भर्खरै :

चीनका “अनुजा बानियाँ” हरू

चेतनाथ आचार्य
 सन् २०१८ सेप्टेम्बर पहिलो साता चीनमा एउटा समाचारले खुब झ्याली पिट्यो । एकजना किशोरले परोपकारी काम गरेर अन्तर्राष्ट्रिय ख्याति कमाएको समाचारमा उल्लेख थियो । समाचार चानचुने सञ्चार माध्यममा प्रकाशन नभई चीनको पुरानो समाचार एजेन्सी सिन्ह्वाले प्रकाशन गरेको थियो ।
समाचारका मुख्य पात्र २० वर्षे श रुनलोङ थिए । उनीसँग पढाइ र सम्पत्ति त प्रशस्तै थियो नै शक्तिशाली मान्छेहरूसँग पहुँच पनि उस्तै थियो । अमेरिकाका वर्तमान राष्ट्रपति ट्रम्पदेखि पूर्वराष्ट्रपति ओबामासँग भेट गरेर छलफल गरेको प्रमाणस्वरुप फोटो थियो । उनले चिनियाँ राष्ट्रपति सी सहभागी भएको एक गोष्ठीमा भाग लिएर गरिबी निवारणमा महत्वपूर्ण विचार राखेको पुष्टि गर्ने फोटो त झन् छँदै थियो । सिन्ह्वाले प्रकाशन गरिसक्दा सयौँ सञ्चारमाध्यममा त्यो समाचार भाइरल बन्यो । सामाजिक सञ्जालमा पनि उनको खुब तारिफ गरियो । युवा उमेरमै हार्भर्ड विश्वविद्यालयबाट स्नातक भएका उनी अथाह सम्पत्तिका मालिक थिए । चीनले गरिबी निवारणमा प्रयास गरिरहेका बेला उनीसँग भएको सम्पत्ति र बुद्धिले निकै काम गर्न सक्थ्यो । सबैले स्याबासी दिएर प्रशंसा गरिएका व्यक्तिलाई तुरुन्तै चिनियाँ प्रहरीले गिरफ्तार ग¥यो । उनी वास्तवमा २० वर्षका हैन १७ वर्षका एकजना किशोर रहेछन् जसले चर्चाको भोक लागेर सबै भ्रम मात्र छरेका रहेछन् । सिन्ह्वा समाचार समितिले माफी माग्दै लनलाइनबाट आफ्नो समाचार हटायो । दुई दिन अगाडि प्रशंसा गर्दै सामाजिक सञ्जालमा लेख्नेहरूले उनलाई सशक्त कारबाही गर्नुपर्ने आशय व्यक्त गरे । एक प्रकारले उनी नेपालकी अनुजा बानियाँ ठहरिए ।
अनुजा बानियाँको कथा
वि.सं. २०६७ बैशाख ७ गते कान्तिपुर दैनिकमा एउटा समाचार प्रकाशन भयो जसमा धरानकी अनुजा बानियाँले इटहरीबाट धरान जाने यात्री बसमा ९१ लाख रुपैयाँ र हिराको हार भेटेर सम्बन्धित व्यक्तिलाई दिएको उल्लेख थियो । यो समाचार पनि तुरुन्तै सबैतिर फैलियो । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले फोन गरेर अनुजालाई बधाई दिए । त्यो समाचार पनि कान्तिपुरले प्रथम पृष्ठमै राख्यो । बीबीसी नेपाली सेवाले समेत स्थान दियो ।
कान्तिपुर र बीबीसीजस्ता ठूला भनिएका सञ्चारमाध्यमले अनुजालाई उचालिरहेका बेला अन्नपूर्ण पोष्ट दैनिकले पैसा भेटिएको कुरा कतैबाट पुष्टि नभएको समाचार पहिलो पटक प्रकाशन भयो । त्यसपछि यो समाचारको फरक कोणबाट खोजबिन सुरु गरियो । अन्ततः समाचार पूर्ण रूपमा कपोलकल्पित र भ्रामक भएको पुष्टि भयो । ठूला भनिएका सञ्चार संस्थानहरू त डुबिसकेका नै थिए त्यसमाथि तत्कालीन राष्ट्रपति रामवरण यादवलाई पनि विवादमा ल्याउने काम समाचारले ग¥यो । समाचारमा केही खोट पहिले नै रहेका थिए । जसलाई सजिलैसँग परीक्षण गर्न सकिन्थ्यो । सार्वजनिक बसमा ९१ लाख कालो प्लास्टिकमा भेटिएको भनिएको थियो । या बिल्कुल पत्याउन नसकिने कुरा थियो । ९१ लाख रुपैयाँ नोटका बिटा कसैले पनि प्लास्टिकको झोलामा बोक्दैन । त्यसमाथि सार्वजनिक बसमा । त्यसैगरी समाचारमा पैसा हराउने व्यक्तिबारे कुनै जानकारी थिएन ।
अनुजा बानियाँले चर्चा बटुल्नका लागि प्रायोजित रूपमा कल्पना गरेको घटना समाचार बनेको पर्दाफास भएपछि अन्य थुप्रै कुरा बाहिर आए । उनीकै दाजुले दुनोट बजार लगिदे भन्दा त कमिसन खोज्ने बहिनीले त्यत्रो पैसा भेटेर फिर्ता दिई भन्दा आफूले चाहिँ नपत्याएको बताएका थिए भने पैसा हराउने व्यक्ति पहिले त पुरुषोत्तम पौडेल कहिले पुरुषोत्तम पोखरेल तोकिएकोे थियो । कान्तिपुरका धरानस्थित संवाददाताले पुरुषोत्तमकी छोरी र छोरा हुँ भन्ने व्यक्तिसँग फोनमा कुरा गरेर समाचारको पुष्टि गर्ने प्रयास गरेको पछि लेखेका छन् । ती व्यक्तिहरू को थिए र पछि प्रहरीले उनीहरूका बारेमा छानबिन ग¥यो गरेन भन्ने कुरा पनि प्रकाशनमा आएन ।
त्यसो त नेपाली पत्रकारिता चुकेको अनुजा बानियाँको समाचारमा मात्र होइन । कहिले रसेन्द्र भट्टराईलाई उचाल्दा पत्रकारिताको छवि धुमिल हुन पुगेको छ भने कहिले दिलशोभाका समाचारले नेपाली पत्रकारितालाई कालो पोतेको छ ।
नेपालमा जस्तो स्वच्छन्द तरिकाले चीनमा समाचार सम्प्रेषण हुँदैन । कडा सरकारी सेन्सरसिप लागू भएको छ भने सञ्चारसम्बन्धी ऐनकानुन पनि निकै कडा छन् । तै पनि कहिले काहिँ चिनियाँ सञ्चार माध्यममा पनि अनुजा बानियाँहरू देखा पर्छन् ।
श रुनलोङको कथा
श रुनलोङ नामका २० वर्षीय युवाको व्यक्तिगत विवरणअनुसार उनी चिनियाँमूलका न्युजिल्याण्डका नागरिक हुन् । विश्वविख्यात हार्भर्ड विश्वविद्यालयबाट स्नातक भएका उनलाई बोस्टोनको उत्तरपूर्वी विश्वविद्यालयले वित्त विषयमा विद्यावारिधि प्रदान गरेको छ । कलिलो उमेरमै विद्यावारिधि गरेका र अत्यन्तै धनी भएकाले उनी विश्वको वाणिज्य क्षेत्रमा प्रभावशाली व्यक्तिको रूपमा उदाएका थिए । तीव्र आर्थिक विकास गर्दै चारवटा ठूला पुँजी बजारको एकल स्वामित्व उनमा थियो । उनले दक्षिण चीनमा सुपर कार क्लब स्थापना गरेका थिए भने जापानी रेडक्रस सोसाइटीका सह–अध्यक्ष पनि थिए । सामाजिक सेवामा उनी संसारकै नामी परोपकारी पनि भए । उनले अथाह सम्पत्ति परोपकारमा खर्च गर्दै आएका थिए ।
सन् २०१८ सेप्टेम्बर १० तारिख सोमबार चीनको शानतोङ प्रान्तको सदरमुकाम चिनान प्रहरीले एक विज्ञप्ति जारी ग¥यो । जसअनुसार श रुनलोङ चीनको माध्यमिक तहबाट अध्ययन छोडेका एक १७ वर्षे सामान्य किशोर हुन् । उनले लोकप्रिय बन्नका लागि केही व्यक्तिलाई पैसा तिरेर आफ्नो बारेमा लेख्न लगाएका रहेछन् । उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको कुरा पनि सो विज्ञप्तिमा उल्लेख थियो । शले कुनै भाडाको मान्छे खोजेर आफ्नो बारेमा बढाइचढाइ लेख्न लगाएको र आत्मसन्तुष्टिका लागि यसो गरेको पाइएको प्रहरीले बताएको थियो ।
