स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
पूर्वमाओवादी नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्युनिज्म मरेपछि मात्र पाइने वस्तु भएको टिप्पणी गरेर चर्चा कमाएका छन् । हाम्रो समाजमा ‘नानीदेखि लागेको बानी बुढ्यौलीमा पनि नछुट्ने’ आहान प्रचलित छ । त्यो आहान बाबुराममा ठ्याक्कै लागू हुन्छ । चर्चा कमाउने एकमात्र ध्येय बोकेका भट्टराईले ट्विटरमा एक पुँजीवादी प्राध्यापक कृष्ण खनालको ट्विटको प्रतिक्रियामा लेखेका छन् – “बिलकुल सही कुरा कृष्ण सर, ‘कम्युनिज्म’ भनेको ‘स्वर्ग’ जस्तै परिकल्पना हो अर्थात् जीवनमा होइन मरेपछि प्राप्त हुने कुरा हो, जुन आजसम्म कसैले देखेको छैन । तैपनि धार्मिक पण्डाहरूले धर्मभिरु जनतालाई स्वर्गको सपना बेच्न नछोडेझैं राजनीतिक पण्डाहरूले पनि कम्युनिज्मको सपना बेचिरहने छन् ।”
थाहा भएअनुसार बाबुरामले विद्यार्थी जीवनमै कम्युनिस्ट पार्टीको सदस्यता लिए, त्यही पार्टीको नेता पनि बने । पार्टी परिवर्तन गर्दै ‘क्रान्तिकारी’ बनेर जनयुद्धमा पनि लागे । उनकै आह्वानमा कलेज र विद्यालयमा पढिरहेका सयौं विद्यार्थी जनयुद्धमा लागे । त्यतिबेला बाबुरामको हरेक भाषण र लेखमा तत्कालीन लक्ष्य नौलो जनवाद र त्यसपछि समाजवाद र साम्यवादमा पुग्ने कुरा उल्लेख हुन्थ्यो । व्याख्या गरिएअनुसार नौलो जनवाद, समाजवाद र साम्यवाद भनेका शोषणरहित व्यवस्था हुन् । शोषित–पीडित नेपाली जनता र न्यायप्रेमी युवाहरू त्यही आदर्श व्यवस्थाको लागि जनयुद्धमा सामेल भएका थिए । जेलनेलको यातना सहेका थिए, हजारौंले प्राणको उत्सर्ग गरेका थिए । आज ती सहिदहरूको बलिदानलाई खिसी उडाउने काम तिनै नेताहरूले गरिरहेका छन् ।
त्यसो त कम्युनिस्ट घोषणापत्रमा माक्र्स र एँगेल्सले साम्यवाद अहिले नै पृथ्वीमा अस्तित्वमा रहेको छ भनेका थिएनन् । त्यसतिर अघि बढ्न शोषित मजदुर वर्गको वर्गसचेत आन्दोलन, सङ्घर्ष र अभियान आवश्यक हुने र त्यसको लागि एउटा ऐतिहासिक युग लाग्ने पनि प्रस्ट पारेका थिए । बाबुराम भट्टराई, प्रचण्ड, केपी ओली, माधव नेपाल, झलनाथ खनालजस्ता कथित कम्युनिस्ट नेताहरू कम्युनिस्टहरूप्रतिको नेपाली जनताको समर्थनलाई पुँजीवादी सरकारमा जाने र त्यसैमा रमाउने अवसरवादी प्रवृत्तिमा सीमित नगरेका भए, सिद्धान्तबाट नचिप्लेका भए नेपालमा नोैलो जनवाद र समाजवाद पनि आइसक्नेथियो होला । आज ती नक्कली कम्युनिस्टहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै दिग्भ्रमित गरेका छन् ।
तीमध्ये बाबुराम अहिले सबभन्दा बढी उदाङ्गिदै गएका छन् । बाबुरामले कम्युनिस्ट सिद्धान्त नै त्याग गरेको घोषणा विभिन्न अवसर र माध्यमबाट गरिसकेका छन् । उनी कहिल्यै कम्युनिस्ट थिए भन्नेमा रत्तिभर विश्वास गर्न सकिँदैन । उनी नेपालको कम्युनिष्ट आन्दोलनमा छिराइएका भारतीय विस्तारवादका विश्वासिला एजेन्ट हुन् । एक विश्वासघातीमात्र हुन् । हुन त भारतीय शासकहरूको इसारामा नाच्ने पात्रहरूको कमी हाम्रो देशमा छैन । कामदार वर्गका जनताका शत्रु त्यस्ता विश्वासघातीहरूले समाजवाद र साम्यवादको विरोधमा अनर्गल प्रचार गर्नु अन्यथा त होइन तर साम्यवादलाई धार्मिक कल्पनासित दाँज्नु समाजको ऐतिहासिक विकास र विश्व इतिहासलाई देख्न नसकेको अन्धोपन भन्न सकिन्छ ।
– संयोग क्षेत्री, काठमाडौँ
Leave a Reply