भर्खरै :

गौरी लङ्केश– हिन्दू अतिवादविरोधी अभियन्ताका अभिभावक

जिग्नेश मेभानी
भारतका पत्रकार गौरी लङ्केशको हत्या भएको दुई वर्ष भयो । दुई वर्षअघि केही अज्ञात हतियारधारीले उनको हत्या गरेका थिए । उनीहरूले गौरीमाथि चार वटा गोली हानी मारेका थिए । हत्याराहरूको राजनीतिप्रति असहमत भएका कारण गौरीको हत्या गरियो । गौरीको हत्या हुनुअघि कन्नड भाषामा लेख्ने तीनजना अरू लेखक र चिन्तकहरूको हत्या भइसकेको थियो । नरेन्द्र डबोल्कर, एमएम कुलबुर्जी र गोविन्द पानसारेपछि गौरीको पनि दिनदहाडै हत्या भएको थियो । गौरीको हत्याको अझै अनुसन्धान भइरहेको छ । तर, उनीभन्दा अघि मारिनेहरूको हत्या कसले ग¥यो, अझै कुनै टुङ्गो छैन ।
आफ्नो विचार र राजनीतिमा असहमत भएकै कारण कसैको सजिलै हत्या गर्ने घृणाको वातावरण फैलाउने भीड जति बढ्दै जान्छ, त्यत्ति हत्याराको पहिचान गर्न गा¥हो बन्दै जान्छ । जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी नेता उमार खालिदको हत्या प्रयासमा पनि यस्तै भएको थियो ।
सन् २०१६ मा पहिलोपटक मैले गौरीलाई भेटेको थिएँ । हिजैजस्तो लाग्छ । गुजरातको ‘चलो उना’ आन्दोलनको सफलतापछि उनीसँग भेटेको थिएँ । गुजरातमा गाई मारेको गलत आरोपमा दलितहरूमाथि भएको अत्याचारको विरोधमा ‘चलो उना’ आन्दोलन भएको थियो । ठूलो सङ्ख्यामा मानिसलाई सङ्गठित बनाएको त्यो मेरो पहिलो अनुभव थियो । दलित दाजुभाइ दिदीबहिनीको लागि त्यो जुलुस आत्मस्वाभिमानको जुलुस थियो । हामीले सरकारसँग जमिन मागेका थियौँ । ताकि हामीले आत्मनिर्भर जीवन बाँच्न सकौँ, स्वाभिमानी जीवन बाँच्न सकौँ । त्यत्तिबेला कर्णाटकमा पनि जमिन र आवासको माग गरी उस्तै सङ्घर्ष उठिरहेको थियो । कर्णाटकका अरु कामरेडहरूसँग मिलेर गौरीले दलित र मुसलमानहरूमाथि भइरहेको अत्याचारको विरोधमा कर्णाटकको उडुपीमा पनि विरोध प्रदर्शन तयारी गरिरहेकी थिइन् । ‘चलो उडुपी’ को सफलतापछि दलित र अल्पसङ्ख्यकमाथिको निर्ममताको विरोधमा चरणबद्ध विरोध जुलुस भएका थिए । गौरीको ऐक्यबद्धतामा नै ती प्रदर्शन सम्भव बनेको थियो ।
प्रतिरोध र आन्दोलनको समयमा मानिसबीच सबभन्दा राम्रो सम्बन्ध विकास हुने कुरामा म विश्वास गर्छु । सन् २०१६ को अगस्टभन्दा अघि मैले गौरी लङ्केशलाई चिनेको पनि थिइनँ । तर, एक वर्षको अन्तरालमा उनी कमरेड बनिन् । मेरा साथी र अभिभावक बनिन् । गौरी ती सबै थिइन् र त्योभन्दा पनि बढी थिइन् । उनी लडाकू थिइन् । उत्पीडित जनताको पक्षमा, महिलाको पक्षमा उनी लडिन् । धेरै वर्षसम्मसम्म कर्णाकटमा दलितको पक्षमा उनी लडिन् । साम्प्रदायिक शक्तिको विरोधमा लडिन् । ती सबै लडाइँले उनलाई धेरै अतिवादी शक्तिको वैरी बनायो । गौरी निर्भिक थिइन् । उनी मनमा लागेको कुरा खुलेर बोल्थिन् । आफूमाथिको कडा आलोचना र छेदखानीप्रति उनी सदैव हार्दिक हुने गर्थिन् र संवादको लागि तयार हुन्थिन् । उनी युवाहरूको शक्तिमा विश्वास गर्थिन् । सबै विरोधका आवाजको मुख थुनिँदा युवाहरूलाई उनी समयको सबभन्दा भरपर्दो आशाको रूपमा लिन्थिन् । आजका युवाहरूमा ‘इन्टरनेट केन्द्रित’, ‘अनुत्पे्ररक’ वा ‘अल्छी’, ‘मेचमा बसी अभियान चलाउनेहरू’ जस्ता लाञ्छना लागिरहेको समयमा गौरी युवा पुस्तामाथि भर गर्थिन् । आन्दोलनमा उनीहरूले ताजा अवधारणा र विचार ल्याउनेमा विश्वास गर्थिन् ।
गौरी लङ्केश पत्रकार थिइन् । उनी अभियन्ता थिइन् । उनी मजस्ता धेरै–धेरै अभियन्ताहरूका अभिभावक थिइन् । उनले हामीजस्ता धेरै युवा विद्रोहीहरूलाई आफ्नो सन्तानको रुपमा ग्रहण गरेकी थिइन् । गौरी लङ्केशको आत्मीय व्यक्ति हुन पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु । मैले उनीसँग भेट्नुअघि नै उनले धेरै मजस्ता युवालाई आफ्नो सन्तान मानेकी थिइन् । उनी मेरा भाषण अरुलाई सुनाउँदै भन्थिन्, “सुन ! मेरो छोरोको भाषण ।” उनी मेरी कन्नाडी आमा थिइन् । मध्यरातमा पनि विमानस्थलमा मलाई लिन आइपुग्थिन् । कार्यक्रमका आयोजकहरूलाई मलाई बस्न उनको घरमा बन्दोबस्त गरेको जानकारी गराउँथिन् । गौरीकै कारण कर्णाटक मेरो दोस्रो घर बनेको थियो ।
कर्णाटकका जनताले मलाई अपार माया र समर्थन गरेका छन् । गुजरातमा चुनावताका कर्णाटकका धेरै प्रगतिशील समूह र समर्थकहरू मेरो चुनाव प्रचार अभियानमा सामेल भएका थिए । इमानदारीका साथ भन्छु, एकजना सामाजिक अभियन्ताबाट एक जना सांसदसम्मको मेरो यात्रा ती जनताको समर्थनबिना सम्भव हुने थिएन । त्यो मोर्चाको निर्माता वास्तवमा गौरी थिइन् । उनलाई राम्ररी थाहा थियो–जातिवाद, वर्ग र साम्प्रदायिकताविरुद्ध लड्न हामीले सबै समान विचार राख्ने मानिसलाई एकै दबुमा बोलाउनुपर्छ । कर्णाटकमा उनी यो काम पूरा गर्न लागिपरेकी थिइन् । त्यसकारण पनि उनी धेरैको निशाना बनिन् ।
गौरी कन्नाड भाषामा पाक्षिकरूपमा प्रकाशित हुने ‘गौरी लङ्केश पत्रिका’का सम्पादक थिइन् । झूटा समाचार र किनिएका सञ्चारमाध्यमको आजको समयमा गौरीले निकै कष्टप्रदरूपमा स्थानीय भाषामा पत्रिका चलाएकी थिइन् । उनको पत्रिकामा कुनै विज्ञापन हुन्थेन । सहरिया सम्भ्रान्त वर्ग अङ्ग्रेजी भाषामा मात्र गफगाफ गर्ने समयमा गौरी स्थानीय भाषामार्फत दक्षिणपन्थी हिन्दुत्वको राजनीतिविरुद्ध उभिएकी थिइन् । त्यसकारण उनको भाषण वास्तवमै एक जना माक्र्सवादीको जस्तो, एक जना अम्बेडकरवादीको जस्तो, एकजना जनताको गहिराइ बुझेको मान्छेको जस्तो हुन्थ्यो । मिडियामा प्रजातन्त्रलाई स्थान साँघुरो बन्दै गएको अवस्थामा उनले आफ्नो पत्रिकामा प्रगतिशील आवाजलाई स्थान दिएकी थिइन् ।