प्रहरीको विज्ञप्तिपछि सिन्ह्वा समाचार समितिले आफ्नो गल्ती भएको स्वीकार गरेको छ । सिन्ह्वा समाचार समितिले चीनमा गरिबी निवारण कसरी हुनसक्छ भन्ने बारेमा शको धारणासहितको समाचार प्रकाशन गरेको थियो । यसले आफ्नो छविलाई नराम्रोसँग बिगारेको भन्दै सिन्ह्वाले अनलाइनबाट सो लेखलाई हटाएको हो ।
लेखमा शलाई गरिबी निवारणको हिरोको रूपमा चित्रण गर्दै शानतोङ प्रान्तको इन्टरनेट आर्थिक अनुसन्धान केन्द्रको प्रमुखका रूपमा प्रस्तुत गरिएको थियो । तर, यसप्रकारको कुनै संस्था नै नभएको पछि पत्ता लाग्यो । ‘जब गरिब मान्छेहरूको भीड मेरो आँखा अगाडि आउँछ तब म ती दयालु मान्छेलाई गरिबीबाट मुक्त गराउन खोज्छु’ शलाई उद्धृत गर्दै सिन्ह्वाले लेखेको थियो । त्यसपछि विभिन्न अनलाइनले उनलाई हिरो बनाएर समाचार प्रकाशन गर्न थाले । चाइना न्युज सर्भिसले पनि सिन्ह्वाको समाचारलाई पुनःप्रकाशन गरेको थियो ।
उक्त लेखमा शका उडन्ते कुराहरू मात्र थिएनन् । फोटोसप गरेर बनाइएका विभिन्न तस्वीर पनि थिए । जहाँ उनी विश्वविख्यात व्यक्तिहरूसँग उभिएका थिए । तस्वीरमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प, जर्मन चान्सलर एंजेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्राँेसँग उभिएका देखिन्थे । शले निकै सिपालु फोटोसपको सहयोगमा ती तस्वीर बनाएका थिए ।
चीनमा ८० करोड मान्छेले इन्टरनेटको प्रयोग गर्दछन् । तसर्थ गलत कुरा पनि तुरुन्तै करोडौं मान्छेको पहुँचमा पुग्ने गर्दछ । त्यसमाथि चिनियाँ ट्वीटरका रूपमा रहेको विइपो र वीच्याटबाट कुनै पनि समाचार आपसमा शेयर हुँदै केही समयमै छ्यापछ्याप्ती हुने गरेका छन् ।
चीनले इन्टरनेटसम्बन्धी सन् २०१३ को सेप्टेम्बरमा फौजदारी कानुन पारित गरेको छ । सो कानुनअनुसार कुनै पनि व्यक्तिले गलत तथा झुटा आरोप लाग्ने कुराहरू इन्टरनेटमा राखेमा कारबाहीको भागीदार बन्नुपर्ने हुन्छ । त्यसप्रकारको समाचार अथवा कुनै विषय पाँचसयभन्दा बढी व्यक्तिले सेयर गरेमा सुरुमा राख्नेलाई तीन वर्षसम्म जेल सजाय हुने गर्दछ ।
लोभले लाभ, लाभले विलाप
आफ्नो चर्चा कमाउन अनुजाले गरेको जस्तै हर्कत चीनमा श रुनलोङले गरे । त्यस्तै प्रलोभनमा परेर छिटै धनी हुने सपना देख्ने एकजना चिनियाँ पत्रकार यतिबेला जेलमा छन् । २७ वर्षीय पत्रकार छन् योङचौ चीनको दक्षिणमा रहेको मुख्य सहर क्वाङ्चौबाट प्रकाशित न्यू एक्सप्रेस दैनिकका रिपोर्टर थिए । सन् २००९ मा स्नातक भएपछि उक्त समाचारपत्रमा जोडिए । उनले सन् २०१२ को सेप्टेम्बरदेखि सन् २०१३ को मेसम्म एउटा चिनियाँ कम्पनीको गलत क्रियाकलापको पर्दाफास गर्दै १० वटा लामा रिपोर्टिङ गरेका थिए । चिनियाँ कम्पनी जुमलिएनका बारेमा उनका धारावाहिक रिपोर्टिङ त्यतिबेला चर्चित बनेका थिए । हुनान