नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
नीरज
भौगोलिक, सांस्कृतिक र राजनीतिक कारणले नेपालको लागि संसारको मूलबाटोमा पस्ने सजिलो बाटो भारत थियो । विशेषतः शाहकालमा उत्तरी छिमेकी देश चीनसँग नेपाली जनताको सम्बन्ध भौगोलिक कारणले मात्र पातलो बनेको थियो । अफिम युद्धयता चीन आफैं पनि विभिन्न साम्राज्यवादी देशका थिचोमिचोको शिकार बन्यो । लगभग एक सय वर्ष चीन उपनिवेश र युद्धको चौघेराबाट बाहिर निस्कन सकेन । नेपालको सिमाना जोडिएको चीनको तिब्बत चीनकै सबभन्दा पछाडि परेको क्षेत्रमध्ये पर्दछ । चीनका अन्य सहरमा फैलिएको नवीन विचार तिब्बतमा निकै ढिला मात्र पुगेको थियो । त्यसकारण चीनमा हुर्किएको विचार नेपाल पस्न पनि निकै समय लाग्यो ।
तर, दक्षिणी छिमेकी भारत आउनजान नेपाली जनतालाई तुलनात्मक रूपमा सहज थियो । सांस्कृतिक र सामाजिक कारणले पनि नेपाली जनतालाई दक्षिण सहज थियो । भौतिक परिस्थितिले मानिसको चेतनास्तरलाई आकार दिएको हुन्छ । भारतसँगको सहजताले त्यहाँ प्रबल बनेको विचारको लयमै नेपाल अघि बढेको नेपालको इतिहास पढ्दा बुझ्न सकिन्छ । (तथापि विज्ञान प्रविधि, विशेषतः सूचना प्रविधिको विकासका कारण आजको परिस्थिति बदलिसकेको छ ।)
राणा शासन तत्कालीन विश्वकै सबभन्दा निरङ्कुश कूलीनतन्त्रमध्ये एउटा थियो । एसियामा बेलायती उपनिवेशवादको दबदबाविरुद्ध सङ्घर्ष गर्ने नेपालको दरबारभित्रको पक्ष (जसको नेतृत्व भीमसेन थापाले गरेका थिए) लाई पन्छाएर नेपालमा राणाशासनको जग बसालियो । बेलायतले उपनिवेश बनाएको भारतअन्तर्गतका ५० भन्दा बढी स–साना राज्य (प्रिन्स्ली स्टेट) भन्दा नेपालको राजनीतिक अस्तिस्व भिन्न खालको थियो । तथापि राणाहरू बेलायतका कठपुतली शासकहरू थिए । भारतमा बेलायती उपनिवेशवादविरुद्ध सल्किरहेको विद्रोहको आगो निभाउन ‘फिरङ्गी’ हरूलाई मद्दत गर्न सबभन्दा अग्रपङ्क्तिमा राणा शासकहरू नै थिए । नेपालको अर्थ काठमाडौँ उपत्यकाभन्दा बाहिर फैलिसकेको थिएन । काठमाडौँ उपत्यकालाई सबै हिसाबले बन्द राखिएको थियो । संसारमा चलेको हावा नेपालमा निषेध गरिएको थियो । त्यसो त जङ्गबहादुर राणालगायत राणा परिवारका कयौं सदस्यहरूले युरोपको भ्रमण गरेका थिए । तर, त्यसको प्रभाव भने राणाका दरबारमा मात्र सीमित थियो । सर्वसाधारण नेपाली जनताको लागि सबै ढोका बन्द थिए । बेलायती शासकलाई खुशी बनाएर नेपाली जनतामाथि निर्मम अत्याचार गरेर नै राणाशासन चलेको थियो ।
तर, नेपाललाई कति दिन नै पो संसारको प्रवाहबाट अलग राख्न सकिन्थ्यो र ! भारतमा फैलिंदो राजनीतिक चेतनाको प्रभाव क्रमशः नेपाली समाजमा पनि सल्किंदै गयो । भारतकी अध्येता सन्त्वाना तिवारी चौबेलिखित पुस्तक ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र भारतीय वामपन्थी’ (Democratic Movement in Nepal and the Indian left)मा भारतमा फैलिंदो राजनीतिक चेतनाले नेपालको राजनीतिमा पारेको प्रभावबारे अध्ययन गरिएको छ ।
