नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
सरोजराज गोसाई
केही दिन अगाडि काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीसँग यस पङ्क्तिकारको एउटा सामान्य विवाद भयो । सन्दर्भवस पश्चिम नेपालका एक विद्यार्थीले नेमकिपाले भक्तपुरमा शिक्षा, स्वास्थ्य र कलासंस्कृतिको क्षेत्रमा उदाहरणीय काम गरिरहेको छ तर नेमकिपाको इतिहास कलङ्कित छ भन्ने टिप्पणी गरे । उनले ‘ह्योजूलाई नेमकिपाका नेता–कार्यकर्ताले छाताले घोचीघोची मारेको, ब्लेडले चिरेर जिउभरि खुर्सानी दलेको’ भनी भ्रामक अभिव्यक्ति दिए । यस पङ्क्तिकारले २०४५ भदौ ९ गते भएको भक्तपुर घटनाको आफू साक्षी भएको र पञ्चायती व्यवस्थाले षड्यन्त्रमूलक ढङ्गले गरेको नाङ्गो दमनको इतिवृत्ति बताएपछि मात्र आफूले अन्यथा सुनेको भनेर पाखा लागे ।
यसको अर्थ भक्तपुर काण्ड भएको ३१ वर्षसम्म पनि प्रतिक्रियावादीहरू अनेक भ्रमको खेती गरिरहेका छन् । तथाकथित पत्रकार, शासक दलका नेता र कार्यकर्ताहरू, सामन्तवादी एवम् पुँजीवादी विचारकहरू भक्तपुरका जनता र नेमकिपाको बदनाम गर्न उद्दत छन् । २०४५ सालको काण्ड हुँदा जन्मिँदै नजन्मिएका लाखौँ युवाहरू (नेपालमा १६ वर्षदेखि ४० वर्षका युवाहरू करिब ४० प्रतिशत छन्) यसबाट दिग्भ्रमित हुनसक्छन् । नेमकिपाका अध्यक्ष रोहितलगायतको नामसमेत किटेर तथ्यहीन कुरा गरी भक्तपुरका सिधासादा जनतालाई नृशंसताको प्रतीक बनाउने कुत्सित प्रयास आज पनि भइरहेको छ । यति लामो समयको अन्तरालमा पनि प्रतिक्रियावादीहरू यस्तो सफेद झूट बोल्ने दुस्साहस गरिरहेका छन् भने त्यस बेलाको अवस्था कस्तो हुँदो हो भनेर अन्दाज गरौँ । आम जनता कति भ्रममा थिए होलान्, विशेषतः भक्तपुरका जनताले कति अपमानित महसुस गर्नुपरेको थियो होला ! देशभर रहेका नेमकिपाका कार्यकर्ता तथा समर्थकहरूले कस्तो मानसिक यातना भोग्नुप¥यो होला, अनुमान लगाउन सकिन्छ । घटनाक्रम सुन्दा रोष उम्लेर आउँछ ।
विश्वविद्यालयबाट सिक्न नसकिने पाठ
यो पङ्क्तिकार २०४५ सालमा कक्षा दसमा पढ्दै थियो । शासक वर्गका पिछलग्गू र प्रहरीलाई छलेर हिँडेका स्मृतिहरू आज पनि ताजा छन् । भैँसीगोठमा लामखुट्टेको ‘सङ्गीत’ सुन्दै निदाउन विवश रातहरू, खानतलासी गर्न यस पङ्क्तिकारको घरमा पस्नै लागेका प्रहरीबाट उम्किएको साँझ, मानव अधिकारवादीहरूलाई फोन गरेको केही समयपछि प्रहरीले घर घेरेको पल पनि दिमागको ‘ल·टर्म मेमरी’ मा सुरक्षित छ । निर्दोष