शिक्षामा प्राथमिकता दिनु आवश्यक
- असार ३, २०८३
हरेक आन्दोलनको उद्देश्य हुन्छ । त्यो उद्देश्य पूरा गर्न नै आन्दोलन गरिएको हुन्छ । आन्दोलन सफल पनि हुन सक्छ; असफल पनि हुन सक्छ । कुनै आन्दोलन संयमित, मर्यादित र अनुशासित हुन्छ त कुनै आन्दोलन हिंसात्मक, अराजक, उच्छृङ्खल पनि हुन्छ । कुनै आन्दोलनमा घुसपैठ हुन्छ । आन्दोलनलाई अन्ततिर मोड्ने, आन्दोलन दबाउन उपद्रो गर्ने काम पनि हुन्छ । आन्दोलनमा अर्कै व्यक्ति घुसपैठ भएपछि आन्दोलन अर्काेतिर मोडिन्छ । त्यस्तो आन्दोलन अराजक, उच्छृङ्खल मात्र होइन आगजनी, तोडफोड र हिंसामा परिणत हुन्छ । कति आन्दोलनमा चर्को चर्को नारा लगाइन्छ र आन्दोलनलाई उत्तेजित बनाइन्छ । कति आन्दोलन सार्वजनिक संरचना ध्वस्त गर्ने उद्देश्यले गरिएको हुन्छ, व्यक्ति र संस्थाको सम्पत्ति लुटेको हुन्छ । नेपालको सन्दर्भमा माओवादीको ‘जनयुद्ध’ पछि सबभन्दा बढी धन सम्पत्ति क्षति भएको आन्दोलन जेनजी आन्दोलन हो ।
भदौ २३ र २४ गते भएको दुईदिने आन्दोलनमा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँको क्षति भएको प्रतिवेदन पेस गरिएको थियो । राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा गठित समितिले २०८२ साल मङ्सिर २५ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिवेदन पेस गरेको थियो । जेनजी आन्दोलनको कारण ८४ अर्बभन्दा बढी क्षति हुनु भनेको सामान्य होइन । अहिले जेनजी आन्दोलनका अगुवाहरू सरकारमा छन्; उनीहरूले मुख्य–मुख्य मन्त्री पद सम्हालेका छन् । आफूले थालेको आन्दोलनमा अरबौँ रकमको धनसम्पत्ति क्षति भए पनि आन्दोलनकारीलाई कुनै दुःख मनाउको अनुभूति छैन । आन्दोलनमा कुन शक्ति, समूह या अराजक व्यक्तिहरू छिरेर आन्दोलनलाई आगजनीमा परिवर्तन गरे भन्ने कुरामा उनीहरूलाई कुनै चिन्ता र चासो छैन । जेनजीका अगुवाहरू आन्दोलनको सफलता या सरकार परिवर्तनको जस आफूहरू लिन्छन् र आगजनी सबै आन्दोलनमा घुसेकाहरूले गरेको स्वीकार्छन् । आन्दोलनमा को को घुसे भन्नेबारे जेनजी अगुवाहरू मौन देखिन्छन् ।
त्यही आन्दोलनको ब्याजले अहिले जेनजी अगुवाहरू सरकारको नेतृत्वमा छन् । सरकारले जेनजी आन्दोलनको क्रममा क्षति भएका सङ्घतर्फका भौतिक संरचनाको पुनःनिर्माणको लागि सरकारले ६ अर्ब रुपैयाँ बजेटमा विनियोजन गरेको छ । घटनाको छानबिन गर्न गठित समितिले भदौ २३ गते मात्रै किन प्रतिवेदन बुझायो ? भदौ २४ गतेको घटनाबारे कुनै छानबिन किन गरिएन ? यो रहस्यको विषय बनेको छ । यो घटनाले अन्तरिम सरकार प्रमुख जेनजी आन्दोलनबाट प्रभावित भएको अड्कल गर्न सकिन्छ । हो, सच्चा देशभक्त र स्वाधीन नेपाली जनताले देशको सम्पत्ति, धरोहरमा तोडफोड र आगजनी गर्दैनन् । आगजनी र तोडफोड विदेशी दलाल, विदेशी शक्ति राष्ट्रको इसारामा चल्ने कुनै तत्व या समूहले गरेको हुन्छ । आगजनी र तोडफोड गर्ने त्यो समूह या अराजकहरूलाई सरकारले कारबाहीको प्रक्रिया अघि बढाउन चाहेको देखिँदैन । कारबाही गर्छ कि गर्दैन, कुनै निश्चित छैन ।
जेनजी आन्दोलन गर्ने अगुवाहरूको नेतृत्वमा बनेको सरकारद्वारा गठित छानबिन समितिले के साँच्चै न्यायपूर्ण छानबिन गर्छ ? के साँच्चै छानबिन न्यायपूर्ण र निष्पक्ष हुन्छ ? छानबिन समितिले ठहर गरेका अपराधीहरूलाई सरकारले कारबाही गर्ला ? के कारबाहीको घेरामा ल्याउला ? अरबौँ अरब रकम बराबरको धनसम्पत्ति खरानी पार्ने दोषीहरूमाथि छानबिन गरेर कारबाही हुँदैन भने भोलि अर्को नयाँ पुस्ताले त्यही शिक्षा लिएर थप क्षति पु¥याउन अघि बढ्न सक्छ । के रास्वपा जेनजीहरूको पार्टी हो ? के यो उनीहरूको समर्थनमा बनेको सरकार हो ? जेनजीहरूको नेतृत्वमा बनेको सरकारले गठन गरेको छानबिन समितिले के भदौ २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्ला ? निष्पक्ष छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउला ? कारबाहीको प्रक्रिया अघि बढाइँदैन भने देशमा फेरि अराजकता, उच्छृङ्खल, आगजनी र तोडफोडको घटना दोहोरिँदैन भन्न सकिँदैन ।
Leave a Reply