दोस्रो विश्वयुद्धमा नेपालका धेरै युवा बेलायतको पक्षबाट लड्न युद्धमैदानमा होमिए । कति मरे, कतिले शरीरका अङ्ग गुमाएर फर्के । कति जेनतेन बाँचेर फर्के । फर्केर उनीहरू कति भारतकै विभिन्न ठाउँमा बसे । कति नेपालमा पनि फर्के । बेलायतको पक्षमा लड्न भाडाका सिपाहींको रूपमा विदेशिएका यिनै गोर्खाली सेनाले बोकेर फर्केको चेतना र जानकारी नै बन्द नेपालको चौघेरा तोड्ने पहिलो आधार बनेको चौबेको पुस्तकमा चर्चा गरिएको छ । भारतमै बस्न थालेका कति गोर्खाली सिपाहींहरूलाई त्यहाँ उम्लँदो स्वतन्त्रता आन्दोलनका नेताहरूले सङ्गठन गरे । बेलायती उपनिवेशवादविरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेका गदरजस्ता विद्रोही समूहलाई सैनिक ज्ञान र साहस भएका गोर्खाली निकै उपयोगी हुनु स्वाभाविक थियो । तिनै गोर्खालीमाझ सङ्गठन गर्न भारतका त्यत्तिबेला स्वतन्त्रता सङ्ग्रामीहरूले विभिन्न अखबारहरू प्रकाशित गरे । उच्च शिक्षा अध्ययनको लागि भारतका विभिन्न सहर र विश्वविद्यालयमा बसेका विद्यार्थीहरूमा पनि त्यहाँ चर्केको आन्दोलनले राजनीतिक चेतना भरिदियो । यसप्रकार नेपालमा भारतमा फैलिएको राजनीतिक चेतनाले क्रमशः जरा गाड्दै गयो । गोर्खाली सिपाहीं र भारतमा पढ्न गएका कति विद्यार्थीहरू भारतका विभिन्न राजनीतिक सङ्गठनमा आवद्ध भए । गोर्खा फौजबाट निष्काशन गरिएका पृथ्वीमान थापा गोर्खाली सिपार्हीबीच सङ्गठन गर्ने एकजना सङ्गठनकर्ता थिए । सन् १९०७ को जुलाई २७ मा उनले कलकत्ता कलेज चोकमा दुई हजार मानिस सहभागी एउटा सभामा भाषण गरेका थिए । उनले देहरादुन र लाहोरमा रहेका गोर्खाली सेनाको लागि ‘गोर्खा साथी’ को अखबार समेत प्रकाशन गरेका थिए । सङ्गठित हुनुपर्छ, पत्रिका निकाल्नुपर्छ, चेतना फैलाउनुपर्छ भन्ने जागरण नेपाली समाजमा एवंरीतले पस्दै गयो । भारतमा बसेका नेपालीमा फैलिएको यस्तो चेतना नै कालान्तरमा नेपालमा राणाशासनको निरङ्कुशताविरुद्ध विद्रोह गर्ने प्रस्थानबिन्दु बन्यो ।
भारतका बेलायती उपनिवेशवादविरुद्ध आन्दोलन र विशेषतः दोस्रो विश्वयुद्ध पछिको फरक परिस्थितिमा भारतमाथि बेलायती नियन्त्रण क्रमशः खुकुलो बन्दै गयो । त्यसको प्रभाव नेपालको राणशासनमा पनि प¥यो । भारतमा बढ्दो स्वतन्त्रता सङ्घर्ष जति जति उकालो लाग्यो, त्यत्ति त्यत्ति राणाशाही कमजोर बन्दै गयो । पुस्तकमा विशेषतः त्यस परिस्थितिमा नेपालमा राजनीतिक जागरण विस्तार गर्न भारतका राजनीतिक पार्टीहरूको भूमिकाबारे अनुसन्धान गरिएको छ ।
सन् १९४२ मा भारतको काङ्ग्रेस पार्टीभित्र विभाजन देखियो । सुवासचन्द्र बोसले फर्वार्ड ब्लक खोलेर स्वतन्त्रता आन्दोलनलाई अर्को दिशा दिन खोजे भने जयप्रकाश नारायण, डा.राममनोहर लोहियाजस्ता समाजवादीहरू भने काङ्ग्रेस समाजवादी पार्टी स्थापना गरेर फरक तरिकाबाट अघि बढ्न खोजे । जेल तोडेर जयप्रकाश नारायणलगायत समाजवादी नेताहरू नेपालमा आएर भूमिगत बसे । त्यही क्रममा नारायण र लोहियालगायतका समाजवादी नेताहरूले नेपालको राणाशासनविरोधी सङ्घर्षलाई भारतीय स्वतन्त्रता आन्दोलनकै हिस्साको रूपमा अघि बढाउन खोजे ।
चौबेको अध्ययनले स्वतन्त्र भारत बनेपछि प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपालको शासक र विद्रोही पक्ष दुवैलाई आफ्नो वशमा राखेर नेपालको प्रजातान्त्रिक आन्दोलनलाई आफ्नो नियन्त्रणमा राखेको देखाएको छ । नेपाल भारतको ‘प्रिन्स्ली स्टेट’ नभएकोले एउटा अलग देशको रूपमा एकातिर राणाहरूको भरोसा बन्न खोज्ने र अर्कोतिर नेपाली काङ्ग्रेसलाई गतिविधि गर्न मद्दत गरेको पुस्तक पढ्दा देखिन्छ । एकातिर वीरगञ्जमा मुक्तिसेनाले बैङ्क लुटेको पैसा राणालाई फिर्ता गर्ने र सिमानामा हतियारमाथि कडाई गर्ने अनि अर्कोतिर काश्मीरका शासकमार्फत नेपाली विद्रोही पार्टीलाई हतियार मद्दत गराउने दोहोरो भूमिका भारतीय शासक वर्गले खेलेको देखिन्छ । भारतका समाजवादी नेता जयप्रकाश नारायणको सहयोगमा नेपाली काङ्ग्रेसलाई वर्माका नेता यु बा स्वेमार्फत हतियार दिलाएको प्रसङ्ग पुस्तकमा चर्चा गरिएको छ ।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना सन् १९४९ (विसं २००६) मा भयो । कम्युनिष्ट पार्टी स्थापनामा भारतीय कम्युनिष्टहरू ब्रिजेश मिश्र र भूमिगत भारतीय कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध इन्चार्ज निखिल चक्रवर्तीको योगदान रहेको चौबेको अध्ययनले देखाएको छ ।
यो पुस्तकको विशेषता यसमा नेपाल र भारतको २००७ सालसम्मको राजनीतिक उथलपुथलको तुलनात्मक अध्ययन हुनु हो । भारतमा भइरहेको घटनालाई त्यही बेला नेपालमा भइरहेको घटनासँग तुलनात्मक अध्ययन गर्दा यसले पाठकको जानकारीलाई अझ फराकिलो बनाएको देखिन्छ । चौबेले भारतका वामपन्थी शक्ति भन्नाले भारतीय काङ्ग्रेस, भारतीय समाजवादी काङ्ग्रेस, भारतीय कम्युनिष्ट पार्टीआदि दललाई समेटेका छन् ।
नेपालको राजनीतिक इतिहासका कतिपय प्रसङ्गमा लेखकको जानकारी अपूर्ण भए जस्तो देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाकालबारे उनको जानकारी पूर्ण छैन । विशेषतः भारतीय कम्युनिष्ट पार्टीकै सदस्य बनिसकेका मनमोहन अधिकारीबारे बढी चर्चाले कम्युनिष्ट पार्टी स्थापनाका अन्य प्रसङ्ग र परिस्थितिको चर्चा ओझेल परेको छ ।
भानुभक्त आचार्यलाई ‘आचार्य भानुभक्त’ लेख्नुले भानुभक्तको सन्दर्भमा आचार्य योग्यता नभई थर भएको जानकारी नभएजस्तो भान पाठकलाई हुन्छ । त्यस्तै भानुभक्त आचार्यलाई नेपालमा आधुनिक चेतनाको प्रस्थानबिन्दुको रूपमा प्रस्तुत गर्नु विवादको विषय हुनसक्छ । आचार्यकै कतिपय कृतिको आधारमा उनले आधुनिक विचारलाई अङ्गीकार गरेको भन्ने विषयमा एकमत नहोला । तर, पढ्ने–लेख्ने संस्कारको शून्यता भएको तत्कालीन समाजमा ‘रामायण’ लगायतका कृति लेखेर नेपाली समाजमा चेतनाको झुल्को प्रवेश गराएका थिए–भानुभक्तले । सन् २००१ मा पहिलो पटक प्रकाशित यो कृतिले विशेषतः विसं २००७ सालसम्मको नेपाल र भारतको राजनीतिक अवस्थाबारे जानकारी हासिल गर्न उपयोगी छ । जानकारी र तथ्य–तथ्याङ्कमा धनी यो पुस्तकले नेपाली पुस्तकमा मुस्किलले भेटाइने कतिपय जानकारी भने समावेश गरेको छ ।
पुस्तकको नामः म्झयअचबतष्अ ःयखझभलत क्ष्ल ल्भउब िब्लम तजभ क्ष्लमष्बल ीभात
लेखकः सान्त्वना तिवारी चौबे
प्रकाशकः कागिङ्गा पब्लिकेशन
Leave a Reply