बितेका केही वर्षमा मेरोमात्र होइन, भारतका सबै सर्वसाधारण जनताको जीवनमा परिवर्तन आएको छ । ‘खाना हाम्रो चिन्ता हो, भूमि हाम्रो हक हो’ जस्ता नाराबाट आन्दोलनहरू अघि बढिरहेका छन् । अरू कुनै पनि समत्न्दा आज त्यो नारा चर्को स्वरमा उठेको छ र राज्य पनि त्यही गतिमा दमनमा उत्रेको छ । आज हामी भारतमा होइन, मोदीकृत भारतमा बाँचिरहेका छौँ । मोदीकृत भारतमा विरोध गर्न निषेध गरिएको छ । आज हामी यस्तो विषाक्त समयमा बाँचिरहेका छौँ, कुनै बेला हाम्रो मन चिसो बनाउने हिंसा आज स्वाभाविक बनिसकेको छ । कलबुर्जीपछि गौरीको हत्या भयो । गौरीपछि शुजातको हत्या भयो । शुजातपछि अब कसको पालो आउने हो कुनै टुङ्गो छैन ।
हामी आज यस्तो अवस्थामा छौँ, जहाँ भीडतन्त्र स्वाभाविक बनिसकेको छ । मुसलमानहरूको हत्याका श्रव्यदृश्य बनेका छन् । जस्तैः अफ्रजलको हत्याको श्रव्यदृश्य । तर, समाजमा त्यसले कुनै संवेदना जगाएको छैन । भीडले मान्छे मार्ने अवस्थाको विपक्षमा सर्वोच्च अदालतले गरेको पैmसलाको कुनै पर्वाह गरिएको छैन । पछिल्ला केही वर्षयता भारतमा अघोषित सङ्कटकाल लागू भएको छ । फासीवादी शक्तिहरू आज हामीलाई झूटा उपख्यानविरुद्ध लडाएर व्यस्त राख्न खोजिरहेका छन् । कहिले गाईको मासु, कहिले ‘लभ जाहेद’ र कहिले ‘राष्ट्रघाती’ त कहिले ‘सहरी नक्सलवादी’ को नाममा हामीलाई झुलाउने गर्छ ।
आज यो लेख लेख्दै गर्दा मानव अधिकारवादी अधिवक्ता र अभियन्ताहरूका घरमा छापा मारिँंदै छ । गौरीका कमरेडहरूलाई गिरफ्तार गरिएको छ । ‘भीमा–कोरेगाउँ हिंसा’ माथिको अनुसन्धानको नाममा विभिन्न अस्पष्ट अभियोग लगाएर गौरीका कमरेडहरूलाई दुःख दिने काम भइरहेको छ । ती मानिसहरूलाई मिडियाहरूलाई सीधै ‘सहरी नक्सलवादी’ को नाममा टेलिभिजनको इजलासमा फैसला सुनिएको अवस्था छ । आदिवासीहरूको पक्षमा लडिरहेका वकिलहरूलाई सरकारले निशाना बनाएको छ । बहुराष्ट्रिय कम्पनीहरूले भूमिमाथि गरेको अधिग्रहणको विरोधमा लडेका अभियन्तालाई सरकारले प्रहार गरिरहेको छ । भीम कोरेगाउँ घटनाबारे अतिरञ्जनापूर्ण भाषण गर्ने मानिसलाई भने सरकारले जोगाइरहेको छ ।
गौरीको हत्या भएको दुई वर्ष भयो । मानिसहरूले भनिरहेका छन्–अब कसको पालो ? उनीहरूले हरेक वर्ष मुसलमानहरूलाई आतङ्कवादी भएको भन्दै मुसलमानहरूको हत्या गरिरहेका छन् । आज सबै मुसलमानहरूमाथि गाईको मासु खाएको आशङ्का गरिँदै छ । उनीहरूले बलात्कारका दोषीको बचाउ गरिरहेका छन् । अनि पीडितलाई दुःख दिन खोजिरहेका छन् । उनीहरू सामाजिक सञ्जालमा हुने कुराकानीप्रति आपत्ति जनाउँछन्, तर मूलधारका मिडियामा हुने प्रचारबाजीबारे मौन बस्छन् ।
हामी सधैँ यस्तो भयमा बाँच्न सक्दैनौँ । हामी एक्लै बाँच्न सक्दैनौँ । न्यायका लागि लडिरहेका हामी जनताको पक्षमा लडिरहेका छौँ । जनता हाम्रो पक्षमा छन् । उनीहरूले हामीलाई मार्नसक्छन् तर हाम्रो विचार मार्न कदापि सक्दैनन् । गौरी हामी सबैको बीचमा बाँचेकी छिन् । हामी सबै गौरी हौँ ।
स्रोतः वायर
नेपाली अनुवादः सजिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *