भर्खरै :

प्रदेशस्तरीय सहकारी ऐन तथा नियमावलीबारे अन्तरक्रिया

भक्तपुर, २० भदौ । सहकारी अध्ययन समाज, नेपालको आयोजनामा ‘प्रदेश नं. ३ सहकारी ऐन, २०७५ र सहकारी नियमावली २०७५’ तथा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले सहकारीले कामदार जनताको पक्षमा काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै सहकारी बैङ्कजस्तो हुन नहुने बताउनुभयो ।
सहकारीले माक्र्सवादी सिद्धान्तअनुसार काम गर्नुपर्नेमा जोड दिँदै उहाँले सहकारीले ठगीविरूद्ध आवाज उठाउनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “भारतले जम्मु–काश्मीरमाथि अप्रजातान्त्रिक कदम चालेको छ । यसले युद्ध हुने खतरा निम्त्याउनेछ ।”
नेमकिपाले मोहियानी हकको लागि सङ्घर्ष गरेका जानकारी गराउँदै सचिव सुवालले कामदार जनताको सहयोगले नेमकिपा अगाडि बढेको बताउनुभयो ।
भारतको संसदमा् ६० प्रतिशत सांसदहरू भ्रष्टाचारी रहेको उल्लेख गर्दै सांसद सुवालले यो रोग नेपालमा सर्दै आएको हुँदा जनता सचेत हुनुपर्छ भन्नुभयो ।
निजामती ऐनमा श्रेणीविहीन कर्मचारीलाई करार सेवामा मात्र लिन पाउने प्रावधानविरूद्ध नेमकिपाले संसदमा आवाज उठाएको उहाँले बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सृजना सैंजूले जनताको सांस्कृतिकस्तर उठाउन सहकारीले काम गर्नुपर्छ भन्नुभयो ।
क्यान्सर अस्पतालमा भ्रष्टाचार भएको र बिरामीहरूलाई उचित उपचार नगरेकोले उक्त अस्पतालाई व्यवस्थित गर्न भक्तपुर नगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएको न्यायोचित छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “महाधिवेशनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र बहस हुने छ । नेमकिपाको लक्ष्य जनताको प्रजातन्त्र हुँदै समाजवाद र वैज्ञानिक साम्यवाद स्थापना गर्नु हो ।”
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले ‘जम्मु–काश्मीर’बारे प्रस्तुति गर्नुभएको कार्यक्रममा आयोजक समाजका उपाध्यक्ष कृष्णगोविन्द लाखाजू, केदार खड्का, महेन्द्र बखुन्छे र काजीबहादुर पञ्चले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *