन ।
ब्रह्माण्ड अनन्त छ, अथाह छ । तापनि, ४ अरब ६० करोड वर्षभन्दा पहिले हाम्रो सौर्य मण्डल उत्पत्ति भएको थियो भन्ने वैज्ञानिकहरूको अनुमान छ । उत्पत्तिक्रममा पूर्णता प्राप्त गर्न नसकेका ठुला–साना क्षुद्रग्रहहरू (Asteroids) पनि पृथ्वीलगायत ८ ग्रहहरूझैँ सूर्यको परिक्रमा गर्दै आएका छन् ।
वैज्ञानिकहरूकै भनाइअनुसार प्रत्येक १ अरब वर्षमा सूर्यको उज्यालोपन १२ प्रतिशतले बढ्ने क्रम रहेको देखिन्छ । बढ्दो तापक्रमले गर्दा पृथ्वीमा मानवजातिको अस्तित्व आगामी १ अरब वर्षसम्म मात्र सम्भव होला । सूर्यकै आयु पनि १० अरब वर्षसम्म मात्र रहने अनुमान छ । आगामी ५ अरब वर्षपछि सूर्य रातो देखिन थाल्नेछ । त्यसपछि अर्को ५ अरब वर्षमा यसको अस्तित्व नै समाप्त हुनेछ ।
असामान्य परिस्थिति पनि आउन सक्छ अथवा दुर्घटना नि हुन सक्छ । करिब ६ करोड ६० लाख वर्षअघिको कुरा, तत्कालीन समयमा पृथ्वीमा रहेका ७५ प्रतिशत जीवजन्तु तथा वनस्पति विनाश भएको थियो । त्यसैबेलादेखि डाइनोसर (Dinosaur) नामक अजङ्गको प्राणी सदाका लागि लोप भएको मानिन्छ । सो विध्वंसकारी घटनाबाट मेसोजोइक युग (Mesozoic Era) समाप्त भई सेनोजोइक युग (Cenozoic Era) प्रारम्भ भएको थियो र यो नयाँ युगले हालसम्म पनि निरन्तरता पाइरहेको छ । उपर्युक्त विनाशको कारण थियो–१० देखि १५ किलोमिटर लम्बाइ भएको क्षुद्रग्रह पृथ्वीमा आएर बग्रिनु । घटनास्थल मेक्सिको भन्ने देशमा पर्छ, तर यस घटनाको असर विश्वव्यापी बन्न पुगेको थियो ।
ती त भए प्रागैतिहासिक कुरा । अब २० औँ शताब्दीको कुरा गरौँ । सन् १९०८ जून ३० को बिहानीपख रूसको साइबेरियास्थित ‘तुङ्गस्का’ नदीनेर एउटा ठुलो विध्वंसकारी घटना घटेको थियो । दुई हजार एकसय पचास (२,१५०) वर्ग किलोमिटरमा फैलिएको जङ्गल क्षणभरमै मैदानमा परिणत भएको थियो । करिब ८ करोड रूख सब ढलेका थिए । अत्यन्त पातलो बस्ती भएको कारणले गर्दा मानवीय क्षति नगण्य रह्यो, मात्र ३ जनाको मृत्य भएको हुन सक्ने आकलन रह्यो । त्यो बिहान ५० देखि १९० मिटर लम्बाइ भएको क्षुद्रग्रह पृथ्वीतिर हुत्तिँदै आएर जमिनभन्दा ५ देखि १० किलोमिटर माथि विस्फोट भएको थियो । जमिन भेट्टाएको भए त झनै ठुलो विध्वंसात्मक बज्रपात हुने थियो । २० औँ शताब्दीमै सन् १९३० अगस्ट १३ मा ब्राजिलको ‘कुरूका’ नदीमाथि रूसको साइबेरियामा भएको जस्तै विस्फोट भएको थियो भनेर उल्लेख गरिएको पाइन्छ ।
२१ औँ शताब्दीको उल्लेखनीय ध्वंसात्मक घटनाको सन्दर्भमा सन् २०१३ फेब्रअरी १५ मा रूसको चेल्याबिन्स्क सहरमा भएको घटनालाई लिइन्छ । यो अलि सानो खालको (अन्दाजी १५ देखि २० मिटर लम्बाइ तथा ११ हजार टन बराबर वजन–भार भएको) क्षुद्रग्रह जमिन माथि विस्फोटन नै घट्न गएको घटना थियो । बाक्लो बस्ती भएकोले धेरै मानिस (१,२०० जना) घाइते भएका थिए । तीमध्ये धेरै जना विस्फोटनबाट उत्पन्न कम्पनका कारण झ्यालका सिसाहरू फुटी खसेका टुक्राटाक्रीहरू लागेर घाइते भएका थिए ।
क्षुद्रग्रहको सन्दर्भमा थप चर्चा गर्नुपर्दा क्षुद्रग्रह भनेको सौर्यमण्डलका ग्रहहरू निर्माणमा प्रयोग भएर बचेखुचेका निर्माण सामग्रीरूपी ढुङ्गे–चट्टानहरू हुन् । तिनको सङ्ख्या ९ लाखभन्दा पनि बढी छ । तीमध्ये ‘सेरेस’ र ‘भेस्टा’ नामका दुइटा मात्र खास ग्रहहरूझै गोलो गोलो देखिने भएकोले क्षुद्रग्रह भन्न सुहाउँछ । बाँकी सबै छाँटकाँट नमिलेका, आकार–न–प्रकारका ठुला–साना टुक्राटाक्रीहरू हुन् । सेरेस सबभन्दा ठुलो छ र यसको ब्यास एक हजार (१०००) किलोमिटर छ । भेस्टा सेरेसभन्दा झण्डै आधा सानो छ । अरू, सानोमा १ मिटरभन्दा सानो आकारको सम्म पाइन्छ । वास्तवमा १ मिटरभन्दा ठुलो आकारकोलाई मात्र क्षुद्रग्रह भनिन्छ । १ मिटर वा सोभन्दा सानोलाई उल्कापिण्ड (Meteoroid) भनिन्छ । उल्कापिण्ड भनेको क्षुद्रग्रहहरू ठोक्किई फुटेर निस्केका टुक्राटाक्रीहरू हुन् । जब कुनै उल्कापिण्ड सूर्य परिक्रमाको क्रममा संयोगवश दिशा परिवर्तन भइ पृथ्वीको वायुमण्डल प्रवेश गर्न पुग्छ तब त्यो उल्कापिण्ड पग्लिएर वाफमा परिणत भई जल्न थाल्छ । पृथ्वीबाट यो लामो प्रकाशपुञ्जजस्तो देखिनथाल्छ र यसलाई उल्का (Meteor) भनिन्छ । यदि, पृथ्वीको वायुमण्डल प्रवेश गर्न पुगेको कुनै उल्कापिण्ड पूर्णरूपले बाफमा परिणत भएन भने यसको पृथ्वीतर्फको यात्रा जारी रहन्छ र जमिन भेट्टाउन पनि सक्छ । यसरी जमिनमा खसेको वस्तुलाई उल्कापिण्ड नै भन्दो रहेछ, तर अङ्ग्रेजीमा (Meteorite) भनिन्छ ।
क्षुद्रग्रहहरू मात्र होइन, अरबौँको सङ्ख्यामा धुम्रकेतुहरू पनि सूर्यको परिक्रमा गर्छन् । धुम्रकेतुलाई लामपुच्छ्रे वा लामपुच्छ्रे तारा वा पुच्छ्रे तारा पनि भनिन्छ, अङ्ग्रेजीमा Comet। तर, यिनीहरू कुनै तारा होइनन्, ढुङ्गे–चट्टान र धूलो मिसिएको बरफका गोलाहरू हुन् । आकारमा यिनीहरू स–साना सहरहरू जत्रा हुन्छन् । अण्डाकार परिधिमा रहेर सूर्यको परिक्रमा गर्ने क्रममा जब कुनै धुम्रकेतु सूर्यतिर नजिकिन्छ तब यसको सतहतिरको बरफ पग्लिन थाल्छ र धुलो–धुवाँको मुस्लो बन्छ । चम्किलोजस्तो देखिने यो मुस्लो दसौँ लाख माइल लामो हुन्छ ।
समष्टिमा, सबथोक समयद्वारा बाँधिएका छन् । तर, समय परिवर्तनशील छ । सुरूमा पृथ्वीमा कुनै प्राणी थिएन, त्यसको लागि उपयुक्त वातावरण नै थिएन । काठमाडौँ उपत्यकाको कुरा गर्ने हो भने यो एउटा ताल थियो । ‘मञ्जुश्री’ ले निकास खोलिदिएपछि मात्र बस्ती बसाइँको वातावरण बनेको थियो । राष्ट्रहरूको कुरा गर्ने हो भने, ‘ब्रिटिस साम्राज्यमा घाम कहिल्यै अस्ताउँदैन’ भन्ने कथन थियो । छिमेकी राष्ट्र हिन्दु स्थान नै २०० वर्षसम्म ब्रिटिस साम्राज्यको ‘गुलाम–राष्ट्र’ बन्नु परेको थियो, सन् १९४७ मा मात्र स्वतन्त्र भएको हो । अर्को छिमेकी राष्ट्र चीन सन् १९७० सम्म संयुक्त राष्ट्र सङ्घको सदस्य बन्नबाट वञ्चित थियो, ताइवान नै समष्ट चीनको प्रतिनिधित्व गर्ने राष्ट्र हो भन्ने मान्यता लिएर संयुक्त राष्ट्र सङ्घमा जमेर बसेको थियो । सन् १९७१ मा पूर्वी पाकिस्तान औपचारिक रूपमै छुट्टिएर बङ्गलादेश जन्मेको हो ।
नेपालको कुरा गर्ने हो भने यो राष्ट्र अहिलेसम्म आफ्नो सार्वभौमिकता जोगाउन सफल छ । दुबै छिमेकीसँग ठुलो युद्ध लडेका थिए । सर्वशक्तिमान् ब्रिटिस साम्राज्यले आफ्नो ‘गुलाम–राष्ट्र’ मार्फत नेपालमाथि युद्ध थोपरेको थियो । तर, हराउन सकेन । सुगौली सन्धि गर्न नपरेको भए नेपालको भूगोल अझै शानदार रहने थियो । ‘पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ ?’ कहाँ हरायो हाम्रो नेपालको यो राष्ट्रगान ! के सोच्दा होलान् हाम्रा ती वीर पुर्खाहरू !
प्रकृतिले सबैलाई सबथोक पुग्ने गरी दिएको छ । अचम्मै विकास वा उन्नति गरेका छन् मानिसले ! ज्ञान–विज्ञानको आडमा चमत्कार देखाउँदै, अन्तरिक्षमा समेत एकाधिकार कायम गर्ने होडबाजीमा छन् ! प्रकृतिमाथि नै विजय प्राप्त गर्न लालायित छ, चतुर मानवजाति ! तर, कोरोनाले देखाइदिएको छ, कति निरीह छ मानवजाति ! अब त चेत खुल्ला कि विकासलाई पछ्याइरहेको हुन्छ विनाशले !
एक किसिमले, प्रकृतिभन्दा शक्तिशाली भइसकेको छ मानिस । एक अरब वर्षसम्म अस्तित्वमा रहन सक्ने मानवजातिको यो पृथ्वी, क्षणभरमै ध्वस्त हुनसक्छ ! तेस्रो विश्व युद्ध नै हुनु पर्दैन, कुनै पनि बेला हुनसक्छ–आणविक दुर्घटना ! वाह क्या विकास गरेछन् बुद्धिमान् मानिसले ! आणविक दुर्घटना नै नभए पनि खतराको घण्टी त बजिसकेकै छ, अत्यधिक विकासले गर्दा । विकासको लागि पृथ्वीको अत्यधिक दोहन भइरहेको छ । अत्यधिक दोहनले गर्दा वातावरण विनाश जारी छ । पृथ्वी तात्दै छ, सचेत होऔँ (Global Warming, Global Warning) भनेर घाँटी सुक्ने गरी नारा लगाएको लगायै गरिरहने को जमात सानो छैन, तर अत्यन्त लोभी युद्धपिपासुहरूले सुन्न चाहिराखेका छैनन् ।
आफ्नै देशतिर फर्काैँ । पुलमुनि बालुवा झिकेको झिक्यै गर्दा पुलको आयु सङ्कटमा छ । पवित्र वाग्मतीले पाँच दशकदेखि महा–कष्ट भोगिरहेको छ; शङ्खमूलमा अब न पौडी खेल्न मिल्छ, न माछा मार्न पाइन्छ, न त तिर्खा मेटाउने पानी भेटिन्छ । तैपनि, ढल मिसाउन रोकिएको छैन । हरियो वन नेपालको धन भन्थे, अहिले यो नारा हराएजस्तो छ; वन विनाश रोक्ने संयन्त्र कमजोर छ । जल–विद्युत् निर्यातले देश मालामाल हुने सपना बोकी अपार लगानी गर्नु कति भरोशायोग्य होला ? उखु किसानले चिनी उद्योगबाट धोका पाएझैँ विदेशी विद्युत्–ग्राहकबाट देशले धोका पाउला कि ? उर्वरभूमि उजाड हुने गरी रेमिट्यान्समुखी बजेटमा जोड दिनु कति उपर्युक्त होला ? स्वदेशीलाई पिउनसम्म नहुने तर पाँचतारे होटेलका स्वीमिङपुलहरू भरिभराउ गर्न कुनै कञ्जुस्याइँ गर्न नपर्ने गरी देशको अर्थतन्त्र पर्यटनमुखी बनाउनु कत्तिको न्यायोचित होला ?
स्वावलम्बी बनौँ । रूखविरूवा रोपौँ, खासगरी पहाडी क्षेत्रमा । तल झर्न उद्यत पानी रूखविरूवाले पकडमा राख्नेछ, पहाड हराभरा रहनेछ, पहिरो कम हुनेछ ।
ढल–निकास सिधै खोलामा नमिसाऔँ । बायोग्यास निकालौँ, अर्गानिक मल उत्पादन गरौँ । कमसेकम कृषिमा स्वाबलम्बी बन्न कोसिस गरौँ ।
जथाभावी प्रकृतिको दोहन नगरौँ । वातावरण जोगाऔँ । सम्झौँ, सुनको फुल पार्ने हाँसको पेटबाट एकै पटक सबै फुल निकाल्ने लोभ गर्यो भने के होला ?
आफ्नो देशमा फलेको फल सबै नागरिकले चाख्न पाउनुपर्छ । भरिएको पेट र भोको पेटबिच कहिल्यै सहकार्य हुन सक्दैन । सहकार्य बिना देश विकास हुँदैन मात्र होइन, अस्तित्व पनि सायदै रहन्छ । दुई–टाउके–साँपको कथा सम्झनामा आएको यसैले हो ।
स्रोत : बालविकास स्मारिका – २०८२
Leave a Reply