प्रान्तमा मुख्यालय रहेको जुमलिएन कम्पनी निर्माण सामग्री उत्पादन गर्ने मुख्य कम्पनीमध्येको एक हो । पत्रकार छनले गरेको रिपोर्टिङले दक्षिणी मुख्य सहरहरू क्वाङ्चौ, सन्चन र हङकङमा निकै ठूलो प्रभाव पा¥यो । कम्पनीले गतल हिसाबकिताब राखेको, सर्वसाधारणको सेयरलाई हिनामिना गरेको, उत्पादित सामग्रीको गुणस्तर नभएको आदि कुराहरू छनको रिपोर्टिङमा उल्लेख थिए । उक्त रिपोर्टिङले कम्पनीको रिपुटेसनमा व्यापक धक्का लाग्यो । शेयर कारोबार अकल्पनीय रूपमा गिर्न थाल्यो । कम्पनीले छनका विरुद्धहुनाने र क्वाङतोङप्रहरीमा उजुरी ग¥यो । हुनान र क्वाङतोङ प्रान्त छिमेकी हुन् । क्वाङचौ सहर क्वाङतोङ प्रान्तको सदरमुकाम हो । हुनान प्रान्तको छाङ्शामा मुख्यालय रहेको जुमलिएन कम्पनीले क्वाङचौमा कार्यालय भएको न्यु एक्सपे्रस पत्रिकामा कार्यरत छनका विरुद्ध प्रहरी लगायो ।
छाङ्शाबाट गएको प्रहरीले क्वाङचौबाट छनलाई पक्राउ ग¥यो । छन प्रक्राउ परेपछि न्यु एक्स्प्रेस पत्रिकाले पहिलो पृष्ठमा व्यानर समाचार बनाएर उनको रिहाइको माग गरेको थियो । पत्रिकाले समाचार सत्य भएको र त्यति लामो शृङ्खलामा समाचार छापिँदा कहिल्यै पनि कम्पनीले गुनासो नगरेको बताउँदै पत्रकार छनले व्यावसायिक मर्यादा कायम राखेको बताएको थियो । विभिन्न चिनियाँ सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि छनको पक्राउको विरोध गर्दै रिहाइको माग गरियो । चिनियाँ पत्रकार सङ्घले रिहाइको माग गर्दै वक्तव्य प्रकाशित गरेको थियो । यस्तो माग चिनियाँ सञ्चार माध्यममा मात्र सीमित रहेन । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो समाचार सम्प्रेषण गरे । फलतः हुनान प्रान्तीय प्रहरीमाथि ठूलो दबाब प¥यो ।
अन्ततः छनले चिनियाँ केन्द्रिय टेलिभिजन सीसीटीभीलाई अन्र्तवार्ता दिँदै गल्ती स्वीकार गरे । वास्तवमा उनलाई जुमलिएन कम्पनीको प्रतिस्पर्धी अर्को कम्पनीले उक्त प्रायोजित सामग्री उपलब्ध गराएको थियो । उनले आफ्नोे गल्ती स्वीकार गर्दै भनेका थिए ‘मैले रिपोर्टमा के लेखेको छ भनेर पढेको पनि थिइनँ । कसैले तयार बनाएर दिएका रिपोर्ट आफ्ना नाममा पत्रिकालाई दिएको मात्र हुँ ।’ छनले गल्ती स्वीकार गरेपछि न्यु एक्स्प्रेस पत्रिकाले प्रथम पृष्ठमै व्यानर हेडलाइनमा माफी माग्दै लेख्यो ‘यो घटनापछि हामिलाई ठूलो शिक्षा प्राप्त भएको छ । गैरव्यवसायिक कार्य र समाचारमा तथ्यगत जाँच नहुँदा सञ्चारमाध्यमकै विश्वसनीयतामाथि प्रश्नचिन्ह लागेको छ ।’ अदालतले छनलाई एक वर्ष १० महिना जेल सजायँ र २० हजार युआन जरिमाना गरेको छ । उनले ३० हजार चिनियाँ युआन घुस खाएर उक्त समाचार लेखेका थिए ।
chetnath@ymail.com
आचार्य चिनियाँ अन्तर्राट्रिय रेडियो सीआरआईमा विदेशी विशेषज्ञको रूपमा कार्यरत छन् ।
स्रोतः संहिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *