भर्खरै :

जेएनयूले थापरको सीभी माग्यो

नयाँ दिल्ली, १ सेप्टेम्बर । भारतको जवाहरलाल नेहरूले विख्यात इतिहासकार तथा विश्वविद्यालयका वरिष्ठ प्राध्यापक रोमिला थापरसँग व्यक्तिगत विवरण (सीभी) मागेको छ । विश्वविद्यालयले थापरको वरिष्ठ प्राध्यापकको पदलाई निरन्तरता दिने वा नदिने निर्णय गर्न व्यक्तिगत विवरण मागेको बताइएको छ ।
विश्वविद्यालयका वरिष्ठ प्राध्यापकसँग व्यक्तिगत विवरण मागिएको यो पहिलो घटना हो । थापरलाई पठाएको पत्रबाट विश्वविद्यालयका धेरै प्राध्यापक चकित परेका छन् । थापरको व्यक्तिगत विवरणको माग गर्नुलाई राजनीतिक मनसायले अभिप्रेरित कदमको रूपमा लिइएको छ । थापरले लामो समयदेखि शिक्षामा निजीकरण, विश्वविद्यालयको स्वायत्तता र फरक विचारमाथि दमन गर्ने प्रशासनको कदमको विरोध गर्दै आएकी छिन् ।
सेवा निवृत्त भएयता थापरलाई विश्वविद्यालयले कुनै आर्थिक सुविधा दिने गरेको छैन । तर, अध्ययन अनुसन्धानको लागि विश्वविद्यालयमा स्थान दिनुका साथै विश्वविद्यालयका स्रोतमा पहुँच दिने गरेको छ । थापरले सन् १९७० देखि १९९१ सम्म अध्यापन गरेकी थिइन् । उनी सन् १९९३ मा वरिष्ठ प्राध्यापक पदमा पदोन्नति भएकी थिइन् । थापरले विशेषतः भारतको इतिहासबारे विशेषज्ञता हासिल गरेकी छिन् । उनले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार जितेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *