भर्खरै :

बुबालाई छोरीको चिठी

बुबा !
हिजो राति ओभर टाइम गरेकोले आज बिहान उठ्न ढिला भयो । ब्युँझेर सबभन्दा पहिले मोबाइलमा फेसबुक हेर्ने बानी परेको छ । फेसबुक हेर्दा थाहा पाएँ–नेपालमा बुबाको मुख हेर्ने दिन रहेछ । तपार्इँलाई बेस्सरी मिस गरेँ । एकछिन त मन बेचैनजस्तो भयो । कम्तीमा आजको दिन तपाईँसँग हुन पाएको भए कति उद्वेलित हुने थियो–मन ।
रुम भद्रगोल छ । तपाईँको ज्वाईँ बिहान हुनअघि नै काममा हिँडिसक्यो । १ बजेसम्म काम गरेर कलेज भ्याएर कोठामा फर्किँदा झमक्क साँझ परिसक्छ । ऊ रुममा आउने बेलासम्म म काममा हिँडिसक्छु । ऊसँग कुरा गर्न आइतबार वा कुनै बिदा नै कुर्नुपर्छ । सञ्चो बिसञ्चो सोध्न नभ्याएको निकै समय भइसकेको छ । हामीसँगै त छौँ तर फेसबुकमा मात्र च्याट गरेरै आफ्नो कुरा सेयर गर्ने गरेका छौँ ।
रुम सफा गर्ने जाँगर चलेको छैन । तपाईँलाई केही लेख्छु भनेर ल्यापटप काखमा राखेर बसेकी छु । धन्न तपाईँले सानो बेला केही नेपाली साहित्यका पुस्तक पढ्न लगाउनुभएको थियो र केही लेख्न जाँगर लाग्छ । नत्र यहाँ नेपालीमा लेख्न जाँगर गर्ने मानिस भेटाउन मुस्किल छ । व्यस्तताको भारीले आजभोलि त कुनै पुस्तक पढ्न पनि समय बचाउन सकेकी छैन । नेपालमा प्रकाशित हुने राम्रा पुस्तकबारे अनलाइन पोर्टलबाट थाहा पाउँछु । पुस्तक समीक्षा पढ्दा पढ्नुपर्छ जस्तो लाग्छ । तर, कामको चाप र थकानले अहँ पढ्ने चाहना पूरा गर्न सकेकी छैन । फेरि पुस्तक पढ्ने कुरा पनि वातावरणमा भरपर्ने रहेछ । पुस्तकको कुरा गर्ने मान्छे नै भेट्दिनँ । हप्ताको एक दिनको बिदा खोइ केमात्र गरुँ जस्तो लाग्छ ।
तपाईँले घरमा जम्मा गर्नुभएका पुस्तकका खात सम्झन्छु । तपाईँको अध्ययनशीलता सम्झन्छु । पुस्तकलाई तपाईँले गर्ने माया सम्झन्छु । अनि यहाँको आफ्नो हालत सम्झन्छु । कतिबेला त दिक्क पनि लाग्छ । बुबाको कति पनि गुण आफूमा सरेनछ जस्तो ग्लानी पनि हुन्छ । दुई महिनाअघि नेपालबाट आएको एक जना साथीले उपहारमा केही पुस्तक ल्याइदिएका थिए । सबभन्दा पातलो पुस्तक मेट्रोमा पढेर पढिभ्याएँ । अरु कोठाको श्रृङ्गार बनेर त्यत्तिकै छन् । (पुस्तकको यो गन्थन तपाईँलाई छोरीले पढ्न नसके पनि पढ्ने चाहना त्यागेकी छैन भन्ने कुरा सम्प्रेषण गर्न हो ।)
आमाले हामीलाई छोडेर गएपछि तपाईँको जीवनमा कठिनाइ म महसुसमात्र गर्नसक्छु । मानिस जोसुकै होस्, जस्तोसुकै परिस्थिति होस्, एक्लै बाँच्न निकै गा¥हो हुन्छ । मनमा कुरा खेल्छन् । दैनिक जीवनमा आफूले गरेका अनुभव सुनाउन कोही न कोही आफूसँग हुनुपर्छ । तर, तपाईँलाई हामीले दिएका कुनै पनि विकल्प मञ्जुर भएन । मम्मी छोडेर गएपछि हामीले नै तपाईँलाई अर्को विवाहको लागि अनुरोध ग¥यौँ । तपाईँले आँखाभरि आँसु राखेर भन्नुभयो, “तिम्रो मम्मीलाई यस्तो अन्याय गर्न किन उक्साउँदै छौ तिमीहरू ? खासमा त्यस्तो गर्दा मम्मीलाई अन्याय हुने थिएन । उहाँ झन् खुसी हुनुहुने थियो । तर, तपाईँको त्यो भावनाअघि हामीले केही बोल्न सकेनौँ । दोस्रो विकल्प दियौँ–भाइ बुहारीसँगै अमेरिकामा बस्न । अमेरिकामा परिवारसँग बस्दा एक्लोपना कम हुन्थ्यो । केही महिना बसेर तपाईँ फर्किनुभयो । भाइ बुहारीले कुनै नराम्रो व्यवहार त गरेका रहेनछन् । ‘त्यो समाज नै मनपरेन’ भनेर तपाईँ फर्किनुभयो । त्यो विकल्पले पनि काम गरेन ।
मसँगै अष्ट्रेलियामा बस्न आउनुहोला भन्दा पनि मान्नुभएन । त्योभन्दा थप विकल्प हामीसँग छैन । अनि आज तपाईँ यसरी एक्लो बस्दा तपाईँको निकै चिन्ता लाग्छ बुबा ।

मेरो प्लस टु सकेपछि तपाईँहरूले मलाई एब्रोड गएर उच्च शिक्षा अघि बढाउन सल्लाह दिनुभयो । मैले प्लस टुसँगै पढेका अधिकांश साथीहरू पनि त्यही प्रक्रियामा थिए । प्लस टुको फाइनल एक्जाम्स सकेपछि नै उनीहरूको दिनचर्या नै कन्सल्टेन्सी धाउने, टोफेल, आइईएलटीएस, जीआरई क्लासमा जानेमै बित्न थालेको थियो । खासमा म प्लस टु पढेको कलेजको वातावरण नै त्यस्तो थियो, सबै जना एब्रोर्ड जानमै तल्लीन थिए । हामीलाई पढाउने शिक्षक–शिक्षिकाहरूको पहिलो प्रश्न नै– ‘तिमी कुन देशको लागि ट्राइ गरिरहेकी छौ ?’, ‘तिम्रो ग्रेड त राम्रो छ, स्टेट नै जाने हो कि कहाँ जाने हो ?’ सबैतिरको वातावरण यस्तो थियो, हामी विदेश पढ्न नगए हामीले पढेको कुनै अर्थ वा काम नै छैन । जति राम्रो ग्रेड त्यत्ति विकसित देश ।
दौडादौड यस्तो थियो, हामीले कहाँ के परिवर्तन भइरहेको छ भन्ने चियाउन नै भुलिसकेका थियौँ । साथीहरूले माला र खादा लगाएर एयरपोर्टमा आफ्ना आफन्त र साथीहरूसँग खिचेका फोटो फेसबुकको वालमा गरेको पोस्टले हामीलाई अझ विदेशिन हतार भएजस्तो अनुभव हुनेगथ्र्यो । हावा त्यत्तैतिर बहिरहेको थियो ।
सुदूर पश्चिमको एउटा विकट गाउँबाट आएर काठमाडौँमा सरकारी अधिकृत बन्नु त्यत्ति सहज र सुगम जीवन यात्रा पक्कै थिएन तपाईँको । तपाईँ सुनाउनुुहुन्थ्यो नि, तपाईँको प्रारम्भिक विद्यालय शिक्षाको कुरा । तुइनमा नदी तरेर छाना नभएको विद्यालय, शिक्षकले मसिनो लठीले सुइँकाएको, खाली खुट्टा, च्यातिएको जामा… हामीलाई कथा नै लाग्थ्यो । त्यस्तो सामाजिक पृष्ठभूमिबाट काठमाडौँ पस्नुभयो । सरकारी जागिरे बन्नुभयो । त्यो पृष्ठभूमिबाट आएर आफ्ना छोराछोरीले आफूले भन्दा बढी प्रगति होस् भन्ने चाहना तपाईँले राख्नुभयो । आफ्नो कार्यालयका अन्य कर्मचारीले एयरपोर्टमा माला र खादा लगाएका छोराछोरीसँग खिचेको तस्वीर फेसबुकमा पोस्ट गरेको देख्दा तपाईँलाई पनि मनमा कतै कुनै इच्छा पलाएको हुनुपर्छ । अझ तपाईँभन्दा तल्लो तहको कर्मचारीका छोराछोरीसमेत विदेश उडेको देखेर तपाईँलाई पनि हामीलाई विदेशमा पठाउने रहर लाग्नु स्वाभाविक थियो । फेरि भाइ र म पढाइमा पनि अब्बल नै थियौँ ।
उता कलेजमा त्यस्तो वातावरण, यता तपाईँहरूको आँखामा छचल्किएको त्यो रहरले हामीलाई विदेश जान अझ हौस्यायो । विदेशिएका साथीहरूले कार चढेको, समुद्रमा पानी खेलेको, हरियो सुन्दर पार्कमा फोटो खिचेको, उचाइमा कालो गग (चस्मा) लगाएर रमाइलो गरिरहेको, फराकिला चिटिक्क परेका सडक, आलिसान भवनका तस्वीर देख्दा हाम्रो किशोर मन पनि पानी बन्यो । सुन्दर सपनाले हामी रातरातभर सुत्न सकेनौँ । त्यो सपनाले हामीलाई छोडेन । विदेश गएरमात्र त्यो सपनाको ह्याङ सकिन सम्भव थियो ।
बुबा, अष्ट्रेलिया जान सजिलो भएको कुरा कन्सल्टेन्सीहरूले भने । बिहा गरेर गए अझ सजिलो हुने कुरा थाहा भयो । तपाईँको ज्वाइँसँग मेरो प्लस टुदेखिको अफेयर थियो । समयले मागेपछि मैले तपाईँहरूलाई मेरो सम्बन्धबारे भनेँ । मेरो उमेर बिहाको उमेर थिएन । भर्खर २३ वर्षकी त थिएँ । तर, विदेश जाने ह्याङमा परेका हामी सबै कम उमेरमा विवाह गर्न नहुने कुरालाई बिर्सेर मेरो प्रेमी भएको कुराले खुसी पो भयौँ । राजीवलाई पनि मलाई जस्तै दबाब थियो, विदेश जान । त्यो उमेर र वातावरण नै कस्तो भने, आफूले आफैंलाई पुष्टि गर्नुपर्ने । राजीवलाई अझ बढी चुनौती थियो, त्यसको । उसलाई उसका बाबुआमासामु केही गर्न योग्य छु भन्ने कुरामा पुष्टि गर्नुपर्ने दबाब थियो । उसका दाजुहरू पनि सबै विदेशमै थिए । त्यसकारण मलाई भन्दा उसलाई चर्को दबाब थियो । विवाह गर्न दुवै पक्षबाट कुनै समस्या भएन । कानुनले विवाह गर्ने उमेरका थियौँ, विवाह भयो । कसैले रोकेन । तर, विवाह भोजको निम्तो बाँड्न जाँदा सबै जिल्ल पर्थे र मेरो अनुहार क्वारक्वारती हेर्थे ।
विवाह विवाहजस्तै भयो । फोटो खिचियो, नाचियो, वेडिङ फोटोग्राफी गराइयो, फेसबुकमा पोस्ट गरियो । मिनेटैपिच्छे कति लाइक आयो होला भन्ने उत्सुकताले सताउँथ्यो । विवाह भएको हप्ता दिनपछि अष्ट्रेलियाको लागि उड्यौँ । अझ यसरी भनौँ, अष्ट्रेलिया जाने एक हप्ताअघि विवाह भयो । एयरपोर्टमा माला र खादा लगाएर फोटो खिच्ने र फेसबुकमा फोटो पोष्ट गर्ने रहर पनि पूरा भयो ।
अष्टे«लियाको सिड्नी एयरपोर्टमा उत्रेको बखत मन यति चञ्चल थियो । लागेको थियो–आखिरमा मैले गरिछाडेँ । सपना भनेको पूरा हुनेरहेछ जस्तो लाग्यो । हामीलाई रिसिभ गर्न आएको मेरो साथीसँग अँगालो मारेर खुसियाली मनायौँ । जिन्दगीभरिको खुसी सिड्नीको त्यो एयरपोर्टमा भेटिएको महसुस भयो ।
केही महिना त सिड्नीको हावापानी चिन्न नै समय लाग्यो । कोठा भेटाउन धौ धौ प¥यो । धन्न एउटा नेपाली परिवारसँग केही हप्ता बसेपछि एउटा फ्याट भेटियो । त्यसपछि कामको खोजी सुरु भयो । हामीजस्तै विभिन्न देशका मानिसले चलाएको देश अष्ट्रेलियामा काम पाउन चिनजान नै हुनुपर्ने रहेछ । पढ्ने भिसा लिएर गएका हामी केही महिना त काम खोजेरै बितायौँ । भोकको समस्या समाधान भएपछि न पढाइको कुरा आउँछ । मम्मीसँग हरेक दिनजसो कुरा हुन्थ्यो भाइबरमा । आफूलाई निकै खुसी देखाउने भरमार प्रयास गर्थें । तर, यहाँको अवस्था निकै अपाच्य भइरहेको थियो । घरमा एक छाक खाना पनि पकाउन अल्छी गर्ने, बरु भोकै बस्ने तर आफूले नै केही पकाइ नखाने हामीलाई यहाँको वातावरण उकुसमुकुस भएको थियो । सबभन्दा बढी त मम्मीकै मिस हुन्थ्यो । तर, मम्मीलाई आँसु कसरी देखाउन सक्थेँ र ? तर, तपाईँअघि भने म मन फुकाएर रोइदिन्थेँ । किनभने तपाईँले मेरो आँसुलाई बुझ्नुहुन्थ्यो । तपाईँका प्रोत्साहन दिने शब्दले मलाई केही सान्त्वना दिन्थ्यो । झन्डै दुई महिनापछि हामी दुवैले काम पायौँ । जीवन केही सहज भयो । हामी वास्तवमै अलि अलि हाँस्न थाल्यौँ । कलेजमा जान थाल्यौँ ।
बुबा, एक बिहान उठ्दा मेरो मेसेन्जरमा मेसेजको सङ्केत देखेँ । तपाईँले मेसेज पठाउनुभएको रहेछ । तपाईँले मलाई कहिल्यै पनि मेसेज पठाउनुभएको मलाई थाहा थिएन । अचम्म लाग्यो । कुराकानी नभएको हप्ता दिन जति भइसकेको थियो । भाइलाई अमेरिका पठाउने व्यस्तताले होला भनेर चित्त बुझाएँ । भाइ टेक्सास पुगेर कल गरेको थियो । कुरा भएको थियो ।
मेसेज हेरेँ । तपाईँले लेख्नुभएको थियो–तिम्रो मम्मीलाई डक्टल कार्किनोमा भएको छ । उफ् ! कस्तो डरलाग्दो मेसेज । मेरो मम्मीलाई स्तन क्यान्सर ! त्यो पनि लास्ट स्टेजमा । मलाई निकै पीडा भयो ।
त्यो दिनभर राम्ररी काम गर्न सकिनँ । कलेज गइनँ । रातभर रोएँ । मलाई कतिबेला नेपाल पुगुँजस्तो लाग्यो । आमालाई अँगालोमा बेरेर ह्वाँह्वाँ रोउँजस्तो लाग्यो । तर, अष्ट्रेलिया आएको एक वर्ष भएको थिएन । एक वर्षअघि फर्किन पाउने अवस्था थिएन । आज सम्झन्छु–किन लोभ गरेँ हुँला मैले । आमा बिरामी हुँदा किन सबै छोडेर देश फर्किन सकिनँ होला म ? मान्छेको स्वार्थी मन । पीआरका लोभ र आमाको बिरामीबीच तौलिँदा पीआरको लोभले नै जित्यो । अफसोस ।
सायद हामीलाई दुःख होला भनेर तपाईँले केही भन्नु भएन । प्रोग्रेस भइरहेको छ भन्ने कुरामात्र भन्नुभयो । मम्मीसँग कुरा हुँदा पनि ‘अहिले त मलाई सजिलो छ’ भन्नुभयो । मैले आमालाई आँसु लुकाएजस्तै उहाँले पनि मलाई आँसु लुकाउन सक्ने कुराको मैले हेक्कै राखिनछु । अनि एक साँझ काममा रहँदा तपाईँको अर्को मेसेज आयो । त्यो दोस्रो मेसेज थियो । लेखिएको थियो– ‘सरी छोरी ! मैले तिम्रो आमालाई बचाउन सकिनँ । सी इज नो मोर ।’
बुबा, समय कति निष्ठुरी छ है । पैसाको लोभमा मानिस कति तल झर्न सक्नेरहेछ है बुबा । आफ्नी आमालाई अन्तिमपटक भेट्न पनि दिएन पैसाको मोहले । आज तपाईँ त्यहाँ एक्लै हुनुहुन्छ । रिटायर्ड भए पछि तपाईँको दिनचर्या अझ कति कष्टकर होला, म महसुस गर्नसक्छु । तपाईँको अघि म जति खुलेर रुन सक्छु, तपाईँ भने मलाई आँसु देखाउनु हुन्न, मलाई थाहा छ ।
हामीलाई आफ्नो आमाबुबाको काखबाट खोसेर यो परदेशमा पु¥याउनमा को दोषी बुबा ? मजस्ता लाखौँ युवा आज अष्ट्रेलियामा मात्र छन् । उनीहरू सबैका आ–आफ्ना पीडा छन् । कति बुबाआमा यहाँ आएर बस्नुभएको देख्छु । पार्कमा अँध्यारो मुख लगाएर झोक्राएर बसेको देख्छु । केही दिनको झिलिमिली हेरुञ्जेल त खुसी देखिन्छ । फेसबुकमा पोष्ट गरिएको तस्वीर त उज्याला देखिन्छन् । तर, उहाँहरूको मनमा शान्ति देख्दिनँ, बुबा । सायद यो कुरा तपाईँले बुझ्नुभएको छ र तपाईँ यहाँ आउन मान्नुभएको छैन । नेपालजस्तो सुन्दर देश छोडेर आज हामीलाई यसरी विदेशमा धपाउन काम कसले गरिरहेको छ बुबा ? तपाईँ त धेरै पुस्तक पढ्नुहुन्छ । जीवनभर सरकारी सेवा गर्नुभयो, तपाईँलाई पक्कै थाहा हुनुपर्छ–यसको निम्ति दोषी को ?
बुबा मनमा उकुसमुकुस हुन्छ । किन आफ्नै आमाको काखबाट खोसेर मजस्ता नेपाली युवाहरूलाई यो ठाउँमा हुत्याइएको छ ?
आज बुबाको मुख हेर्ने दिनमा तपाईँलाई यस्ता प्रश्न गर्न उचित थिएन सायद । तर, तपाईँलाई नभने कसलाई भन्ने ? मेरो आँखाको आँसु र मनको बह सुनिदिने तपाईँ नै त हुनुहुन्छ ।
बुबा ! सपना साकार पार्न आकाशिएका हामी यही पनि खुसी हुनसकेका छैनौँ । नेपाल सम्झन्छु, तर नेपालबाट आउने टीठलाग्दा समाचार सुन्छु । मन सानो हुन्छ । हजार प्रश्नका भारीले मनलाई थिच्छ । अनि तपाईँलाई सम्झन्छु । सबै बुबाहरूलाई सम्झन्छु । बुबा मेरा प्रश्नको उत्तर लेख्नुहोला है ।
काममा जाने समय भयो । फ्रिजमा भएको भात तताएर कामको लागि निस्कन्छु । आज पनि कोठा मिलाउन भ्याइनँ । बुबाको मुख हेर्ने दिनको शुभकामना बुबा !
छोरी सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *