भर्खरै :

भक्तपुर क्यान्सर अस्पतालमा दलीय भागबन्डा अन्त्य हुँदाको कोकोहोलो

भक्तपुर, २० भदौ । भक्तपुर क्यान्सर अस्पताललाई सुचारूरूपमा सञ्चालन गर्न भक्तपुर नगरपालिकाले चालेको अत्यावश्यक कदमलाई ‘नेमकिपाले अस्पताल कब्जा ग¥यो’ भनी होहल्ला मच्चाउनेहरूले नै विगत एक दसकभन्दा अगाडिदेखि अस्पताललाई कब्जासरह गरी मनपरी गरिराखेको तथ्य खुल्दै गएको छ ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू नेमकिपाका उम्मेदवारका रूपमा निर्वाचित भए पनि उहाँहरू नेमकिपाका मात्र जनप्रतिनिधि होइनन् । भनपाले भक्तपुर नगरका सबै न्यायप्रेमी जनताको प्रतिनिधित्व गर्छ । भनपामा कुनै पार्टी विशेषको कुनै मनपरी चल्दैन, चलेको छैन । त्यसैले भनपाले अस्पताल व्यवस्थापन समिति गठन गरेर अस्पताल सञ्चालनमा सहजता प्रदान गर्नुलाई अस्पताल कब्जा ग¥यो भनी दोषारोपण गर्नु ‘कागले कान लग्यो भन्नासाथ कागको पछि दौड्ने’ उखानको चरितार्थमात्र हो ।
अस्पताल व्यवस्थापन समिति परिवर्तनपछिको अवस्था बुझ्न अस्पताल पुग्दा विगतमा भन्दा सहज र सुचारूढङ्गले सेवा सुविधा प्रदान भइरहेको देखियो । अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरूसित अस्पतालमा भक्तपुर नगरपालिका वा नेमकिपाको हस्तक्षेपबारे जिज्ञासा राख्दा उहाँहरूले आश्चर्य व्यक्त गर्नुभयो र भनपा वा नेमकिपा कतैबाट कुनैखाले हस्तक्षेप पहिले पनि नभएको र आज पनि नभएको जवाफ दिनुभयो ।
जिल्लामा भएका नेपाली काङ्ग्रेस, नेकपा (पूर्व एमाले र माओवादी केन्द्र) र राप्रपाजस्ता पार्टीले पहिले पहिले अस्पतालबाट चन्दा उठाउनेदेखि बिरामीको उपचारमा समेत हस्तक्षेप गर्ने गरेको, नियमपूर्वक लाग्ने खर्च पनि लिन नदिने गरेको अस्पतालमा धेरै वर्षदेखि कार्यरत एक चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका एक पूर्वसदस्यले व्यवस्थापन समितिका पूर्वपदाधिकारीहरूले आ–आफ्नो राजनीतिक आस्था र स्वार्थको पक्षमा तानातान गर्ने गरेको बताउनुभयो । अस्पतालबाट स्वार्थ पूरा गर्ने मामलामा एक भए पनि तिनीहरूले आ–आफ्नो राजनीतिक दलको स्वार्थअनुकूल निर्णय गर्ने गरेको उहाँले खुलासा गर्नुभयो ।
अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष लोकेन्द्र श्रेष्ठ पहिले राप्रपाका नेता सूर्यबहादुर थापा र अहिले सुनिल थापासित निकट छन् । श्रेष्ठले भन्नलाई नेकां नजिक भने तापनि अस्पतालको आयोजना र सहयोगमा चल्ने स्वास्थ्य शिविरलगायत विभिन्न परियोजना आफ्नो गृहजिल्ला धनकुटा र राप्रपाको आधार क्षेत्रमा पार्न जोड दिन्थे । श्रेष्ठले आफ्ना नातेदार र निकटहरूको स्वास्थ्योपचार अस्पतालको टिकट नै नबनाई सीधै व्यवस्थापन समितिको वा अन्य प्रशासनिक कोठामा मेडिकल डाक्टरहरूलाई बोलाएर गर्ने गराउँथे । डाक्टरले टिकट खोजेमा अस्पतालकै लेटर प्याड अगाडि राखिदिने गर्दथे ।
नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव एवम् अस्पताल व्यवस्थापन समितिका पूर्वसदस्य विमल होडा नेपाली काङ्ग्रेसको नाम भजाएर फाइदा लिइबसेका मानिस भएको बताइएको छ । उनले पनि संस्थाका केही परियोजना र अस्पतालका स्वास्थ्य शिविर आफ्नो गृह निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं. ४ मा बढी केन्द्रित गर्ने गरेका थिए । भक्तपुर काङ्ग्रेसका केही नेताहरूलाई ठीक–ठीक पारेर उनले संस्था र अस्पतालबाट हुनसक्ने जति आर्थिक फाइदा लिँदै आएका थिए ।
अस्पताल व्यवस्थापन समितिमा लामो समयदेखि कोषाध्यक्ष रहेका कृष्णप्रसाद ताम्राकार एक सम्पन्न उद्योगीको परिचय बनाएका व्यक्ति भए पनि व्यक्तिगत फाइदामा नै केन्द्रित हुने गरेको उनी निकट व्यक्तिहरू बताउँछन् । उनको कुरा पत्याएर उनीसँगै लगानी गरेका कयौँ लगानीकर्ता वा व्यवसायीहरू पछुताउने गरेको र गाली गर्ने गरेको भुक्तभोगीहरू बताउँछन् । व्यक्तिगत फाइदाका क्रियाकलापका कारण उत्पन्न असुरक्षित स्थितिमा प्रशासनिक र कानुनी कारबाहीबाट बच्न सत्तारूढ नेकपाका एक सांसदको शरणमा बसिरहेको उनकै नजिक रहेर काम गरेका मानिसहरूले खुलाएका छन् ।
अस्पताल व्यवस्थापन समितिका पूर्वपदाधिकारीहरूको राजनीतिक स्वार्थ र अनुचित हस्तक्षेपले अस्पताल प्रशासन, मेडिकल डाक्टर र नर्सहरू तथा तल्लो तहका कर्मचारी र कामदारहरू आजित भइसकेका र त्यसैकारण सबै मिलेर विद्रोह गरेको अस्पतालका कर्मचारीहरूले बताए ।
पूर्वपदाधिकारीहरूले पैसा लिएर आफू निकटका योग्यता नपुगेका डाक्टर र नर्स भर्ना गर्न खोजेको र अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ सहमत नभएपछि सम्भव नभएको तथा प्रा.डा. श्रेष्ठ विदेश भ्रमणको बिदामा रहेको मौका पारी नेकां, नेकपा र राप्रपाको दलीय भागबन्डा मिल्ने गरी ६ जना नर्स भर्ना गरेको एक चिकित्सकले जानकारी दिनुभयो ।
भनपाले अस्पताल कब्जा गरेको होइन बरू वर्षौँदेखि स्वार्थीहरूको कब्जामा रहेको अस्पताललाई मुक्त गरेर जनताको सामुदायिक अस्पताल समुदायकै स्वामित्वमा ल्याएको अस्पतालमा कार्यरत अधिकांश चिकित्सक, नर्स र कर्मचारीहरूको कथनको सार रहेको छ ।
अस्पताल व्यवस्थापन समितिका पूर्वपदाधिकारीहरू आफूले कब्जा गरेर करोडौँ रकम लुट्दै आएकोमा अब उप्रान्त लुट्न नपाइने भएपछि रिसाएको र विभिन्न ठूला दलका नेताहरूको दैलो दैलो चहारेर झूट प्रचार गरिरहेको अस्पताल व्यवस्थापन समितिका एक पूर्वसदस्यले बताउनुभयो ।
‘नभए एउटा सामुदायिक संस्था र अस्पतालमा उनै व्यक्तिहरू कैयौं कार्यकाल र दसकौँसम्म पदमा रहिरहने नियम र प्रचलन कहाँ र कुन संस्थामा छ ?’ उहाँले प्रतिप्रश्न गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *