युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
क्रिश्चिना
भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बरालको ‘काश्मीर तरङ्ग’ ५ भदौ २०७६ को कान्तिपुरमा छापियो । लोकराज बरालको आजको विचार र कार्यशैली भारतमा नेपालको राजदूतभन्दा पनि नेपालमा भारतको सद्भावना राजदूतको रूपमा बुद्धिजीवीहरूले लिने गरेका छन् । किन ?
प्रा. लोकराज बरालले भारतलाई संसारको सबभन्दा विशाल प्रजातान्त्रिक देश र प्रजातन्त्रको एक आदर्श सम्झन्थे । गान्धी र नेहरू उनको चिन्तनको प्रिय स्रोत थिए । तर, भारतीय प्रजातन्त्रलाई ‘पुँजीवादी’ प्रजातन्त्र अर्थात् पुँजीपति वर्गको नेतृत्वमा पुँजीपति वर्गको हितमा गरिने शासन भनी उनले कहिल्यै आफ्नो मथिङ्गलमा राख्न सकेनन् ।
पुरानो जनसङ्घ र आजको भारतीय जनता पार्टी (भाजपा) सत्तामा पुगेपछि बरालजीको पुरानो चिन्तन खलबलियो । एक, गान्धीजीलाई गोली हान्ने हत्यारा नाथुराम जनसङ्घकै सदस्य थिए । दोस्रो, काश्मीर मामिला तथा देश पछि परेकोमा नेहरू र नेहरू परिवारलाई नै दोषी मानिन्छ । तेस्रो, भारतको सबभन्दा ठूलो ‘१८ प्रतिशत’ जनसङ्ख्या भएको मुसलमान समुदाय र अन्य ‘अल्पसङ्ख्यक’ समुदाय र ‘विभेदमा’ पारिएका दलित समुदायमाथि गरिएको दमनचक्र र पक्षपात हिजोको भारतभन्दा फरक देखियो । चौथो, ‘कट्टर हिन्दूत्व’ वा हिन्दू साम्राज्यको पुरानो ‘गौरव’ फर्काउने भाजपाको दृष्टिकोणको अन्तरद्वन्द्वमा बराल छन् । गान्धी–नेहरूको दर्शनको पछि लाग्ने हो वा कट्टर हिन्दू राष्ट्रवाद वा असहिष्णु धार्मिक अति दक्षिणपन्थी भाजपालाई समर्थन गर्ने हो !?
जन–साङ्ख्यिक मिथ्याङ्कलाई नमान्ने हो भने भारतमा मुसलमान जनसङ्ख्या १८ प्रतिशत होइन २५ प्रतिशत हो । यस दृष्टिले भारत संसारको सबभन्दा ठूलो मुसलमान देश हो, त्यसपछि मात्रै इन्डोनेसिया हुनेछ ।
जहिलेसम्म दुइटा देश हुन्छ तबसम्म हरेक इमानदार राजदूत, कर्मचारी वा मन्त्री वा नेताले आफ्नै देशको हितलाई ध्यान दिनु उसको कर्तव्य हुन्छ र पराई देशका राजदूत, कर्मचारी वा मन्त्री वा नेताले समान तहका व्यक्तिलाई ‘मालिक’ वा ‘ठूल्दाइ’ मान्न सुहाउँदैन । सबै सार्वभौम र स्वतन्त्र देश समान हुने हुँदा अरूसँग पैसा माग्ने, पैसा लिएर गतिविधि गर्ने वा हीनताबोधबाट आक्रान्त रहनु खोटपूर्ण चिन्तनको परिणाम हो । देशको प्रतिष्ठित ओहदामा पुगेका व्यक्तिहरू देशकै सम्पत्ति हुने हुँदा विदेशीको भरमा रहनु वा विचारलाई पैसाले तौलनु अत्यन्त खोटपूर्ण चिन्तन साबित हुनेछ ।
२०० वर्षको बेलायती आक्रमण र उपनिवेशको सिलसिलामा भएको स्वतन्त्रता सङ्ग्राममा एक लाख मानिसहरू सहिद भएको अभिलेख देखिन्न भने हिन्दूस्तान र पाकिस्तानको विभाजनमा पाकिस्तानबाट हिन्दूस्तान आउने हिन्दूहरू र हिन्दूस्तानबाट पाकिस्तान जाने मुसलमान नागरिकहरूको हत्या–हिंसा लाखौँमा पुग्यो । रेलको पहिलो स्टेसनदेखि अन्तिम स्टेसनमा रगतको खोलो बगेको थियो भने रेलका हरेक डब्बामा छोपिएका केटाकेटी र केही व्यक्तिबाहेक सबै लाशै लाश भेट्टिएका थिए । यो थियो –बेलायती साम्राज्यवादले भारतीय जनतालाई दिएको सौगात – ‘फूट गर र राज गर’ पछि लिएको बदला !
भारतीय स्वतन्त्रताको ७० वर्षको इतिहासमा भ्रष्टाचार, जातीय दङ्गा, धार्मिक दङ्गा एवम् अनेक राजनैतिक भिडन्त र सङ्घर्षहरू भए । ७० वर्षको अवधिमा भारतीय काङ्ग्रेसले झण्डै ३ दशक अकन्टक शासन ग¥यो, तर न ‘समाजवाद’ आयो न ‘गरिबी’ हट्यो । किन ? किनभने भारतीय शासक वर्ग न समाजवादी थियो, न त गरिबी हटाउन चाहन्थ्यो, किनभने तिनीहरू आफै शोषक, सामन्त र पुँजीपति वर्गका थिए र सामाजवादविरोधी थिए ।
निश्चय पनि पुँजीवादी लेखक, कवि र कलाकारहरूको पुस्तक, काव्य र रचना अध्ययन गर्दा त्यसमा तल्लो वर्गको भावना, माग र सङ्घर्षको मर्म उल्लेख हुँदैन र त्यसबारे बुझिँदैन किनभने सबै भारतीय विद्वान र लेखकहरू रवीन्द्रनाथ ठाकुर होइनन् । ठाकुरले रूस भ्रमणमा कम्युनिस्ट रूससँग भारतको कृषि र कृषकहरूको तुलना गरे, भिन्नताको कारण थाहा पाए । भन्ने गरिन्छ – घोडा चढेर खेत हेर्ने मालिकले बालीको किरालाई देख्ने गर्दैन वा समस्या बुझ्दैन ।
‘इतिहासको साक्षी’ र ‘इतिहासबाट सिक्ने’ बारे बारम्बार छलफलमा दोहो¥याइने वाक्यांश हुन् । तर, मनको कुरा गर्न डराउँदा साँचो कुरा आउन्न । फासिवादी र नाजीवादीहरूले पहिले प्रजातन्त्रलाई हाने । घुम–फिरको अधिकार, वाक् स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार र राजनैतिक अधिकारमाथि प्रहार गरे । ८ भदौ २०७६ को राजधानीले लेख्यो – ‘श्रीनगरको विमानस्थलबाटै फर्काइए राहुल गान्धी ।’ अहिले भारतको गम्भीर समस्या ‘काश्मीर’ हो वा ‘प्रजातन्त्रमाथि प्रहार’ हो भन्ने प्रश्न बढी महŒवपूर्ण हुँदैछ ।
पहिलो विश्व युद्धपछि अपमानित इटालीमा मुसोलिनी देखापरे, उनले फासीवाद वा राष्ट्रियताको नारा दिए, रोमको पुरानो ‘गौरव’ जगाउने हुँकार गरे, शिव सेनाजस्तै पोशाक लगाएका युवाहरूको अर्धसैनिक दल खडा गरे र रोममा पैदल मार्च गरे अनि सरकार हातमा लिए । भाजपाले निर्वाचनबाट दिल्ली जित्यो । मुसोलिनीले कट्टर इसाई धर्म क्याथोलिकलाई स्वीकारे । चर्चले मुसोलिनीलाई विजयको निम्ति आशीर्वाद दियो । कमजोर छिमेकी शक्तिहरू ढल्दै गए, मित्र बने जर्मनीका हिटलर, जसले मौलिक र राजनैतिक अधिकारमाथि इटालीका मुसोलिनीले जस्तै बन्देज लगाएका थिए ।
