भर्खरै :

भदौ ९ को भक्तपुर काण्डबारे थप खोजबिन आवश्यक

नारायणमान बिजुक्छेँ
विसं २०४५ साल ९ भदौको पञ्चायती सरकारको प्रतिगामी कदम र भक्तपुर काण्डबारे केही उत्तरित र केही उत्तर खोज्न आवश्यक प्रश्नहरू बाँकी छन् ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि साथीहरूले भूकम्प पीडितहरूको घर–घरमा गई सेवा गर्ने उद्देश्यले क्षति र पुनःनिर्माणका निम्ति आवश्यक इँटा, काठ र अन्य निर्माण सामग्रीहरूबारे आकलन गरेकोमा स्थानीय स्वार्थी, प्रतिगामी र दुष्टहरूले तत्कालीन मरिचमान सरकारसमक्ष गई नेमकिपाले पक्षपात गरी आफ्ना कार्यकर्ताहरूलाई लाखौँ–करोडौँको राहत र अन्य सहयोग दिने भयो भनी गुहार मागे ।
त्यसबेलाको मरिचमान सरकारले भक्तपुरका बाठा र नगरका दुष्टहरूको कटुञ्जेमा बसेको बैठकको षड्यन्त्रको आधारमा भदौ ९ को घटनालाई राजनैतिक रङ्ग दिएर इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने जनप्रतिनिधिहरूमाथि झूटा मुद्दा लगाउन पञ्चायती सरकारलाई बल पु¥यायो ।
त्यस घटनाको २–३ महिनापहिले नै नगरकोटमा भएको युवा मण्डलेहरूको बैठकले नेमकिपाको विरोधमा षड्यन्त्रको जाल बुन्ने निर्णय गरेको थियो । एक जानकारले भने, भूकम्प नभए पनि नेमकिपाको विरोधमा कुनै न कुनै षड्यन्त्र र हमला गर्ने योजना हुँदै थियो । भूकम्पमा राहत वितरण त त्यो षड्यन्त्रलाई अघि सार्ने पञ्चायती सरकारले पाएको अवसरमात्र हो ।
एक नसुल्झिएको प्रश्न थियो, प्रम मरिचमान र राष्ट्रिय पञ्चायत वा विधानपालिकाकै अध्यक्ष आफैँ सडकमा ओर्लेर ‘… फाँसी देऊ’ को माग गरेको जुलुसमा ‘प्रजातन्त्रवादी’ नेपाली काङ्गे्रस, ‘कम्युनिस्ट’ भनिने माले आजका एमाले, जनमोर्चा र चौथो महाअधिवेशन’ कार्यकर्ताहरूमात्र होइन केही केन्द्रीय सदस्यहरू नेमकिपाको विरोधमा पञ्चायतसँग किन संलग्न भए ? त्यो कुन संयुक्त मोर्चा थियो ?
सरजमिनको दिनमा समेत ती ‘प्रजातन्त्रवादी’ र ‘कम्युनिस्टहरू’ पञ्चायती व्यवस्था, षड्यन्त्र र प्रतिक्रियावादीहरूको सहयोगमै थिए । तर, प्रहरी हिरासतमा ने.वि.सं.का नरेन्द्र जोशी र बालकृष्ण खाणलाई हाम्रो स्थितिको स्पष्ट जानकारी दियौँ । सम्भवतः उहाँहरूमार्फत नेकाका कृष्णप्रसाद भट्टराई, गणेशमानजी र गिरिजाप्रसाद कोइरालाकहाँ पहिलो स्पष्ट जानकारी पुगेको थियो ।
तुल्सीलाल अमात्य, शम्भुराम श्रेष्ठ र अन्य वाम पार्टीका नेताहरूसम्म भक्तपुरे ‘पञ्चायती कम्युनिस्टहरू’ ले नेमकिपाको विरोधमा झूटा खबर पु¥याएका थिए । आज ती ‘पञ्च कम्युनिस्टहरू’ एमाले र एमाओवादीको टीको लगाएर नेकपाका ‘इमानदार’ नेता र कार्यकर्ता बनेका थिए ।
सम्भवतः भक्तपुरका प्रजातन्त्रवादी र ‘कम्युनिस्टहरू’ खालि निर्वाचनकै निम्ति र मजदुर–किसान जनताको एकताकै विरोधको कारण नेमकिपाको विरोधको प्रतिक्रियावादी षड्यन्त्रमा मण्डलेहरूसँग एक भएका छन् ।
भक्तपुरकै एक स्थानीय निर्वाचनको बेला प्रजातन्त्रविरोधी र सिद्धान्तहीन एकता गर्दै एक संयुक्त कार्यालय स्थापना गरी नेपाली काङ्ग्रेस, एमाले र राप्रपाले झन्डा सँगै फहराए, शान्तिपूर्ण निर्वाचनमा गोली चलाउन दिए र मतपत्रसमेत लुटेर निर्वाचनमा नेमकिपाको विरोधमा अनेक धाँधली र गुण्डागर्दी गरे ।
प्रश्न उठ्छ, शान्तिपूर्ण निर्वाचन बिथोलेर निर्वाचन भाँड्ने कार्यले के प्रजातान्त्रिक पद्धति बलियो हुने हो ? सत्य यही हो भने जनतन्त्र र गणतन्त्रको वर्तमान नकारात्मक परिस्थिति हामी सबैले भोग्दै छौँ । यस परिस्थितिको दोषी को ?
एउटा स्थानीय निकायमा भएका जीत र हारले देशको प्रजातन्त्र र भविष्य निर्धारित गर्दैन बरु वर्षौंँको प्रजातान्त्रिक सङ्घर्ष र राजनैतिक नैतिकताले प्रजातन्त्र बलियो हुन्छ र राजनैतिक व्यवस्थाले स्थायित्व प्राप्त गर्छ । यसमा आजको अस्थिरता, आर्थिक अराजकता र न्याय व्यवस्थामा देखिएको अस्वस्थता, राजनीतिक दलहरूकै अवसरवादिता, सिद्धान्तहीनता, निर्वाचन जित्नको लागि गरिने पैसाको चलखेल, देशी र विदेशीहरूसँगको चलखेल, भ्रष्टाचार र अनियमितता जिम्मेवार छन् ।
दोस्रो प्रश्न, मदनमणि दीक्षित, गोविन्द वियोगीजस्ता वरिष्ठ पत्रकार र अन्य कानुन व्यवसायीहरू तथा मानव अधिकारवादीहरू हाम्रो पक्षमा उभिँदा बहुदलीय प्रजातन्त्र पुनः स्थापनाको निम्ति संयुक्त आन्दोलन गर्ने वाम पार्टीहरू र अन्य प्रजातन्त्रवादीहरू किन मौन रहे ?
जिल्ला–जिल्लाका राजनैतिक र सैद्धान्तिकरूपले सङ्कीर्ण विचारका कार्यकर्ताहरूकै कारण अर्थात् नेमकिपाको नेतृत्व र सङ्गठन ध्वस्त भएमा त्यहाँका कार्यकर्ता आफ्नो पार्टीमा मिलाउने सानो स्वार्थ बोकेका र ठूला एवम् दीर्घकालीन हितलाई ध्यान नदिने कार्यकर्ताहरूको दबाबमा केन्द्रीय नेताहरू झुकेको अनुमान गरिनु स्वाभाविक हो ।
आजसम्म नेमकिपाले कुनै पनि वाम पार्टी र अन्य प्रजातान्त्रिक पार्टीहरूलाई सैद्धान्तिक र राजनैतिक आलोचना र खण्डनबाहेक व्यक्तिगत लान्छना र अरूको सङ्गठनलाई भड्काउने र कार्यकर्ता तान्ने काम गरेको छैन । तर, अन्य सबै वाम पार्टीहरूले नेमकिपाको विरोधमा त्यस्ता गतिविधि गरेर गुणको बदला वैगुणले तिरेका छन् ।
तेस्रो, हामीलाई ‘फाँसी दिनु’ पर्ने गरी देश र जनताको विरोधमा नेमकिपाले के के काम गरेको थियो ? सरकारको विरोध गर्नु र आफ्नो विश्वासको आदर्श समाज स्थापना गर्न सिद्धान्तको प्रचार गर्नु हरेक राजनैतिक पार्टीको नैसर्गिक अधिकार हो । यो प्रश्न मैले जेलबाट छुटिसकेपछि राजासँगको भेटमा गरेको थिएँ । त्यसको जवाफ आएन । साथै पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका कब्जा गरेको २२५ वर्ष भयो, के हामी अहिले पनि विदेशी नै हौँ ? हाम्रो पक्राउपछि हिरासतमा हामीलाई युद्धबन्दीलाई जस्तै अपमान गरियो । राज्यको विरोधमा फाँसी दिनुपर्ने गरी के अपराध ग¥यौँ ?
त्यतिमात्रै होइन, २०४५ भन्दा पहिले २०३६ मा प्रवासबाट फर्केपछि एकजना कूटनैतिक व्यक्तिसँग २–४ पटक भेट भयो । उहाँको जिकिर थियो, राजनैतिक नेताले अरू पक्ष र विरोधीसँग पनि वार्ता र छलफल गरी आफ्नो कुरा मनाउन सक्नुपर्छ र त्यो कलाको विकास गर्नैपर्छ । देश–विदेशका अनेक उदाहरण र छलफलपछि राजासँग भेट्ने स्थान र समय टुङ्गो लाग्यो ।
भेट्ने दिन बिहान १० बजे टुङ्गियो । त्यस दिन बिहान ९ बजे तिनी कूटनीतिक साथीको फोन आयो र भन्नुभयो, “१० बजेको कार्यक्रम नहुने भयो, म १० बजे तपाईँको आएर सबै कुरा बताउँला ।”
उहाँले भन्नुभयो, “दरबारको भेटघाटको कार्यक्रम स्थगित भएको यो पहिलो पटक हो । सेना, प्रहरी, गुप्तचर विभाग र प्रशासन सबै बाधक भए, ‘रोहित बम बनाउने, पेस्तोल लिएर हिँड्ने एक आतङ्कवादी हो….’ आदि कुरा लगाए ।”
तर, मलाई के थाहा थियो भने, भक्तपुरकै आज नेकपाका नेता, हिजोका पञ्च हरेक बिहान सेनाको कमान्डर इनचिफ, प्रहरी र गुप्तचर विभागका आईजीहरूकहाँ पुगेर हाम्रो विरोधमा चुगुक्ली लगाउँथे । आज पनि नेकपाकै केन्द्रीय स्तरका व्यक्तिले यही काम गर्दैछन् । यसमा जातजाति, भाषा र सांस्कृतिक भेदको चर्को गन्ध छ । पदमा बस्ने व्यक्तिहरू सामुदायिक भावनाबाट मुक्त हुन नसके गलत तत्वले फाइदा उठाउँदै आएको हरेक भुक्तभोगीलाई थाहा छ । ओलीको घर बालकोटमा हुनु पनि यस्तै तत्वको हात रहेको हो ।
चौथो, कारागारमा सायद महारानीको जन्म दिवसमा मलाई तस्वीरमा माल्यार्पण गर्न चौकीका भाइनाइकेहरूले बोलाए । मैले भनेँ, “हामी ‘ज्यानमारा’ अभियोगका हौँ, हामी ‘अशुद्ध’ छौँ, यसकारण तस्वीरमा माला लगाउनुहुन्न ।” पछि फेरि आएर बोलाउन आए, जे भए पनि दुई शब्द बोल्न भने । मैले भनेँ, “जहिलेसम्म दरबार र जनताको बीचमा जेलको जस्तो अग्लो पर्खाल रहन्छ, त्यसबेलासम्म देश र जनताको विकास हुन्न । यसकारण त्यो पर्खाल भत्काउनुपर्छ ।”
भोलिपल्ट खबर सुनाइयो, “दाइले जेलको पर्खाल भत्काउने र कैदीलाई भाँड्ने भाषण दिएको हुँदा गोलघरमा राखिनुपर्छ भन्नेबारे गाइँगुइँ चल्दै छ ।”
केन्द्रीय कारागारमा राजाका बमकाण्डका साथीहरू पनि राजबन्दी भएको हुनाले तिनीहरूसँग कसैले बोल्नुहुन्न भनी निगरानी गरिएको थियो । तिनीहरूसँग आशाकाजी बासुकला आतड्ढवाद र क्रान्तिको भिन्नताबारे कुराकानी गर्न जान्थे । ‘राजनीतिक कार्यकर्ता बन्ने भाइ–बहिनीलाई चिठी’ ‘साइन्स र डाक्टर पढ्ने भाइबहिनीलाई चिठी’ जस्ता सरल साहित्य लिएर उनी पुग्थे ।

कारागारमा सायद महारानीको जन्म दिवसमा मलाई तस्वीरमा माल्यार्पण गर्न चौकीका भाइनाइकेहरूले बोलाए । मैले भनेँ, “हामी ‘ज्यानमारा’ अभियोगका हौँ, हामी ‘अशुद्ध’ छौँ, यसकारण तस्वीरमा माला लगाउनुहुन्न ।” पछि फेरि आएर बोलाउन आए, जे भए पनि दुई शब्द बोल्न भने । मैले भनेँ, “जहिलेसम्म दरबार र जनताको बीचमा जेलको जस्तो अग्लो पर्खाल रहन्छ, त्यसबेलासम्म देश र जनताको विकास हुन्न । यसकारण त्यो पर्खाल भत्काउनुपर्छ ।”भोलिपल्ट खबर सुनाइयो, “दाइले जेलको पर्खाल भत्काउने र कैदीलाई भाँड्ने भाषण दिएको हुँदा गोलघरमा राखिनुपर्छ भन्नेबारे गाइँगुइँ चल्दै छ ।”

दशैँ र अन्य उत्सवमा बाहिरबाट राजनैतिक बन्दीहरूलाई मासु र केही खानेकुरा पठाउने चलन थियो । एमाले, नेका र जनमोर्चा (चौथो महाअधिवेशन) का साथीहरूसमेत बमकाण्डका साथीहरूलाई पनि भाग दिनुपर्नेमा कुरा उठायौँ । अरु नमानेपछि साथीहरूले हाम्रै भागबाट ती साथीहरूलाई भाग पु¥याए । साथीहरूको तर्क थियो, “बमकाण्डका साथीहरूले पनि आफ्नो घरको निम्ति, नाफाको निम्ति, आफ्नो ज्यान हत्केलामा राखेर गतिविधि गरेका होइनन् बरु राजनैतिक परिवर्तनको निम्ति काम गरेका हुन् । त्यसो त यहाँ कुनै पनि राजनैतिक दलको कुनैसँग पनि सबै कुरा मिल्दैन ।”
यस्तै कुरामा कारागारमा हाकिमले कार्यालयमा बोलाएर बमकाण्डका बन्दीहरूसँग हेमखेम गर्न नहुने बताए । हामीले असहमति जनायौँ, “तिनीहरू पनि राजनैतिक बन्दी हुन् । भेदभाव गर्नु गलत हो, सरकार वा गृहमन्त्रालयमा भन्नुहोला –यस्तो भेदभावले देश टुक्रिने सम्भावना हुन्छ । गोलघरमा राख्ने धम्की दिनु अर्को आतड्ढ हो ।”
पछि हामी जेलबाट छुटिसकेपछि कृष्णप्रसाद भट्टराईको सरकार बन्यो, बमकाण्डका साथीहरूलाई छुटाउन राजा, प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि कुरा चलायौँ र पटनामा गएर रामराजा सिंहलाई पनि देशमा फर्कनेबारे कुराकानी चलायौँ ।
तर, राजनैतिक बन्दीहरूलाई भेदभाव गर्ने मित्रहरू आज माथिल्ला पदमा पुगेका छन् । नेमकिपा प्रतिपक्षमा छ । हामी बहुदलीय प्रजातन्त्रको प्रयोग गर्दै छौँ, प्रमुख प्रतिपक्ष दल खालि भागबन्डामा रमाइरहेको छ, प्रजातन्त्रको कुनै अर्थ छैन ।
नेपालभाषामा एउटा उखान छ– ‘एक धार्नी चाकु खाएर पनि चाकुको स्वाद थाहा नपाउनेहरू ।’ यो उखान आजको सरकारको नेतृत्वलाई चरितार्थ भइरहेको छ । आजको रोग हो भ्रष्टाचार, अनियमितता, व्यक्तिगत स्वार्थ, विकासमा ढिलासुस्ती गर्ने ठेकेदार, कालाबजारी, वन तस्कर, विदेशी पुँजीका एजेन्ट । तर, सरकारको नेतृत्व शत्रुलाई मित्र र मित्रलाई शत्रु सम्झने रोगबाट पीडित छ । भदौ ९ गतेको काण्डमा पनि यस्तै स्थिति दलहरूको थियो ¤ किन ?
पाँचौँ कुरा, मरिचमान प्रधानमन्त्री पदबाट हटेपछि भक्तपुर आए, आफ्नो अनुभव बताए र ९ भदौको काण्डबारे सफाइ दिए । राजाले आफ्ना मानिसहरूमात्रै माथिल्ला पदमा सिफारिस गरेकोबारे बैठकमा बताउँदा उनी अलमलमा परे । राजासँग एक्लै बताउँदा “कस्तो कुरा नबुझेका सबै दरबारिया र सचिवहरूले आफन्त तानेको” राजाले बताए ।
उनको मन्त्रिमण्डलमा अति राजावादी, राष्ट्रवादी र पञ्चायतवादीले नै आखिर हरेक बैठकको निर्णय दूतावासमा पठाउने थाहा पाए । यसकारण भारतीय राजदरबारमा पनि भाँती भाँती मानिस भएको उनले बताए ।
उनको सफाइले दरबारमा पनि भारतको वा अमेरिकाको पत्र लिने र कुटील चाल खेल्नेहरू छन् भन्ने प्रश्न उठ्छ । के हामीलाई ‘फाँसी दिने’ नारा पनि त्यही षड्यन्त्रको एउटा कारण हो ?
सत्य के हो भने, सामन्त र अर्ध सामन्तवादको स्थितिमा वा उपनिवेश र अर्ध– उपनिवेशको स्थितिमा सबभन्दा कमजोर पक्ष भनेको राजा र राजतन्त्र नै हुनेरहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *