भर्खरै :

“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”

“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”

भक्तपुर, ६ वैशाख । भक्तपुर नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा ख्वप अस्पताल र ख्वप तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा तथा नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम आइतबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख सुनिल प्रजापतिले सर्वसाधारण जनता सामान्य उपचारबाट बञ्चित नहोस् भन्ने हेतुले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । गरीब निमुखा जनताको स्वास्थ्यलाई मध्यनजर गरी ख्वप अस्पतालबाट स्वास्थ्य उपचारको व्यवस्था भइरहेको र सरकारले आइतबार बिदा दिने निर्णय असान्दर्भिक रहेको चर्चा गर्दै उहाँले भक्तपुर नगरपालिकाले विद्यालय शिक्षा, सफाइ क्षेत्र र स्वास्थ्य क्षेत्रमा नियमित रूपमा सेवा सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।
ख्वप अस्पतालमा हाल ७५ जना डाक्टरबाट सेवा उपचार भइरहेको बताउँदै उहाँले २०० बेडसम्मको स्वास्थ्य सुविधा सञ्चालनमा तयारी गरिरहेका छौँ भन्नुभयो ।
ख्वप अस्पतालबाट निःशुल्क रूपमा अक्सिजन वितरण भइरहेको बताउँदै उहाँले सामाजिक सेवामा युवाहरू लागिरहनुपर्ने आवश्यकता रहेको चर्चा गर्नुभयो ।
भ.न.पा.६ का वडा सदस्य गोविन्द दुवालले रोग नै शत्रु हुने बताउँदै जाँड रक्सी सेवनले स्वास्थ्यमा हानि नोक्सानी हुने हुँदा कुलत त्यागी स्वच्छ जीवन बिताउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
समाजसेवी गोपीकृष्ण चाँगुभारीले वडास्तरीय रूपमा सञ्चालित विभिन्न पाठेघर तथा स्तन क्यान्सर, आँखा तथा नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर कार्यक्रमले स्वास्थ्यमा लाभ भइरहेको चर्चा गर्दै सरकारले कृषकहरूलाई सहुलियतसहित उत्पादनमा प्रोत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यपालिका सदस्य रोशनमैँया सुवालले खानपिनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै मिसावत खानपिनका साथै विभिन्न रोगहरूप्रति सचेत रही निरोगी हुन सकेमात्र परिवार र समाज राम्रो हुने आँैल्याउनुभयो ।
ख्वप तिलगँगा आँखा अस्पतालका आँखा विशेषज्ञ डा. अन्जु सुवालले आँखाबिना संसार नै अँध्यारो हुने बताउँदै थाइराइड, बाथ, सुगर, प्रेसर रोगले आँखालाई असर पार्ने हुँदा ६ महिनाको एकचोटि आँखा जाँच गर्नुपर्ने, आँखाको अप्रेसनपश्चात् खानपिनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
आँखा तथा नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर कार्यक्रमका सभापति एवं वडाध्यक्ष हरिराम सुवालले स्थानीय उपभोक्ता समितिमार्फत वडावासीहरूको साथ र सहयोगमा वडामा सुन्दरी गोपाल मन्दिर पुनः निर्माण, अरनिको सभा भवन, ख्वप आदर निकेतन, महाकाली पीठ सुधार कार्य, बाटो ढुङ्गा छपाइ कार्र्यहरू सञ्चालन भइरहेको चर्चा गर्दै आँखा तथा नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर कार्यक्रममा सहभागीहरूप्रति आभार व्यक्त भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *