मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
समा
आजभन्दा ३१ वर्ष अगाडि निरङ्कुश पञ्चायती व्यवस्थाले नेपाल मजदुर किसान पार्टीविरुद्ध थोपरेको श्वेत आतङ्कको नाम हो – ‘२०४५ को काण्ड’ अर्थात् ‘भक्तपुर काण्ड’ । भक्तपुरलाई एउटा खुला जेलखाना बनाइएको दिन हो ‘भाद्र ९ अर्थात् कालो दिन’ । ‘भक्तपुर काण्ड’ नेमकिपाप्रति पञ्चायती प्रतिशोधको प्रतिफल हो भन्दा अतिशयुक्ति नहोला । भक्तपुर काण्डका पीडितहरूको घाउ अभैm आलो छ । भुक्तभोगीहरूका दुःख, यातना र सङ्घर्षबाट नयाँ पुस्तामा ज्ञान र चेतना सञ्चार गर्नु इतिहासलाई जिवित राख्नुजत्तिकै हुनेछ । इतिहास फरक ढङ्गले दोहोरिन सक्नेप्रति नयाँ पुस्तालाई सचेत पार्नु त्यत्तिकै आवश्यक छ । भोगाइका ठेलीहरूबाट ऊर्जा र उत्साहको पुञ्ज भेटिनेमा कुनै शङ्का छैन । भक्तपुर काण्डसँग सम्बन्धित थुप्रै मानिसहरूका आ–आफ्नै भोगाइ छन् । ती भोगाइलाई सङ्गालोको रूपमा प्रकाशित गर्ने काम भइरहेकै छ । यो अत्यन्त सकारात्मक पक्ष हो । इतिहास बङ्ग्याउन खोज्नेहरू पनि समाजमा थुप्रै छन् ।
इतिहासलाई जिवित राख्न सत्य–तथ्यमा आधारित प्रकाशनहरूको आवश्यकता पर्छ । ‘आवाज बुलेटिन’ ले भक्तपुर काण्डको यथार्थ घटनाक्रम र वस्तुस्थिति अवगत गराउँछ । पुस्तक ‘फाँसी दे’ ले आस्था र सिद्धान्तको राजनीतिका पर्याय, इमानको राजनीतिका धरोहर नारायणमान बिजुक्छेँ (रोहित) विरुद्ध सरकार सडकमा उत्रिएको टिठलाग्दो वास्तविकता उजागर गर्छ । ‘का. रोहितको जेल डायरी’ र ‘जेलका चिठ्ठीहरू’ ले का. रोहितको जेलजीवन र उहाँको सङ्घर्षशील व्यक्तित्व उजिल्याउँछ । भयावह परिस्थितिसँग सामना गरेका हर एक कार्यकर्ताको निम्ति चिठ्ठी ऊर्जाको स्रोत बन्ने निश्चित छ । ‘मजदुर–किसान’ र ‘केटीहरू’को भक्तपुर काण्ड विशेषाङ्क, पुस्तक ‘भक्तपुर काण्डका संस्मरणहरू’ ले नयाँ पुस्तालाई भक्तपुर–काण्डबारे सत्य–तथ्य जानकारी दिन्छ । आजभन्दा ९ वर्ष अगाडि प्रकाशित ‘भक्तपुर काण्ड विशेषाङ्क– मजदुर’ ले पनि नयाँ पाठकहरूमाझ भक्तपुर–काण्डको साँचो पीडा, सङ्घर्षबारे जानकारी प्रदान गर्छ ।
समयक्रमले भक्तपुर काण्ड निरङ्कुश पञ्चायती व्यवस्थाले राज्यस्तरबाट रचेको षड्यन्त्र हो भन्ने पुस्टि गरिसकेको छ । आज ३ दशकपछि पनि नेपालको राजनीतिक परिदृश्यमा मौलिक परिवर्तन आइसकेको छैन । हिजो पञ्चायती व्यवस्थाबाट जनता प्रताडित थिए भने आज ‘पञ्चायती गणतन्त्र’ बाट । हिजोभैmँ आज पनि नेमकिपाविरुद्ध नवपञ्चहरू षड्यन्त्र गर्दैछन् । त्यसकारण नयाँ पुस्तालाई यो वर्ग सङ्घर्षको सिलसिलाबारे सचेत पार्न अत्यन्त आवश्यक छ ।
भक्तपुर काण्डका कारण नेमकिपाका नेता कार्यकर्ताहरूले भोगेका सासना, परिवारले पाएका दुःखहरू यस विशेषाङ्कमा मार्मिक ढङ्गमा प्रस्तुत गरिएको छ । जेलभित्रको शारीरिक तथा मानसिक यातना र जेलबाहिर परिवारले भोगिरहेको दुःख, कष्टबारे वर्णन गर्न निश्चयपनि सजिलो छैन ।
भूमिगत बसेका, पार्टी –जनताको निम्ति अहोरात्र खटिरहेका सच्चा कार्यकर्ताहरूको अनुभव निकै उपयोगी तथा शिक्षाप्रद छ ।
२०४५ को काण्डबाट राजनीतिक शिक्षा लिनुपर्नेमा अध्यक्ष रोहितले सदा जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ – “शत्रु र मित्र नचिन्ने हरेक वर्ग र राजनैतिक शक्तिले पछुताउनुपर्ने हुन्छ । राजनीति आवेशमा गरिने वा अहङ्कारको अभिव्यक्ति हुने गर्दैन बरु प्रगतिशील परिवर्तनका तर्क र घच्घच्याइबाट प्रेरित निर्णय हुने गर्छ । २०४५ सालको भक्तपुर काण्ड षड्यन्त्रको शिक्षा नै यही हो ।”
भक्तपुरमा पञ्चायती राज्य आतङ्कले वि.सं. १८२६ को पृथ्वीनारायण शाहको हमलाको सम्झना दिलायो भन्नुहुन्छ नेमकिपाका सचिव पे्रम सुवाल । उहाँले झूटा मुद्दामा एक वर्ष सात महिना छब्बीस दिन भूमिगत बस्नुभएको अनुभव पस्कनुभएको छ । भक्तपुर काण्डको कालो दिनदेखि २०४६ साल चैत २६ गते बहुदलीय व्यवस्था पुनः स्थापनाको उज्यालो दिनसम्मको चर्चा उहाँको अनुभवमा छ । उहाँ लेख्नुहुन्छ – “बहुदलीय प्रजातन्त्रसँगै ‘रोहितलाई फाँसी दे’ नारा लगाएका पञ्चहरू ‘ठूला’ पार्टी नेपाली काङ्ग्रेस र एमालेमा प्रवेश गरे भने केही राप्रपामा घुसे । आस्था र सिद्धान्तको राजनीति ओझेलमा पर्दैछ ।”
चैत्यराज शाक्यको जेलमा बटुलेका अनुभव, चन्द्रबहादुर उलकको प्रवासमा बिताएका दिनहरूको अनुभव, मोहनप्रसाद प्रजापतिको भूमिगत समयको अनुभवको जीवन्त प्रस्तुतीकरणले उतिबेलाको घटनाक्रम, परिवेशलाई बुभ्mन सहज बनाउँछ ।
नक्कली बासुकला, कृष्णमाया लवजू, मैयाँ दुवाल, तारा शाक्य उतिबेलाका केही सङ्घर्षमा साथ दिने केही प्रतिनिधि महिला हुन् । यी महिलाहरूमध्ये केहीले अक्षर नचिनेका कारण भोगेका सासनाहरू कहालीलाग्दो छ । यी महिलाहरूले न्यायको निम्ति देखाएको अदम्य साहस सदा स्मरणीय छ । कृष्णमाया लवजू उनका नाता पर्ने तर राजनैतिक विचार नमिल्ने मान्छेले देखाएको गलत बाटोमा हिँडिनन् । ‘श्रीमान मरिसक्यो, पोइल जाऊ श्रीमान् फर्कँदैन’ भन्ने शब्द सुन्दा उनले कसरी सहेर बसि होलिन् । हाकुपटासी लगाउने आइमाइहरूलाई ‘ज्यानमाराकी श्रीमती’ भन्नु त सामान्य जस्तै थियो । शोषकहरूको हेपाहा प्रवृत्ति र महिलाहरूमाथिको दुव्र्यवहार पनि महिला एकताको एउटा कारण बन्यो ।
भक्तपुर काण्डमा प्रायः शीर्ष नेताहरू जेलमा परेपछि योगेन्द्रमान बिजुक्छेँले निर्वाह गर्नुभएको भूमिका स्मरणीय छ । उहाँले कानुनी लडाइँ, मिडियामा नेमकिपाबारेका समाचार र सत्य सञ्चार गर्न ठूलो योगदान गर्नुभयो । जेलसमेत पर्नुभएका योगेन्द्रमान बिजुक्छेँले मानवअधिकार र प्रजातन्त्रवादी आन्दोलनलाई सँगसँगै लगेको विगत स्मरण गर्नुभएको छ । आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण समय षड्यन्त्रविरुद्ध समर्पित गर्दा आपूmलाई सधँै गौरव अनुभव हुने लेख्नुहुन्छ, उहाँ । दामोदर सुवालको ‘भूतले लखेटेका दिनहरू’ अत्यन्त पठनीय छ । ती दिनहरूमा उहाँको भूमिकाबारे प्रस्ट उल्लेख छ । सुवेगमान बिजुक्छेँको बालमस्तिष्कमा परेको असर मार्मिक ढङ्गले प्रस्तुत छ । उनी त्यतिबेलाका बालमनहरूका प्रतिनिधि हुन् । ज्ञानसागर प्रजापति, भक्तलाल दुवाल, सीताराम कुम्पाख, गोविन्दराम थुसा, प्रदीम प्रजापति, बालमुकुन्द बासुकलालगायतका फरक–फरक जिम्मेवारीमा रहेका फरक–फरक व्यक्तिहरूको फरक–फरक अनुभव यस विशेषाङ्कले पाठकमाझ ल्याइपु¥याएको छ ।
झूट र षड्यन्त्रविरुद्धको आक्रोशहरू, यातनागृहभित्र तथा जेलभित्रका पीडामिश्रित चित्कारहरू, परिवारजनले बगाएका आँसुका भेलहरू विशेषाङ्कले पस्केको अनुभव हुन्छ ।
एउटा भनाइ छ ‘जो आगोसँग खेल्छ, त्यो आगोमै मर्छ, जो पानीसँग खेल्छ, त्यो पानीमै मर्छ’ । ठिक यसरी नै पञ्चायती व्यवस्थाले जनताको आस्थामाथि प्रहार ग¥यो र जनताको बीचबाटै ढल्न पुग्यो । सत्यको जीत भयो । सङ्घर्षमा जनताको आस्थाले जित्यो । योे जीत पछाडि थुप्रै – थुप्रै कष्टसाध्य भोगाइ छन् र सङ्घर्षका कथा छन् । अभैm नगाइएका गीतहरू थुप्रै होलान्, खोतलखातल गरिनु जरुरी छ । यस विशेषाङ्कभित्र अटेका अनुभवबाहेक पनि मजदुर दैनिकले प्रकाशित गरेका भक्तपुर काण्ड परिशिष्टाङ्क अत्यन्त पठनीय छन् ।
‘मजदुर दैनिक ः वर्ष १३, अङ्क २१५, ९ भाद्र, २०६८ शुक्रबार’ अर्थात भक्तपुर काण्ड विशेषाङ्क अत्यन्त सङ्ग्रहणीय छ । गम्भीर अर्र्थसहितको आवरणमा ४८ पृष्ठको यस विशेषाङ्कले इतिहासका निर्माताहरूको अनुभवलाई एउटै धागोले उनेको छ । सरल र सरस भाषामा जीवन्त र स्वाभाविक अभिव्यक्तिको सङ्गालो यस विशेषाङ्क अध्ययन, छलफल र चर्चा सान्दर्भिक भइरहनेछ । मजदुर दैनिकप्रति कृतज्ञता ।
Leave a Reply