व्यक्तिमाथि लागेको हत्याराको आरोप, ‘पञ्च’ हरूको रजगज आदि सम्झिँदा अहिले पनि शत्रुविरुद्ध आक्रोश र घृणाभाव उत्पन्न हुन्छ । अर्काेतिर, विद्यालयका सबै शिक्षक भूमिगत हुँदा ‘पञ्चायत’ का समर्थकहरूले विद्यालयमा कक्षा लिन थालेका थिए । धेरै जान्नेबुझ्ने एवम् क्रान्तिकारी भनिएका व्यक्तिहरूले समेत धरमराएर आत्मसमर्पणको बाटो समातेका थिए । प्रहरीले घर खानतलासी गर्दा आमा, दिदी, काकी, बहिनीले प्रहरीको साहसपूर्वक प्रतिरोध गरे । टोलै उठेर प्रहरी दमनको प्रतिकार गरे । शनिबारको दिन नक्कली सरजमिन गर्न खोज्दा निमुखा ‘ज्यापूका छाउरी’ हरू ‘रणचण्डी’ बने । भूमिगत स·ठनमा महिला सक्रियता बढ्यो । शत्रुको आँखा र कान छल्न ‘कोड भाषा’ को प्रयोग गर्न थालियो । भक्तपुर काण्ड नयाँ पुस्ताको निम्ति एउटा विश्वविद्यालयले पनि सिकाउन नसक्ने पाठ थियो ।
षड्यन्त्रका तानाबाना
जहाँसम्म ह्योजूको नृशंस कुटपिटको कारण मृत्यु भएको भन्ने कुरा छ, त्यसमा कुनै सत्यता छैन भन्ने अनेक तथ्य र प्रमाण छन् । भक्तपुर काण्डबारे थुप्रै पुस्तक तथा संस्मरण प्रकाशित भएका छन् । प्रतिक्रियावादीहरूले कसरी राजनैतिक षड्यन्त्र रच्छन् र निर्दोष नागरिकलाई षड्यन्त्रमा कसरी फसाउँछन् भन्नेबारे समेत इतिवृत्ति प्रकाशित भएकै छ ।
कर्णप्रसाद ह्योजूलाई राम्ररी चिनेकोले पनि भूकम्पपीडितहरूको अनियन्त्रित भीडको गतिविधि हेर्ने यस पङ्क्तिकारलाई चासो थियो । मध्याह्नतिर सुरु भएको विवाद र पाँच घण्टासम्मको भीडतन्त्रको मूकदर्शक बन्यो, स्थानीय प्रहरी तथा प्रशासन । ह्योजू कुटिएका थिए तर प्रचार गरिएजस्तो पाशविक तरिकाले होइन । अपराह्न ५ बजेतिर भक्तपुर दरबारस्क्वायर नजिकको साकोठामा सडकमा पल्टिएका ह्योजू आफै उठेर प्रहरी भ्यानमा चढेको पङ्क्तिकार आफैले देखेको थियो । भोलिपल्ट बिहानमात्र थाहा भयो, ह्योजूको मृत्यु भएको । वास्तवमा वीर अस्पतालमा उपचार नै नगरी षड्यन्त्रमूलक तरिकाबाट पञ्चायती शासकले ह्योजूको हत्या गरे ।
ह्योजूको हत्याको आरोपमा पञ्चायती व्यवस्थाका पृष्ठपोषक तथा ताबेदारहरूले धमिलो पानीमा माछा मार्न थाले । भक्तपुरमा महिनौँसम्म प्रहरीको ताण्डव नाच चलिरह्यो, सिङ्गो भक्तपुर बन्दीगृहजस्तो बन्यो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायत ६७ जनालाई ज्यान मुद्दामा फसाई देशका कार्यकारी प्रमुखले फाँसीको माग गरे । कैयौँले अमानवीय यातना भोगे, कैयौँको घरबार भाँडियो । राजनीतिकरूपमा सचेत पुरुष सबै जेल परे या भूमिगत हुन बाध्य भए ।
जनताबीच बदनाम भइसकेको मानिसलाई भूकम्पपीडित जनतालाई राहत वितरण गर्न अनधिकृतरूपमा भक्तपुर खटाइएको थियो । त्यसमा पनि भूकम्पपीडित जनतालाई राहत दिने नाममा भेदभावपूर्ण तरिकाले धाँधली गरेपछि जनताले कठालो समातेर बजार परिक्रमा गराउन खोजे । ह्योजूको विश्वासघातप्रति जनआक्रोश थियो । भ्रष्टाचारविरोधी आन्दोलनमा हुर्किएका भक्तपुरका जनताले कुनै पनि भ्रष्ट चरित्रलाई माफी दिने कुरै थिएन । पञ्चायतइतर जनताबाट सजाय पाएका ‘पञ्च’ हरूले तत्कालीन राज्यबाट पुरस्कृत हुँदै आएअनुसार मन्त्री वा त्यस्तै पदीय अवसर पाउँथे । त्यही आशाले होला ह्योजू आफै ‘जुत्ताको माला’ लगाउन लालायित भए । ‘नाम होस् या बदनाम, नहोस् गुमनाम’ भनझैँ आफूलाई पञ्चायती व्यवस्थाको भक्त साबित गर्दै माथिल्लो दर्जा प्राप्त गर्ने सपना बोकेको ह्योजूले आफै षड्यन्त्रको गोटी भएको चालै पाएनन् ।
नेमकिपाको सिद्धान्त र कारबाही
सिद्धान्ततः नेमकिपा व्यक्तिहत्याको राजनीतिको विरोधी हो । झापालीहरूले गरेको व्यक्तिहत्याको राजनीतिको तीव्र आलोचना नेमकिपाले नै गरेको थियो । क्रान्तिको निम्ति शोषितपीडित जनता राजनीतिक एवम् वर्गीयरूपमा सचेत र सङ्गठित हुनुपर्छ भन्ने नेमकिपाको ठहर हो । केही शोषक तथा सामन्तको हत्या गरी समाजमा आमूल परिवर्तन हुनसक्दैन भन्ने आधारभूत सिद्धान्तमा नेमकिपाको अडान हो । ह्योजू जनताबीच बदनाममात्र थिएनन्, जनताबाट तिरस्कृत पनि थिए । नेमकिपा र जनताको निम्ति कौडीको मूल्य नभएका मानिसबारे सोच्नु पनि समयको बर्बादी हुन्थ्यो ।
भ्रष्टाचारीलाई उल्टो टोपी लगाई घुमाउने, जुत्ताको माला लगाइदिने गतिविधि भने नेमकिपाले पहिलेदेखि गरेकै थियो । यसले गर्दा समाजमा भ्रष्ट प्रवृत्तिले सामान्यतः टाउको उठाउन पाउँदैनथ्यो । पञ्चायती व्यवस्था आफै पनि भ्रष्टाचारीको संरक्षक भएकोले भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा थिएन । भक्तपुर त्यत्तिकै सदाचारको पर्याय बनेको पनि होइन, यस्तै विगतको परिणामस्वरूप भक्तपुरका गतिविधि पारदर्शी र जनउत्तरदायी छन् । तथ्य, प्रमाण र तर्कमा आधारित रही भ्रष्टाचारीहरूलाई गरिने ती विगतका जनकारबाहीले सामाजिक मान्यता पनि पाएको थियो । पार्टीका योजनाबद्ध कारबाहीहरूमा कसैको ज्यान जोखिममा पार्ने कुनै गतिविधि नहोस् भन्ने कुरामा पार्टी कार्यकर्ता सधैँ सजग हुन्थे ।
फेरि होला त ?
नेमकिपाले हरेक भदौ ९ गतेलाई कालो दिनको रूपमा स्मरण गर्छ । इतिहासको भत्र्सना गर्नुको अर्थ इतिहासका सुपात्रहरूको सम्मान गर्नु हो भने कुपात्रहरूलाई दुत्कार्नु पनि हो । पेरिस कम्युनका योद्धाहरूले लडेर वीरगति पाएको स्थानमा पुगी नयाँ पुस्तामा विद्रोहको निम्ति तयार रहन उत्साहित गरिएजस्तै वर्ग शत्रुविरुद्ध आगो ओकल्नसक्ने नयाँ दस्ता तयार गर्न ती सङ्घर्षका दिनहरूको स्मरण गर्नुपर्दछ । ‘इतिहास दोहोरिन्छ, फरक ढङ्गले’ भनेझैँ फेरि पनि त्यस्ता षड्यन्त्र हुनसक्छन्, जनता सचेत हुनुपर्छ भन्ने कालो दिनको स्मरण गर्नाको मुख्य ध्येय भएको कुरा हरेक वर्षमा आयोजना हुने कार्यक्रममा जोड दिइने विषय हो । ‘मेरा बाबुबाजेले घिउभात खाएका थिए, मेरो हात सुँघसुँघ’ भनेझैँ गरीमात्र इतिहासको स्मरण गर्न खोजिएको होइन भन्नेमा नेमकिपाका कार्यकर्ता पङ्क्तिसमेत प्रस्ट छन् । यसले पार्टी कार्यकर्तामा सङ्घर्षको निम्ति उत्तिकै जोश र जाँगर भर्ने काम गरेको पाइन्छ ।
‘जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ, जहाँ प्रतिरोध हुन्छ, त्यहाँ विद्रोह हुन्छ ।’ निर्दलीय पञ्चायती व्यवस्था र निरङ्कुश राजतन्त्रको विरुद्ध लड्ने परिवर्तनकामी युवाको मनमा गुञ्जिरहेको आवाज थियो यो । ‘भक्तपुर काण्ड’ एक प्रकारले राजधानीकै जनतामाथिको दमन थियो । क्रान्तिकारी जनताको निम्ति यो ठूलो परीक्षाको घडी पनि थियो । भक्तपुर काण्डले आफूमाथिको अत्याचारबाट उन्मुक्तिको निम्ति आफैले लड्नुपर्ने क्रान्तिकारी चेत दियो । पञ्चायती व्यवस्थाविरुद्ध लड्नुबाहेक जनतासँग अन्य विकल्प थिएन । जनताका नेता तथा कार्यकर्तालाई न्याय दिने काम जनताले बाहेक अरू कसैले गर्नसक्दैनथे । सर्वहारा वर्गको लागि हार्नको निम्ति सिक्रीबाहेक अरू थोक केही हुँदैन । करिब डेढ वर्षपछि भक्तपुर फेरि उठ्यो, किनभने जित्नको निम्ति संसार थियो । भक्तपुरका जनताको साहस, त्याग र बलिदान नै निरङ्कुश व्यवस्थाको काल बन्यो । ‘जनताको शक्ति अजेय हुन्छ, जनता कतै पनि पराजित हुँदैनन् ।’ भन्ने प्रमाणित भयो । पञ्चायती व्यवस्था आफूले खनेको खाल्टोमा आफै प¥यो ।
भक्तपुर काण्डजस्ता षड्यन्त्रहरू दोहोरिएलान् ? षड्यन्त्र दोहोरिने सम्भावना हुन्छ । किनभने ‘इतिहास दोहरिन्छ, फरक ढ·ले, देशको भूअखण्डता एवम् सार्वभौमिकताको सङ्घर्ष गर्ने देशभक्त शक्तिविरुद्ध षड्यन्त्र विगतमा भएका थिए भने अब पनि नहोला भन्न सकिन्न । नेमकिपाले वैज्ञानिक समाजवादको नारा दिएको छ । नेमकिपाले भारतीय एकाधिकार पुँजी र विस्तारवादी नीतिविरुद्ध सङ्घर्ष गरिरहेको छ । अमेरिकी साम्राज्यवादविरुद्ध अविराम सङ्घर्षमा लागिरहेको छ नेमकिपा । प्रतिक्रियावादी वर्गले सजिलै राज्यसत्ता छोड्दैन ! यो पनि इतिहासले पुष्टि गरेको तथ्य हो ।
पुरानो पुस्ताको अविराम सङ्घर्षको परिणामस्वरूप जनताले पुँजीवादी प्रजातन्त्र पाएका छन् । जनताको पूर्ण स्वतन्त्रताको निम्ति आन्दोलन र सङ्घर्षलाई अझ अगाडि बढाउनुको विकल्प छैन । वैज्ञानिक समाजवाद प्राप्तिको लागि नयाँ सङ्घर्षको नेतृत्व नै नयाँ पुस्तालाई उपहार हुनेछ ।
Leave a Reply