प्रचार यन्त्रहरूमाथि सेन्सर लाग्यो, राजनैतिक दलहरूमाथि एक–एक गरेर बन्देज लगाइयो । जेलहरू राजनैतिक बन्दीहरूबाट भरिए, साहित्य र विज्ञान प्रविधिका स्रष्टाहरू पलायन भए । उता मुसोलिनीले धर्मको नामको आफ्नो प्रभाव विस्तार गर्दै अबेसिनिमा पुगे भने हिटलर ‘पवित्र आर्य’ रगतले संसारलाई शासन गर्ने नैतिक अधिकार बताउँदै छिमेकी देशहरूमाथि जाति र भाषाको कारण देखाउँदै सोभियत सीमासम्म पुगे । त्यसपछिको नरसंहार जगजाहेर छ ।
पुरानो हिन्दू साम्राज्यको गौरवले दक्षिण एसियापछि बर्मा (म्यान्मार), थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, सुकार्नोको देश इन्डोनेसिया, फिलिपाइन्स, अङ्कोरवाट् अर्थात् हरिहरको मन्दिर र सांस्कृतिक प्राचीन सम्बन्धको नाममा ‘नरोउत्तम सिंहनायक’ को कम्बोडिया, लावस र भियतनाम पुग्ने भित्री उद्देश्यलाई इन्कार गर्न सकिन्न । किनभने, संरा अमेरिकी साम्राज्यवाद फासीवादी भाजपाको पछाडि छ, जसको जलसेनाको अखडा विशाखापटनममा तैनाथ गरिएको छ र भारतीय जलक्षेत्रको गस्ति गर्दैछ । बिम्स्टेक हुँदै भारतीय विस्तारवाद मलेसिया र सिङ्गापुरसम्म नेपाली विद्युत् पु¥याई दक्षिण एसियाली देशहरूसँगै प्रशान्त महासागरीय क्षेत्रमा पु¥याउँदै ‘हिन्द–प्रशान्त शान्ति तथा विकासको निम्ति एक सैन्य गठबन्धन’ मा पु¥याउँदै छ ।
भारतीय जनता र दक्षिण एसियाली देशका बुद्धिजीवीहरूले भाजपाको सम्भावित अमेरिकी साम्राज्यवादी युद्ध पिपासु नीतिको विरोधमा जनमत खडा गर्न सकेनन् भने ट्रम्प प्रशासनविरोधी अमेरिकी जनमतलाई पनि सहयोग पुग्नेछैन । एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनताको माझमा पनि युद्धविरोधी विश्व शान्ति आन्दोलनलाई सहयोग पु¥याउन सक्नेछैन ।
यसकारण ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’ उखानलाई त्यागेर लोकराज बरालजस्ता भारतीय जनताका मित्र सम्झिइने बुद्धिजीवीहरूका विचारले सधैँ व्यापक जनताको भावनालाई प्रतिनिधित्व गर्दैन । जो सत्तामा छ, त्यही ठीक छ भन्नेजस्ता ठम्याइले मुसोलिनी, हिटलर र तोजोहरू जन्माउनेछ । आज प्रजातन्त्र, मानव अधिकार र जनजिवीकाका बारे सार्क देशका सरकारहरूको ध्यान आकर्षित गर्न जनमत तयार गर्नु आवश्यक छ ।
Leave a Reply