भर्खरै :

चिनियाँ सामानमा आइतबारदेखि नयाँ कर

वासिङ्टन, १५ भदौ (एएफपी) । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका बीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले संयुक्त राज्य अमेरिकाले आइतबारदेखि लागू हुने गरी चिनियाँ सामानको आयातमा नयाँ करहरू लागू भएको घोषणा गरेको छ ।
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार करीब ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा अतिरिक्त १५ प्रतिशत कर वृद्धि हुनेछ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार यसअघि गरिएको घोषणा नै कार्यान्वयनमा ल्याउने र त्यसलाई ढिलाइ गर्न नसकिने बताउनुभएको थियो । उहाँले संवाददातालाई भन्नुभएको थियो, “घोषित कर वृद्धि लागू हुन्छ, यो रोकिँदैन ।”
नयाँ करहरू खाद्य सामग्री, खेलकुदका सामान, सङ्गीत सामग्री र फर्निचरसमेतका दैनिक उपभोगका सामानमा कर वृद्धि गरिएको छ । वासिङ्टनस्थित पिटर्सन अन्तर्राष्ट्रिय आर्थिक इन्स्टिच्युटका अर्थशास्त्रीहरूले अमेरिकाको पछिल्लो कदमले करीब ११२ अर्ब अमेरिकी डलर बराबरका सामानमा असर पार्नेछ ।
चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा कर वृद्धि गर्ने घोषणा गर्नुभएको थियो । अमेरिकातर्फ निकासी हुने कुल ५४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा कर वृद्धि हुनेछ ।
ट्रम्पको घोषणापछि यसै महिनाको सुरुमा पेइचिङले पनि अमेरिकी सामानमा कर वृद्धि गरेको थियो । सेप्टेम्बर १ देखि लागू हुने गरी चीनले ७५ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो ।
सयौँ अमेरिकी कम्पनी र व्यावसायिक समूहहरूले नयाँ कर घोषणा नगर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए । उनीहरूको विचारमा कर वृद्धिले रोजगारी गुम्ने र उपभोक्ताले खरीद गर्ने सामान महँगो हुने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
तर, शुक्रबार राष्ट्रपति ट्रम्पले चुनावी प्रचारको क्रममा सामानको मूल्य बढ्छ भनेर चिन्ता गर्ने अमेरिकी कम्पनी र व्यवसायीमा दृष्टिदोष रहेको बताउनुभयो । “राम्रोसँग नचलेका र कमजोर कम्पनीले मात्र यस्ता कुरा गरिरहेका छन् । उनीहरूको व्यवस्थापन पनि कमजोर छ ।”
चिनियाँ सामानमा कर वृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले कर वृद्धिसँगै चीनसँग वार्ता पनि हुँदै जाने बताउनुभयो । “हामीले चीनसँग कुराकानी गरिरहेका छौँ । वार्ताका लागि मिति तोकिएको छ । एक अर्काबीच फोनमा संवाद भएका छन् । मेरो विचारमा सेप्टेम्बरमा वार्ता हुनेछ । वार्ताहरू रद्द भएका छैनन् । हेरौँ के हुन्छ ।”
राष्ट्रपतिले व्यापार युद्ध मार्च २०१८ मा आरम्भ गर्नुभएको थियो । उहाँले चीनमाथि अस्वस्थ व्यापार रोक्न, अमेरिकी कम्पनीबाट जबरजस्ती प्रविधि हस्तान्तरण गर्ने प्रावधान हटाउन तथा चिनियाँ कम्पनीलाई सरकारले दिने सरकारी अनुदान रोक्न दबाब दिइरहनुभएको छ ।
चिनियाँ पक्षले व्यापार वार्ता सकारात्मकरूपमा अघि बढेको भने पनि कुनै सम्झौता भएको छैन । अमेरिकी कुल गार्हस्थ्य उत्पादनमा उपभोग्य वस्तुले ७५ प्रतिशत हिस्सा ओगट्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *